समिक्षा:
कागबेनी हेरेपछि
बासु
श्रेष्ठ
अर्थोपार्जनकोलागी मलेशिया गएकॊ कृष्ण (निमा रुम्बा) दुई महिनाको छुट्टीमा आफ्नो
गाउँ कागबेनी फर्कन्छ । त्यहाँ आफ्नो बाल्यकालका साथी रमेश (सौगत मल्ल) सँग भेट
हुन्छ र रमेशको व्यापारको सिलसिलामा यात्रामा साथदिन तयार हुन्छ र शुरु हुन्छ यात्रा
। यात्राक्रममा बास बस्दा एक जोगीबाट कृष्णले मायावी बाँदरको पंजा उपहार स्वरुप
पाउँछ जुन पंजाले मनले चिताएको आकाँक्षा पुरा गर्छ । यहि यात्राक्रममा रमेशले आफुले
मन पराएकि केटी तारा (दिया मास्के) को विहे कृष्णसँग हुनलागेको कुरा कृष्णबाटै
थाहा पाएपछि आफ्नै मित्रको कुभलो चिताउन थाल्छ तर कृष्णको पहाडबाट लडेर मृत्यु
हुन्छ । यसरी रमेशको प्रेमको बिचको काँडा समाप्त भएपछि चिताएको र चाहेको
प्रेमिकासँग घरजम उद्योग गरेर रमेशको जिवन चलिरहेको हुन्छ । मनको आँकाक्षा पुरा
गर्ने त्यस पंजामा आसुरी शक्तिपनि भएकोले फल्दै फुल्दै गएको व्यापारमा अचानक हानी
नोक्सानी हुन्छ भने रमेशको छोराको दुर्घटनामा मृत्यु हुन्छ । अन्तत त्यस पंजाले
रमेशलाई सुख होईन दुख नै दिएकोले रमेशलाई पश्चाताप हुन थाल्छ र कुनैदिन आफ्नो
मनोकाँक्षा पुरागर्न स्तुति गरेको त्यहि बाँदर पंजाबाट वितृष्णा जागेर त्यसलाई
फालेपछि चलचित्रको अन्त्य हुन्छ ।
सन् २००६ को अन्त्यतिर निर्माण थालनी गरिएको यो कागबेनी चलचिलत्रको निर्देशन भुषण
दाहालले गरेको हुन् र यो उनको पहिलो निर्देशन हो भन्न गाहारै पर्छ । किनभने
निर्देशनमा उनले कतै कुनै खोट छोडेका छैनन् । कलाकारहरुपनि आफ्नो अभिनयमा चुर्लुम्म
डुबेको अनुभुति हुन्छ जसले गर्दा दर्शकलाई कतै नछोडि क्रमशः अटुट रुपमा चलचित्रको
अन्त्यसम्म डोर्याउन सफल भएको छ ।
विषय वस्तु जे जस्तो भएपनि यस चलचित्रको विशेषता हो प्रस्तुती, निर्देशन, छायाङ्कन
र अभिनय । मुस्ताङ्गजस्तो विकट ठाउँमा यति उच्चस्तरिय चलचित्रको छायाङ्कन गर्न
निर्देशक भुषण दाहाल, कलाकारहरु निमा रुम्बा, पुजा गुरुङ्ग, सौगत मल्ल तथा दिया
मास्केहरुले आफ्नो अभिनयप्रति कुनै अन्याय गरेका छैनन् । अझ दिया मास्केको अभिनय त
झन् सशक्त छ । स्थानिय भेषभुषा, रहनसहन, दिनचर्या तथा परिवेशलाई सुक्ष्म रुपले
ध्यान दिईएको छ जसले गर्दा दर्शक स्वयँ त्यहि स्थानमा पुगेर देखेको भोगेको अनुभव
गराउँछ । त्यस्तै सँवादमापनि निकै ध्यान पुर्याइएको छ । सामान्य नेपाली चलचित्रका
सँवादले जुन तिक्तता दिने गर्छ त्यो तिक्तता यस चलचित्रमा पटक्कै छैन भनेपनि हुन्छ
।
चलचित्रको कमजोरीको रुपमा भने कतिपय दृश्य तथा परिदृश्यहरु अनावश्यक ढङ्गले
लम्ब्याईएको छ । दिनको दृश्यपनि साँझको या अँध्यारोका दृश्यजस्तै लाग्नेगरि
छायाङ्कन गरिएको छ । यसो हुनुको कारण डिभीडी बाट चलचित्रहलमा प्रदर्शन गरिएकोले हो
या निर्देशकको उदेश्य नै यहि थियो भन्ने चाहि बुझ्न सकिएन । डब्ल्यु डब्ल्यु
ज्याकब्सव्दारा लिखित मँकिज पको नेपालीकरण गरिएको कागबेनीको परिवेशमा अन्धविश्वास
तथा अदृश्य शक्तिको पृष्ठपोषण गरिएको छ भन्दा अत्यूक्ति नहोला । पात्रहरुको मन तथा
मस्तिष्कमा खेलिने विभिन्न अन्धविश्वासका कथा या चिन्तनलाई प्रश्रय नदिई चलचित्र
आफैंले एक बहुलाई नारीको परिकल्पना गरेर अदृश्य शक्ति र सम्भावित अपसगुन तथा
दुर्घटनाहरुको चित्रण गरेको छ । यदि यहि कुरालाई पात्रका मथिङ्गलमार्फत चित्रण
गरिएको भए अझ सशक्त हुने थियो कि ?
नेपालको विकट ठाँउको परिदृश्यमा निर्माण गरिएको यस चलचित्रमा झण्डै एक मिनॆट लामो 'बेड
सिन' अनौठो लागेपनि अमेरिका बासिन्दा नेपाली दर्शकहरुलाई भने यो स्वाभाविक नै
लाग्नसक्छ ।