जैमली



शिव प्रकाश

बोस्टन, अमेरिका


उसले चारैतिर खोज्यो देखेन ! अनेक निहुँले भान्सातिर गयो !  पछाडि गयो बारीतिर गयो ! तर कतैदेखेन ! कुना कुइँनेटा सबैतिर खोज्यो, सबै छन् तर जैमली छैन !
बीस वर्ष भयो जैमलीलाई नदेखेको ! उभित्र आज इच्छाको अथाह सागर उर्लेको छ जैमलीलाई भेट्ने ।
जैमली किन आइन, त्यत्रो विहेमा ? सारा मान्छे आएका छन् तर जैमली छैन ! उ सोध्ने आँट पनि गर्दैन कसैलाई । मान्छेको त्यो भीडमा उसका आँखाले निरन्तर जैमलीलाई नै खोजिरहेका छन् ।

सोच्यो- जैमली यहीँ कतै छे, कि मैले जैमलीलाई चिन्न सकिन !  कि जैमली आउँदैआइन ! कि जैमली विरामी परेर आउन सकिन ! प्रत्येक अनुहारमा उसले आखाँ डुलायो । कति परिचित कति अपरिचित ति अनुहारहरु ! तर कुनै अनुहारमा जैमली देखेन ।
 

उसलाई आफैसँग रिस उठ्छ- आखिर जैमलीलाई नभेटिने रहेछ म किन आएको होला ! उसलाई आफ्नै आँखासँग रिस उठ्छ- जैमलीलाई हेर्ने यी आँखाको कत्रो रहर थियो पुरा भएन ! आफ्नै मनसँग रिस उठ्छ- यो मनलाई जैमली भेटने कत्रो तृष्ण थियो, तर मृगतृष्णा नै रह्यो ! उसलाई आफ्नै शरीरसँग रिस उठ्छ- यी सारा मान्छेका आँखा छलेर एकपटक भए पनि जैमलीलाई अँगालो हाल्छु भन्ने कत्रो चाहना थियो, त्यो पनि पानीपानी भयो !

जैमलीलाई सुम्सुम्याएका आफ्ना हातहरुलाई नियाल्छ- आफैसँग उसलाई झन्झन् रिस उठ्छ । यो शरीरले, यो मनले यी आँखाले, जैमलीलाई किन विर्सन सकेनन्, के म बाँचुन्जेल जैमलीको सम्झना साँचेर यिनले मलाई सताइरहनेछन् ? आफ्नो प्रश्नसँग उ आफैं अनुत्तरित रहन्छ । उ आफैंसँग आगो हुन्छ ।

आफ्नै भदैको बिहे तर जैमली छैन ! भएभरका सारा गोरुबेचे साइनोका मान्छे छन् तर जैमली किन छैन ? जैमलीलाई पक्कै केही भएको हुनु पर्छ ! एक्कासी उसको मनमा एकप्रकारको चीसो स्याठ पसेजस्तो हुन्छ - कि जैमली मरिसकी ? धोत्लिएर सोच्न थाल्छ - जैमलीको अनुपस्थितिको कारण के हुन सक्छ ? उसैको प्रश्न उसैका लागि अनुत्तरित छ ! चारैतिर आँखा दौडाउँछ तर सबै शून्य जस्तो देख्छ, जैमलीबिनाको त्यो वातावरण !

अधिसम्म चिस्सिएको उसको मन एक्कासी ज्वाला दन्किए जस्तो हुन्छ । केहीबेर अघिसम्म आफैसँग उठेको भुत्भुते अब अरुतिर खनिन थाल्छ । सबैसँग रिस उठ्न थाल्छ । उसलाई त्यहाँ कोही पनि मन पर्दैन । सबै बैरीजस्तो लाग्न थाल्छ । आफन्तहरुलाई निहाल्छ तिनमा पनि उसले अपनत्व हैन कताकता परत्व देख्छ । उसलाई त्यहाँ बस्न मन लाग्दैन । भाउन्न हुन्छ । तर उ त्यहाँ बस्नुको अर्को वाध्यता छ ।

