इडिपसको अनुहारमा उदाएका सौगातका निश्छल आँखाहरू


रजनी ढकाल
 
धापाखेल
 

       नाटक  हेर्ने इच्छालाई पूरा गरेको यो दोस्रो साँझ हो मेरो जीवनको । गुरुकुलको रिमाल नाटकघरमा असार २० गतेदेखि मञ्चन  भइरहेको इडिपसले मेरो रहरलाई असार २१ गतेको साँझमा मज्जाले पूरा गरेको छ । नाटकको दर्शक हुन पुगेको मेरो पहिलो साँझ आजभन्दा २० वर्षअघिको थियो । बुबासँग माधव घिमिरेको मालती मङ्गले हेर्न प्रज्ञा प्रतिष्‍ठान पुग्दाको साँझ जीवनको अविस्मरणीय क्षण बनेको छ र आजको दिनलाई पनि उत्तिकै सौभाग्यशाली ठानिरहेकी छु । फरक चाहिं के छ भने त्यो साँझ बुबाको पछिपछि लागेर मैतिदेवीदेखि कमलादीसम्मको बाटोलाई जीवनका प्रथमप्रथम उत्सुकताका पाइतालाले नाप्दै हिंडेकी थिएँ । तर आज जीवनको धेरै कुतूहलतालाई अनुभवमा गाँठो पारेर केही आफन्त र आमासँगै एउटा निश्‍चित गोरेटो लिएको जीवनको आत्मविश्‍वासको मार्गमा गुडिरहेकी छु ।

       गुरुकुलमा मेरो पटकपटकको गमन नाटकको दर्शक बन्नका लागि भएन । तर गुरुकुलका सम्पूर्ण खबरहरूसँग कहिल्यै बेखबर भइनँ म । पटक पटक इच्छाले तान्थ्यो, अनि पटक पटक बाध्यताले खुम्च्याउँथ्यो । तर आज समय मिलेकै हो । त्यसैले त विशेष भनिरहेछु । नेपाली रङ्गमञ्चमा तहल्का मच्चाउने सुनिल पोख्रेल र निशा शर्माप्रतिको अनुराग पनि हो र सायद दाजु रमण घिमिरेज्यूको पुस्तक एक दर्जन एकमा उनीहरूलाई पढेपछि उत्पन्न भएको अर्को आदरभाव पनि हो, गुरुकुलले मलाई झन् बेस्सरी तानिरहेको छ । धेरैपटक चाहँदा पनि परिस्थितिवस डल्स हाउस हेर्न जाने अवसर जुटेन । तर इडिपस फेरि त्यसैगरी नछुटोस् भन्ने चाहन्थें म । स्नातक अध्ययन गर्दा गुरुहरुका मुखराविन्दबाट सुनेका थुप्रै विश्‍वप्रसिद्ध नाटकहरूमा यी दुई नाटकलाई म कहिल्यै बिर्सन सक्दिनँ ।

       प्रतियोगितामा २० औं पटकसम्म प्रथम भएका र १२० भन्दा बढी नाटकका लेखक सोफोक्लिज (ई.पू. ४९६-४०६)को सर्वश्रेष्‍ठ वियोगान्त नाटक, दार्शनिक एरिस्टोटलले बनोट र संरचनाका दृष्‍टिले सबैभन्दा मनपराएर उदाहरणको रूपमा प्रस्तुत गरेको नाटक र मनोविज्ञानका पिता सिग्मण्ड फ्रायडको इडिपस कम्प्लेक्सको आधारभूमि । यी विशेषणहरू पाएको हुनाले पनि यो नाटक जोसुकैको मन तान्ने रचना हो भन्ने लाग्छ मलाई । ई.पू. ४२९ मा पहिलोपटक प्रदर्शन भएको यो नाटकलाई निर्देशक र अनुवादक सुनिल पोख्रेलले नेपाली रङ्गमञ्चमा ओराल्न कति कसरत गरे ? यो पनि अर्को विषय हो नेपाली दर्शकको मनलाई तान्ने ।

       आजभन्दा झन्डै २५ सय वर्ष अगाडि  ती ग्रिक लेखकले के त्यस्तो विचार इडिपसमा लेखे, जसले आजसम्म पनि उत्तिकै चर्चा पाइरहेको छ ? के छ यसमा जीवनको त्यस्तो सत्य, जसलाई हेर्न आज रिमाल नाटकघर खचाखच भरिएको छ । अनि कस्तो अभिनय गर्छन् गुरुकुलका प्रशिक्षार्थीहरू ? मनभित्र जिज्ञासाका पोकाहरू आपसमा ठोक्किंदै गर्दा सबै दर्शकका आँखाहरू कतै चलमल नगरी मञ्चमा टपक्कै टाँसिन पुग्छन् । म अहिले नाटक हेर्दाको त्यही प्रभावलाई प्रकट गर्न खोजिरहेछु, तर डर लागिरहेछ मेरो दर्शक मनलाई मेरो विचारका शब्दले न्याय गर्न सक्छन् कि सक्दैनन् । म ती पात्रका जीवन्त अभिनयलाई शब्दमा समेट्न सक्छु कि सक्दिनँ । के सोफोक्लिजको त्यो विचारलाई मेरा शब्दले समेट्लान् ?

