राष्ट्रिय झण्डा
बासु श्रेष्ठ
राष्ट्रियता भावना हो र झण्डा भावना प्रदर्शन गर्ने माध्यम हो । जहाँ
राष्ट्रियता र देशप्रेम झल्काउन आवश्यक पर्छ झण्डाको सहारा लिईन्छ । झण्डाले कुनै
व्यक्ति वा वर्गको प्रतिनिधि गर्दैन अपितु यसले एउटा सिङ्गो राष्ट्र्को
प्रतिनिधित्व गर्छ ।
नेपालको झण्डामा प्रकृति र विश्वव्यापी मान्यता प्राप्त प्राकृतिक सङ्केतको प्रयोग
गरिएको छ । सुर्य र चन्द्रलाई कसैको वँशसँग गाँसेर हेर्नु भनेको सङ्किर्णताको परिचय
दिनु हो । सुर्य र चन्द्र कसैको वँशको नामबाट चिनिएको होईन अपितु सुर्य र चन्द्रको
नामबाट ति वँशको नाम रहन गएको भन्ने सामान्य कुरा नबुझेर झण्डाको अस्तित्वमाथि
प्रश्न चिन्ह लगाउनु भनेको दरिद्र मानसिकताको परिचायक हो भन्ने ठान्दछुँ ।
त्यस्तो कूतर्क गर्ने हो भने जनमत सङ्ग्हमा पाचायतकोलागी पहेँलो चिन्ह छुट्याईएको
थियो । त्यसलाई के भन्ने? के अब पहेँलो रङ्ग नै वहिष्कार गर्ने ? शाहवँशबाट निर्माण
भएको नेपाल शाह वँशको विरोधमा के अब बाईसे र चौविसेमै विखण्डित गर्ने ? राणा
शासनकालमा बनेका ति ठुलाठुला दरबारहरुमा सरकारी कार्यालयहरु सञ्चालन भईरहेका
छन् के त्यसलाई राणाहरुको विरोधमा भत्काउने ? २०१७ पछि देशमा जे जति विकास भएका छन्
र विकासका पुर्वाधारहरु खडा भएका छन् के तिनलाई पञ्चायत विरोधमा ध्वस्त गर्ने
? यसो गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो । सौताको रीसले लोग्नेको
काखमा सु गर्ने भनेको जस्तो गर्नु हो । पोईल गएकी आमाबाट जन्मेकोमा तिनलाई आमा
नभन्नु जस्तै हो ।
नेपाली झण्डाको व्याख्या डा. ताना शर्माले आफ्नो बेलायततिर बराँलिदा नामक पुस्तकमा
राम्रोसँग गरेका छन् । बौद्धिक र तार्किक शक्तिको परिचय दिएका छन् । जहाँ
राष्ट्र्प्रेम र राष्ट्रियता उदात्त भएर पोखिएको पाईन्छ न कि अहिलेका बकम्फुसे र
निम्नस्तरको तर्क जस्तो ।
राष्ट्र् विखण्डनको पिडा झेल्नेहरुलाईमात्र थाहा हुन्छ र हामी प्रतिपल यस्तो पिडा
भोग्नुपर्ला भनेर त्राही त्राही छौ तर कोहि भने देशको नक्शा फेर्ने कुरालाई एकदम
हलुका ढङ्गले लिएर आफ्नो उपबुजुङ्ग्याई प्रदर्शन गरिरहेका छन् । यस्ता व्यक्तिमा
राष्ट्रियताको भावना नभएर राष्ट्र्घातीको गन्ध पाईन्छ । राष्ट्रिय झण्डा जलाउने
व्यक्ति र तिनको समर्थकमा राष्ट्र्वाद हुँदैन । जसले झण्डा जलाउँछ त्यो राष्ट्र्
विहिन हुन्छ । त्यस्ता व्यक्तिमा राष्ट्रियताको अभाव हुन्छ, देश र माटोप्रति
कुनै लगाव हुँदैन, सम्वेदनशीलहीन हुन्छ र त्यस्ता व्यक्तिलाई सरकारले आफ्नै भूमिमा
राष्ट्र्द्रोह गरेको आरोपमा कडा भन्दा कडा सजाँय दिनु पर्छ ।
राष्ट्र्द्रोह यस्तो शब्द हो कुनैपनि प्रकारको सरकारले सुन्न चाहँदैन । तानाशाही
सरकारको त कुरै छोडौ विश्वको स्वतन्त्र भूमि भनेर चिनिने देश अमेरिकामा पनि
स्वतन्त्र टेक्सस राज्यको माग गर्नेलाई निमिट्न्न पारेका होस् या स्वतन्त्र पाजाबको
माग गर्ने शिखहरुको स्वर्ण मन्दिरमा विश्वकै सबभन्दा ठुलो प्रजातान्त्रिक देश भनेर
चिनिने भारतको भारतिय सेना पसेर विखण्डनकारीहरुलाई ध्वस्त पारेको उदाहरण हाम्रै आँखा
सामुन्ने छ । तर नेपाल सरकारको लाचारीपनले गर्दा ति राष्ट्र्द्रोही खुल्लमखुल्ला
सडकमा हिँडिरहेका छन् । र हामी नेपाली जनता अवाक भएर हेर्न बाध्य भएका छौ ।
कसैले झण्डा दहन स्वतन्त्र अभिव्यक्ति हो यसमा रोकटोक हुनुहुन्न भन्ने कुतर्क पनि
गर्लान् । तर जुन माटोमा आफ्नो वास पाएको छ त्यसै माटोको परिचायक झण्डा जलाउनुलाई
कसरी स्वतन्त्र अभिव्यक्तिको रुपमा लिने? यो त सरासर गद्दारीपनाको परिचायक
भएन र अनि यस्तो गद्दारीपनलाई प्रश्रय दिनु जस्तो मुर्खतापूर्ण काम अरु के होला र ?
हाम्रो त्रिकोणात्मक झण्डा अजर र अमर छ र रहनु पर्छ । चन्द्र र सुर्य रहेसम्म हाम्रो
देश रहोस् र अक्षण्ण रहोस् । यो हामी नेपालीको परिचायक हो, परिभाषा हो, चिनारी हो,
र गौरव हो अनि आत्मकथा हो । यस झण्डालाई कुनै कुतत्वको आँखा नलागोस् र त्यस्ताको
पहुँचबाट सदैव टाढा रहोस् ।