वाल कथा

जन्मथलोको माया

 

 

स्मिता थापा

कक्षा १०
श्री कालिका उ.मा.वि. रामबजार पोखरा

 

धेरै समय अघिको कुरा हो । पहाडी भेगमा एउटा अतिनै सुन्दर गाउँ थियो । त्यसै गाउँमा हरी र हर्के नाम गरेका एकदमै आत्मिय साथीहरु बस्दथे । स्कूलमा एकसाथ एउटै कक्षामा पढ्थे र फुर्सदका समयमा उनिहरु आफ्नो दुखसुखका कुराहरु एकले अर्कालाई सुनाउने गर्थे । उनिहरु दुवैले भर्खरै एस.एल.सि. परीक्षा दिएका थिए । त्यसैले उनीहरुलाई प्रसस्त फुर्सद  थियो । यसै समयलाई उपयोग गर्न उनीहरु सँधै सँगै गाइवस्तु चराउन आफ्नै गाउँको सुन्दरवनमा जानलागे ।

 

त्यहाँका रमणिय वातावरणमा चराहरु चीरवीर चीरवीर गरी मीठो गीत गाइरहेका हुन्थे भने नजिकैको खोलाले छङछङ गरी ताल थपिरहेका हुन्थे । यस्तो वातावरणमा हरिले उसको बुबाले ल्याइदिनुभएको बाँसुरी बजाएर सुनमा सुगन्ध थपिदिन्थे । अनि हर्केचाहिँ उत्साहित भएर गीतहरु गाउने गर्थे ।

 

यसरी नै उनीहरुको दिन बित्दै थियो । त्यत्तिकैमा उनिहरुका एस.एल.सी. को  परीणाम आयो । दुवै राम्रा अंकसाथ पास भएछन् । तर दुःखको कुरा के भने उनीहरुलाई अब आफ्नो पढाईलाई निरन्तरता दिन गाउँबाट टाढा शहर जान पर्ने भयो । आफ्नो स्वर्गजस्तो गाउँ छोडी जान उनीहरुलाई धेरै दुःख लाग्यो । त्यो स्वच्छ र सफा खोलानाला, हरिया वनपाखा, चराचुरुंगीको त्यो गीत, त्यो ठूलो चौतारी, अनि प्यरा गाउँलेहरु र आमाबाका मायालाई छोडेर जान पर्दा उनीहरुका मन विछोडको विडम्बनामा छट्पटाउँदै रोयो । तर के गर्नु ? आफ्नो पढाइलाई पनि त महत्व दिनै पर्यो ।   उनीहरुले आफ्नो मन बुझाए र आखिरमा सहरतिर लागे । उनिहरु बसको लामो यात्रामा मनभरी गाउँकै मायालाई सम्हाल्दै र सोच्दै जाँदा कत्तिखेर सहर आइपुगे थाहा नै पाएनन् । उनीहरु बसबाट ओर्लिए । त्यहाँ मान्छेहरुको धेरै भीड थियो । कसैलाई कसैका वास्ता थिएन । सबै आआफ्नो धुनमा आफ्ना काममा मस्त थिए ।

 

हरि र हर्के एउटा क्याम्पसमा पुगे र त्यहाँ नै भरना भए । त्यही दिनमा उनीहरुले क्याम्पस नजिकै एउटा कोठा पनि बाहालमा लिए । अब उनीहरुको पढाई शुरु भयो । तर उनीहरुलाई शहरको वातावरणमा धेरै अप्ठारो लाग्दथ्यो । हरेक सानो कुराको लागि पनि पैसा नै ठूलो हुन्थ्यो । पैसाविना त्यहाँ एकथोपा पिउने पानी पनि पाइँदैनथ्यो । यस्तो अवस्थामा उनीहरुलाई आफ्नो गाउँको त्यो कलकल गर्ने झरना र छङछङ गर्ने खोलाको सम्झना आउँथ्यो । उनीहरुको आर्थिक अवस्था पनि कमजोरै थियो । त्यसैले त्यहाँको रहनसहनमा ढल्कन अलि गाह्रै भयो । तर उनिहरुले गाउँलाई उच्च उन्नतितर्फ लैजाने बाचा गरेका थिए । त्यसलाई पुरा गर्न पनि डट्नै पर्दथ्यो र जत्ति नै दुःख भएपनि उनिहरुले पढाइमा खूब ध्यान दिए । अन्तमा उनीहरुले पढाइमा राम्रो सफलता हासिल गरेरै छाडे ।

 

उनीहरु अब आफ्नो त्यो रमणीय गाउँ फर्कन पाउँदा धेरै खुशी थिए । गाउँमा फर्कने बन्दोबस्त मिलाउँदै थिए कि यसैबेलामा गाउँबाट एउटा दुखद खबर आयो । वनफडानीको कारणले गाउँमा बाढीपहिरो आएछ र त्यो स्वर्गजस्तो गाउँ नर्कको रुपमा बदलि सकेछ ।

 

उनीहरु छिटो छिटो त्यो गाउँ फर्किए । गाउँमा जाँदा देखे कि गाउँको स्थिति कत्ति नाजुक भइसकेको थियो । उनिहरुको मन धेरै दिनसम्म रोयो । तरपनि उनीहरुले हिम्मत जुटाई आफ्नो गाउँलाई फेरि पनि पहिलाको जस्तै स्वर्ग बनाउने वाचा गरे । पहिले उनीहरुले गाउँमा जनचेतना जगाउन  र गाउँको विकासको लागि काम गर्न एउटा संगठन स्थापना गरे । त्यस संगठनले गाउँभरी शिक्षा र वनको महत्व बारे चेतना जगाउँदै गाउँकै सहयोगमा लगानी समेत जुटाए । अब त्यस गाउँमा सबै मिलेर उच्च शिक्षा प्राप्त गर्ने विद्यालयको स्थापना गरे । त्यसपछि  वृक्षारोपन गरे अनि आधुनिक कृषी सम्बन्धी जानकारी दिएर खेतिपातिमा समेत धरै प्रगति गरे ।
 

केही वर्षमै त्यो गाउँ पैलाको भन्दा पनि बढी विकसित र प्राकृतिक दृष्यले भरिपूर्ण बन्यो । सबैलाई थाहा थियो हरि र हर्केको गाउँप्रतिको माया र सद्भावकै कारण यस्तो उन्नति भयो । उनीहरु सबैले ती दुवै जन्मथलो प्रेमीलाई मन खोलेर सम्मानित गरे ।

 

(कविताराम बालसाहित्य प्रवर्धन अनुष्ठान नेपालद्वारा आयोजित चित्र प्रदान गरी कथा लेख्न लगाउने दुईघण्टे कार्यशाला गोष्ठिको उत्पादित कथा)