के खोजिरहेछ आँखाले

निर्मला अर्याल

डेनभर, कोलोराडो

 

के के खोजिरहेछ आँखाले

उसलाई आफै थाहा छैन

के के सोचिरहेछ मनले

उसलाई त्यो पनि थाह छैन

 

कुराकानी गर्न खोज्छे ऊ

तर जान्दिन कुरा पुर्याउन

मनमा लागेका कुराहरू

सक्तिन ऊ व्यक्त गर्न

 

भौंतारिरहन्छ उसको नजर

सन्तोष उसमा देखिन्न

कति रहस्यमय देखिन्छे ऊ

तर उसमा रहस्य रत्तीभर छैन । 

 

यस्तै लागिरहन्थ्यो मनमा

ठम्याउन सकेकी थिइन

एकदिन चाल पाएँ मैले

अल्झाइमरको रोगी पो रहिछ