आगन्तुक मध्येमा उ नै महत्वपूर्ण हुन्छ । त्यो वाध्यता उसका लागि त्यहाँ ठूलो बोझ र सकस जस्तो भइरहेको छ । केही नखाइ हिड्नु उनीहरुको सँस्कार र उसको आफ्नो निजी मान्यता विपरित भएकोले उ त्यहाँबाट सजिलै उम्कन सक्ने अवस्थामा छैन ।

उ त्यहाँ अरुभन्दा फरक देखिन्छ । अलि भिन्न खालको पहिरन र सुकिलोमुकिलो चिल्लो अनुहार ! गाउँका दुःखबाट धेरै वर्ष टाढा भएकोले गाउँलेका फुस्रा र डडेका अनुहार भन्दा उ फरका छ । धेरैका आँखा उतिर नै हुन्छन् तर ति सार निर्दोष आँखाप्रति उ आक्रोस हुन्छ । उसका आँखामा प्रतिविम्वित आक्रोस कसैले देख्दैन, कालो चस्माले छेकेको छ । ति आक्रोशिति आँखा जैमलीलाई देखेपछि मात्र शान्त हुन्छन् भन्ने कुरा उसालाई थाह छ, तर जैमली छैन ! बीस वर्षपछि उ आफ्नो त्यो पुरानो गाउँमा गएकोले घेरैका लागि अपरिचित पनि छ तर कौतुहलताको विषय पनि - को होला यो भन्ने !

उसालाई रक्सी पिएर ढल्न मन लाग्छ तर त्यो पनि गर्न सक्दैन, उ त्यहाँ ! इज्जतको सबाल छ ! बाहुनको छोरो मतवालीकहाँ गएर रक्सी पियो त्यो पनि ठर्रा ! भोली चारचौरास फैलिन्छ ।

केही नलागे पछि आफ्नो पुरानो घरसँगै रहेको बखुवाको घरको दलिनमा गएर गुन्द्रीमा पल्टिन्छ । यत्रो ठूलो मान्छे, धनीमनी मान्छे हाम्रो घरमा आएर गुन्द्रीमा पल्टियो ! बखुवाको परिवारका लागि त्यो अप्रत्यासित र अपत्यरिलो हुन्छ । र, गौरवको विषय पनि ! तर उसले आफूलाई पहिलेकै कन्छाठान्छ र पहिले जस्तै गरि डङरङ्ङ पल्टिन्छ । गाउँका भुरेभारे धूलोमैलो जे जस्तो अवस्थामा छन्, सबै छेउमा झुप्पिन्छन् । उसले ठान्छ- यिनीहरुले मलाई अनुहारले नचिने पनि भावनाले चिनेका छन् । यो यही गाउँको कन्छा भनेर ! तेसैले मेरो वरिपरि झुम्मिए । उ भित्रभित्रै पुलकित हुन्छ । उसले केही चकलेटहरु दिंदै भन्छ तिमीहरु खेल्न जाओ म एकछिन आराम गर्छु ।
आँखा चिम्लिएर लामो शास फेर्छ । जुरुक्क उठ्छ । फेरी एकपटक वरिपरी आँखा डुलाउँछ जैमली छैन !  आफ्नो खल्ती छाम्छ । जैमलीले भनेको सम्झन्छ – ‘कान्छा मलाई एउटा औंठी किनेर ल्याइदे न !

उ फेरी पल्टन्छ र आँखा चिम्लिन्छ । असारे रोपाइँको हिलोमा लडिबुडी गरेरको सम्झन्छ । बयल झुलेका धानबारीमा लुकामारी खेलेको सम्झन्छ । पटुवाबारीमा लाप्पा खेलेको सम्झिन्छ । घर पछाडिको मकैबारीमा लुकीछिपी भेट्ने गरेको सम्झिन्छ । उसको मष्तिष्कमा गाडिएका स्मृतिका डोबहरु एकएक आफैं उत्खनन् हुदै जान्छन् । उ तिनैमा उग्राएर पल्टिरहेको छ ।

गाउँको एउटा आदिवासी परिवारकी छोरी जैमली ! सलक्क परेकी गोरी, हिस्सी परेका दाँत, बाटुला हात खुट्टा ! हेर्दै लछ्छिनकी लाग्ने ! एक अक्षर नचिनेकी सोझी केटी ! आफ्नो मातृभाषा बाहेक भाका पुर्याएर नेपाली पनि बोल्न नजान्ने !
 