       ‘प्राचीन युनानका थीव देशका लायस भन्ने राजा तीर्थयात्रामा जाँदा डाँकाहरूबाट मारिएको खबर आउँछ । त्यसपछि रानी याकोष्‍ठा र रानीका भाइ क्रियोनले राज्य चलाउँछन् तर देशमा एउटी राक्षसनीले आतङ्क मञ्चाउन थाल्छे । सिंहको शरीर र मान्छेको टाउको भएकी त्यस राक्षसनीले सोधेको प्रश्‍नको उत्तर दिन नसक्दा मान्छेहरू उसको हातबाट भटाभट मारिन थाल्छन् । यस्तैमा युवक इडिपस त्यो देशमा आइपुग्छ र त्यस राक्षसनीको प्रश्‍नको सही उत्तर दिएर देशलाई आतङ्कबाट जोगाउँछ ।

       राक्षसनीको प्रश्‍न हुन्छ, “त्यो कुन प्राणी हो, जो बिहान चार खुट्टाले, दिउँसो दुई खुट्टाले र साँझ तीन खुट्टाले हिंड्छ ?”

       इडिपसको चातुर्यपूर्ण र दार्शनिक सही उत्तर यस्तो हुन्छ, “त्यो प्राणी मान्छे हो, जो बिहान अर्थात् बाल्यकालमा चार हातखुट्टाले , दिउँसो अर्थात् युवावस्थामा दुई खुट्टाले र साँझ अर्थात् वृद्धावस्थामा लठ्ठी टेकेर तीन खुट्टाले हिंड्छ ।”

       देशलाई  बचाएको हुनाले इडिपसलाई देशको  राजा बनाइन्छ र रानी याकोष्‍ठासँग विवाह गराइन्छ । उनीहरूबाट दुई छोरा र दुई छोरी जन्मिन्छन् । केही समयपछि फेरि मुलुकमा अकाल, रोगव्याधी र महामारी सुरु हुन्छ । थीव देशका जनताहरू इडिपसको दरबार अगाडि जम्मा हुन्छन्’ सूत्रधारका रूपमा सुनिल पोख्रेलका यी वाणीहरू सकिएपछि नाटकको मञ्चन सुरु हुन्छ ।

       वीरेन्द्र हमालको अनौठो मञ्च परिकल्पनाले  दर्शकलाई घटनाभन्दा मञ्चसजावटको  कुतूहलताले गाँजेको हुन्छ  । “ऊ ती पनि मान्छे नै हैनन्?” मेरो सिट पछाडिबाट आइरहेको मसिनो आवाज मै वरिपरि बिलाउँछ । सबैका आँखाहरू शहरमा सेता कपडामा बेरिएका मुर्दा जस्ता लाग्ने मान्छे र तिनको चहलपहल हेरिरहन्छन् ।

       देशको समस्या समाधना गर्न इडिपस  व्यग्र हुन्छ । उसको नायकत्व  र नेतृत्व मन पराएका जनताहरू ऊप्रति उत्तिकै भरोसा पनि गर्छन् । ज्योतिषका अनुसार थीवमा पूर्वराजा लायसको हत्यारा बसेको हुनाले देश समस्याको भुमरीमा परेको हुन्छ । इडिपस हत्यारा पत्ता लगाउने उद्देश्यमा अडिग हुन्छ । थीव देशलाई जुनसुकै मूल्य तिरेर पनि बचाउन चाहन्छ इडिपस । यहाँनेर इडिपसको देश र जनताप्रतिको माया र उसको दृढनिश्‍चयले निकै तान्छ अशान्ति र राजनीतिक धूमिलतामा बाँचिरहेका नेपाली दर्शकको मन । शूर, वीर र धैर्यको प्रतिमूर्तिझैं बनेको इडिपसमा त्यतिबेला घमण्डका रेखाहरू देखिन थाल्छन् जतिबेला पूजारी राहवले उसैलाई राजाको हत्यारा भएको ठहर गर्छ । सधैं अरूको भलाइ र सत्यको बाटो हिंड्न चाहने स्वाभिमानी इडिपसका आत्म बचाउका वाणीहरू एकाएक ज्योतिष पूजारीप्रति वर्षिन्छन् । ऊ ज्योतिष र क्रियोनलाई शङ्काका आँखाले हर्छ र दण्ड दिने निर्णयमा पुग्छ । देशवासीको आग्रहमा रानी योकाष्‍ठाले इडिपसको समस्यालाई समाधान गर्ने पहल गर्छे ।

