जरासन्ध*

कृष्ण प्रसाई
काठमाण्डौ, नेपाल

जरासन्ध फेरि बिउँझिएको छ
उसलाइ थाहा छ
फैलिनुको मज्जा ।
उस्लाई थाहा छ
बन्दी बनाउनुको मज्जा ।
अहिले यतिखेर -
तिम्रो भुखण्ड जो छ -
इतिहासको संकटकालको नाउँबाट-
नाजुक गुजिरहेछ ।
आफै इमान्दार नहुनुको नाउँमा-
तिमीलाइ लान्छना लाग्यो भने पनि
अन्यथा नठाने हुन्छ तिमीले-
जस्लाई तिमी विश्वास गरिरहेछौ
जरासन्धले उसलाइ पनि किनेको छ ।
जरासन्ध संग ऊ मिलिसकेको छ ।
ऊ जरासन्ध कै नुनको सोझो गर्दैछ ।
सिपालु छ जरासन्ध
कहिले दिए जस्तो गर्छ -
तर जति दिन्छ
त्यसको दशौं दोव्वर लिन्छ ।
अभ्यस्त छ जरासन्ध
तिम्रो सम्पदामा पासा फालिरहन्छ-
गाईको रङ्गमा स्यालको मन बोकेर
कहिले साधुको भेषमा-
कहिले जालन्धरको भेषमा
पल्किसकेको छ जरासन्ध-
खजाना लुट्नलाई
लालपुर्जा मिच्नलाई

असंख्य बहाना वनाएर
च्याँखे थापिरहनलाई ।
किमार्थ डराउदैन जरासन्ध
धोकामा पार्न तिमीलाई ।
कसैगरि लजाउदैन जरासन्ध
नागपास झै वेरेर-
बन्दी बनाउन तिमीलाई ।
खवरदार
जरासन्ध यतिखेर-
तिमीलाई धरापमा पार्न
विभिन्न जाल थापेर बसेको छ ।
भेटेसम्म सिङ्गै निल्न-
भीमकाय जरासन्ध
मात्रै दाउ हॆरेर वसेको छ ।

(ऐतिहासिक महाभारतकालिन असुर राज खलपात्र जस्ले सयौं राज्य र निमुखा राज्य प्रमुख हरुलाई बन्दी वनाएको थियो ।)