केटा मान्छे देखेपछि चितुवा देखेर मृग दौडे जस्तो दौडन्थी, जैमली ! कुनै केटामान्छेको छेउ पर्दैन थि कहिल्यै । बाटो छेकेर जिस्क्याउन खोज्थ्यो मृग उफ्रे जस्तो फड्को मारेर भाग्थी । जैमलीको स्वभाव सम्झेर उ मनमनै हाँस्छ । तर उसालाई थाह छ जबसम्म जैमलीलाई भेटेर उसको इच्छा पुरा गर्न सक्दैन तवसम्म उ हाँस्न सक्दैन । यो मेरो हाँसो म आफैंलाई जिस्क्याउने हाँसो मात्र हो । जैमली सम्झेर म हास्नु भनेको म पागल हुनु हो । म पागल भएँ भने मात्र जैमलीलाई बिर्सन्छु नत्र ....असम्भव छ । पागलले मात्र प्रेमी वा प्रेमिकालाई बिर्सन्छ।मनोवाद गर्छ ।

त्यो रात जैमली एकाएक पानीपानी भएकी थि, उसले त्यो पनि सम्झिन्छ । झुक्किएर जैमलीलाई छोइँदा उ थर्थर भएको सम्झिन्छ । अब जैमली चिच्याउँछे र साराका सामुन्ने बेइज्जती हुन्छ भन्ठानेर भाग्न खोजेको सम्झिछ । तर परिणाम उल्टो भएको थियो !

गाउँमा नाच हेर्न जम्मा भएका ठिटाठिटीसँगै बसेकी जैमलीको कम्मरमा उसको हातले अन्जानबश के छोएको थियो जैमली सधैं झैं प्रतिकार गर्नु साटो उसको हातलाई चुम्बकले तानेजस्तो गरी तानेर काखीमा च्यापिथी । बर्कोभित्र लुकाइथी । एकैछिन पछि बर्कोभित्र वाफिएका जैमलीका यौवपुञ्जहरुसँग उसका हातहरु रमाउन थालेथे । मानौ जैमली बल्छी थापेर बसिथी ! उसलाई त्यो क्षण अहिले पनि अपत्यारिलो जस्तो हुन्छ । अहिलेसम्म पनि कुनै दैवीय चमत्कार भए जस्तो लागिरहेछ ! सम्झनाहरु उसको मस्तिष्कमा खेलिरहेका छन् । दृष्यहरु आँखाअधि नाचिरहेका छन् । उ त्यही गुन्द्रीमा पल्टिरहेछ । उसले आफैंलाई अर्को प्रश्न गर्छ- के आइमाइ मान्छे आँधितुफान हो, भेल हो, खहरे हो ? कतिबेला कता बहन्छ कुन मोड लिन्छ थाह हुदैन ?

सोच्छ- मैले भन्दा उसले मलाई बढी माया गर्थी । उ जैमलीलाई तिमी भनेर सम्बोधन गर्थ्यो, तर जैमली उसलाई तँ भन्थी । अर्थात जैमली तिमी वा तपाइँको सम्वोधन जान्दैनथी ! कन्छा तँ ठूल्लो राती मचानमा आइज म पनि आउँछु वीस वर्ष अधिको जैमलीको त्यो आवाज अहिले फेरी कानमा गुन्जिए जस्तो लाग्छ । त्यो मचान भएको ठाउँतिर हेर्छे त्यहाँ मचान छैन धान खेत छ ।

कन्छा तँ बाहुनको केटा, म तल्लो जातको केटी, तँ मलाई बिहे नगर्ने भए केही नगर; तेरो बाउआमाले मान्दैन !

जैमली कतै बोलिरहेकी छे जस्तो लाग्छ । जैमलीको मध्यरातको त्यो प्रस्ताव पछि उ जातपातप्रति धृणा गर्न थाल्छ । आफू बाहुन केटो हुनुको सजाय परिस्थतिले तोकिदिएको ठान्छ जैमलीलाई गुमाउनु अर्थात नपाउनु !

