जनताहरु…


सुषमा मानन्धर
कुमारीपाटी, ललितपुर


चामल मन्छाए सरि जनताहरु मन्छाएर
जनताको नाममा भाकल गर्नेहरु
राजनीतिभित्रको अर्को राजनीित
विना रेफरीको
आ आफ्नै खेल ।
जनता
चक्रव्यूहभित्रको अभिमन्यु
सांढेहरुको जुधाई वीच
बाच्छो झैं पिसिएर
मकैभित्रको घून
खुक्ररीमुनिको अचानो
अन्तहीन प्रहारहरु खपिरहेछन् ।
निर्मल आकाशमा
शान्तिको सास
दुसाध्य कहां हो कहां
धुंवाका काला मुस्लाहरु
फेरि अपशकुन !
कसरी हांस्लान् ओठहरु
कसरी फुल्लान् फूलहरु !
जनताहरु पाल्दैछन्
भ्वाङ परेका भरोसा
तातिएर अलकत्रामा कट्कटिएको
सहिदका बलिदान
हिसाब माग्दैछन्
सन्क्तलन परिक्षणमा नमिलेको
नेताहरुको खोक्रो आस्वासन भने
ज्यूं का त्यूं ।
खल्ती खल्तीमा
भाग लाउंदै रित्याउंदै
शक्तिमा शान्ति
हात लाग्यो सुन्ना ।
काकाकूलको नियति बोकेर
निस्सासिएका तृषित जनता
राहतको आशमा
जोडिएका हातहरु
श्री पशुपतिनाथले कल्याण गरुन् ।