के फरक ?


नारायण अधिकारी
उडब्रिज, भर्जिनिया
अक्टोबर १९ २००८

ए स्वयम्भू !
सत्य सत्य बोल न्यायको बारभित्रबाट
हिजो र आजमा केही फरक पायौ ?
उही उद्घाटन्-सेमिनार गोष्ठी-प्रवचन
उही भोज-भोतेर सत्ता-भत्ता
तिमी के देख्छौ खै ? म त यहि देख्छु ।

पीडामाथि पीडा थपिँदै छन्
सुनको त कुरै नगरौं नून खानै गाह्रो भइसक्यो
कोशी गण्डकी महाकाली पुरानै घाउ हुन्
निको हुनु कता कता
सीमा अतिक्रमणका नयाँ घाउहँरु फैलिँदै छन्
पुराना सन्धी-सम्झौता
नवीकरण पुनरावलोकन ठीकै होलान्
तर तिनका नाममा खै !
के के सट्टा भर्ना गर्नुपर्ने हो !
म त यही देख्छु ए स्वयम्भू !
भन तिमी के देख्छौ ?

ए स्वयम्भू !
तिम्रा बुद्धका आँखाले
शान्तिको गति के देख्छौ ?
एउटा भयानक युद्ध रोकिए पनि
युद्धका जीजिविषा पाल्नेहरु
फुटेर चोइटिएर टुक्रिएर भए पनि
रगतको होली खेलेकै छन्-
म त यही देख्छु-
पानी सङ्लो छ भन्नु भ्रम मात्रै हो
मेचीदेखि कालीसम्म
जहाँको पानी उठाएर हेर
रगतकै छिटा पाउनेछौ ।

के फरक छ हिजो र आज
उही मालिक रिझाउने खेल
उही शासन टिकाउने खेल
उही मागेर गर्जो टार्ने खेल
ए स्वयम्भू !
सत्य सत्य बोल न्यायको बारभित्रबाट
कतै देख्यौ कि नयाँ नेपाल  ?
००