बेहुली बनेको दिन थोरैभए पनि धुम्टो उधारेर उतिर छड्के नजर लाउँदै जैमली धुरुधुरु रोएको सम्झिन्छ । जैमलीका ठूलाठूला बाठुला गाजलु ति आँखा आफ्नै आँखाका नानीमा बसिरहे जस्तो लाग्छ ।

जैमली… ! जैमली …!” उसको कानमा एक्कासी आवाज आउछ । जुरुक्क उठेर हेर्छ, दुइतीन वालकहरु थालभरी मासु, चिउरा, तरकारी, आचार लिएर पछाडिपट्टीको गुवालीतिर जाँदैछन् ।

सोध्छ कसका लागि ल्याएको यो खानेकुरा ?’

जैमलीका लागि- भुराहरुले उत्तर दिन्छन् । उ तीनछक्क पर्छ । उसले नसोचेको कुरा फेरी एकपटक हुन्छ । जैमलीसँगको प्रेम, विछोड र अहिलेको भेट यो सबै उसले सोचेभन्दा भिन्न किसिमले भइरहेछ । उ दौडदै जैमलीतिर जान्छ । केहीबेर एकतमासले जैमलीलाई हेरिरहन्छ ! यहाँ पनि जैमली सोचेभन्दा फरक छे ।

जैमली, जैमली ! म कान्छा ! उसले जैमलीलाई घचघच्याउँछ । जैमलीले न चिने जस्तो, न नचिने जस्तो गर्छे ! जैमली बोलिन हाँसी मात्र ! "जैमली हेर त यी मैले तिम्रो लागि औठी ल्याएको छु ।" औठी देखाउँछ बोल्दिन, हास्छे मात्र ! म कान्छा हुँ, कान्छा भन्छ बोल्दिन, हाँस्छे मात्र ! ठूल्लो राति भनेर सम्झाउन खोज्छ बोल्दिन, हाँस्छे मात्र ! आफ्नो जीउको खत देखाउँछ बोल्दिन, हाँस्छे मात्र ! बीस वर्षअधिको जैमलीको फोटो पर्सबाट निकालेर देखाउछ हेर्छे बोल्दिन, हास्छे मात्र ! आफ्नो फोटो देखाउँछ एकहोरो हेर्छे बोल्दिन, खित्का छोडर हाँस्छे मात्र ! डगर, मचान, पटुवारी, मकैबारी, धानखेत, बानडाँडा, देबीथान, ढाबी, खोरिया, माछापोखरी, केराबारी भन्छ बोल्दिन; झनझन् खित्का छोडीछोडी हाँस्छे मात्र !
हजूर यो त बौलाही हो यसलाई किन जिस्क्याउनु भएको’ - छेउमा आएर कसैले भन्छ । उ छाँगाबाट खसेजस्तो हुन्छ । सोध्छ - "यो कसरी बौलाई ?"

यसको एउटा केटासँग प्रेम थियो रे जातपात नमिलेर त्यो पनि असफल भोरे  । बिहे गरेको लोग्ने पनि मरेपछि सायद त्यही तोडले… ! जैमलीका लागि विदेशबाट किनेर ल्याएको हिराको औंठी खल्तीमा राख्छ । अनि सबैसँग विदा भएर गह्रुङ्गो मन लिएर बाटो लाग्छ ।

भोलिपल्ट गाउँमा हल्ला फैलिन्छ जैमलीले आत्महत्या गरी रे ! पर्सी पल्ट जैमलीको चिहानमा गएर भन्छ- ‘जैमली, जतिबेला तिमीले औंठी माग्यो त्यतिबेला मसँग हविगत थिएन, जतिबेला मसँग छ त्यतिबेला तिमी छैनौं  औंठी जैमलीको चिहानमा गाडेर उ शहरतिर फर्कन्छ ।

आखिर मान्छे जातपातको रेखाभन्दा माथि र स्वतन्त्र हुदो हो त जैमलीको यो हालत हुने थिएन । म बाहुनको छोरो नभएर कामी दमाइ सार्की नै भएको भए पनि अहिले सायद जैमली मसँगै हुने थिई  !’

उसले निष्कर्ष निकाल्छ आजदेखि मेरो कुनै जात छैन !’ अब उसले आफ्नो थर लेख्न छोडेर नाउँ मात्र लेख्न थालेको छ । शिव प्रकाश …… जस्तै !

 १७ जुलाई २००९