कारावास

सङ्गीत आयाम
चितवन, भरतपुर
sangeetaayam@ntc.net.np


म एक्लै एक्लै
हावाको झोंकाजस्तै छु
कतै बहकिएर
कहीँ सलबलाएको हुनसक्छु
कतै मदहोस हुँदै
कहीँ बर्बराएको पनि हुनसक्छु
अँ म एक्लै एक्लै
हावाको झोंकाजस्तै छु ।

चराहरु निर्बाध उडेको
दुर्लभ सपना बेचेर
स्वतन्त्रताभरि छरिन्छु
घुरमैलो साँझलाई धुँदै
कच्पल्टिएको बिहानभरि
गाढा रङ्ग भर्दछु
कठिन यात्राको चुनौती छ
एकान्तलाई सुसेल्दै यात्रारत छु
कहिलेकाहीँ सपनामा
हार्दिकतापूर्वक मर्दछु
अँ म एक्लै एक्लै
हावाको झोंकाजस्तै छु ।

चाहे जीवन
मौनता झैं बगोस् परसम्म
नागबेली नदी हुँदै
चाहे जीवन
बगर झैं बढोस् लक्ष्यतिर
मरुभूमिको तिर्खासँगै
म मेरै परिधिमा
पराधीन हुँदै
विजयोत्सव मनाउँछु
म मेरै भग्नावशेषबाट
मुक्तिकामी गीत बोकेर
अभिनन्दित छु
अँ म एक्लै एक्लै
हावाको झोंकाजस्तै छु ।