लघु कथा:
कालो विरालो
सुषमा मानन्धर
ललितपुर
mdhsusma@yahoo.com
एकै वेतमा जन्मेका ती विरालाका बच्चाहरु फरक फरक रंगका थिए । त्यसमध्ये एउटा सेतो,
एउटा छिर्बिरे अनि अर्को चैं पूरै कालो थियो । माउको दुध खाउन्जेल त तिनीहरुलाई खासै
कुनै समस्या परेन । माउले छाडेपछि भने तिनीहरुको विचल्ली भयो । सेतो विरालोलाई सवैले
लच्छिनको मान्थे । पूण्य कमाउन दुधभात खान दिन्थे । भोकाएकोले आफू पनि दुधभात खान
त्यो संगसंगै त्यसैको पछि लागी दौडने कालो विरालोलाई भने एकाविहानै बाटो काटेर
अपशकुन गराएको भन्दै मानिसहरुले खान नदिने मात्र हैन अगाडि देखियो कि लठ्ठी उठाई
धपाउन पनि थाले । सेतोको तुलनामा कालो विरालोले केही खानै नपाएर दिन परदिन
दुब्लाउंदै गयो । हिँड्दा पनि कमजोरीले धर्मर गर्दै हिँड्ने त्यो विरालो मान्छेदेखि
डराउंदै लुकेर हिँड्न थाल्यो । बोक्सी, अलच्छिन र दुष्टात्माको पर्याय बनाइएको त्यो
सानो निरिह कालो विरालो खानेकुरा खोज्दै अर्को घरमा हामफाल्ने क्रममा अशक्त भएर
माथिबाट खसेर मरिरहंदा त्यसैको दाई सेतो विरालो भने प्लेटमा दिइएको दुध चाट्दै थियो
। ।