       याकोष्‍ठाले राजा लायसको हत्या भएको सन्दर्भ खोल्छे । उसका कुराले इडिपसको मनमा चिसो पस्छ । याकोष्ठाले भनेजस्तै पात्रलाई उसले तीनवटा बाटाको बीचमा मारेको हुन्छ । प्रत्यक्षदर्शीको रूपमा बचेको एउटै पात्रलाई बोलाउन लगाइन्छ  । यस्तैमा अर्को देशको दूत बनेर एउटा गोठलो आइपुग्छ । इडिपसका बाबुको मृत्यु भएको र इडिपसलाई त्यो देशको राजा बनाउने उद्देश्यले लिनलाई ऊ त्यहाँ आएको हुन्छ ।

       आफ्नो बाबुलाई आफ्नै हातले  मार्ने र आमासँग बिहे हुने आफ्नो भविष्यवाणी सुनेको इडिपस त्यही नकामबाट बच्नको लागि आफ्नो देश छोडेर भागेको हुन्छ तर आज बाबुको मृत्यु कालगतिले भएको कुरा सुन्दा ज्योतिषिहरूप्रति घृणा गर्छ । तर त्यतिनै बेला गोठालोले इडिपसको वास्तविक आमाबाबु ती नभएको र सानैमा थीवकै गोठालोले आफूलाई दिएको बच्चा ती निसन्तान राजदम्पतिलाई सुम्पेको कुरो सुनाउँछ ।

       यता लायसको गोठालोले पनि रानी याकोष्ठाको आदेशअनुसार उनकै हातबाट उनीहरूको सन्तानलाई मार्न लगेको तर मार्न नसकेर त्यही गोठलोलाई सुम्पेको कुरो सुनाउँछ । दुई गोठालाका कुरा मिलेपछि इडिपसले थाहा पाउँछ, लायस (आफ्नो बाबु)लाई उसले आफ्नै हातले हत्या गर्‍यो र जुन कोखबाट आफू जन्मियो त्यही कोखमा आफ्ना सन्तानकालागि बीऊ रोप्यो ।

       वास्तविक भोगाइको भूकम्पले गर्ल्यामम् ढल्छ इडिपस । ग्लानिबोध र पीडाले छट्पटिन्छ, चिच्याउँछ, रुन्छ, मूर्छा पर्छ । आफ्नै जीवनलाई बारम्बार धिक्कार्छ, ईश्‍वरलाई पुकार्छ तर उसको जीवनमा शान्तिका सबैबाटाहरू उसकै कुकर्मका पहिराले खसालेका छन् । चारैतिर अन्धकार देख्छ । यी अवसादका बादलले घेरिएको जीवनको अर्को बिहान हेर्न चाहन्न । ऊ खोपीमा आत्महत्या गरेकी याकोष्ठाको लाशमुनि खसेका उसका किलिपले आफ्ना दुवै आँखालाई वारम्वार घोचेर रक्ताम्य पार्छ इडिपस । 

       इडिपसले जुन भूल नगर्न जीवनभर भागिरह्यो आखिर त्यही भूलले उसको जीवन नरक बन्यो । इडिपसको व्यक्तित्व र वुद्धिमत्ताले पनि उसलाई जीवनभर राम्रो र सुन्दर कामका लागि प्रेरणा दिइरहे तर आखिर ऊ त्यही व्यक्तित्व, बुद्धिमत्ता र क्षमताले भड्खालोमा जाकियो । आखिर नियतिले मान्छेलाई किन यसरी घुमाइरहन्छ ? इडिपसले जीवनभरि जे नहोस् भन्ने चाह्यो र बचिरह्यो उसको जीवनमा त्यही भयो र त्यसको वरिपरि फसिरह्यो, जुनकुरा नियतिले चाह्यो । के मान्छे नियतिबाट कहिल्यै टाढा हुन सक्दैन ? के जीवन मात्र नियतिको खेल हो ? इडिपसले देखाएको बहादुरी, बुद्धिमत्ताले उसको जीवन किन क्षणिक रूपमा मात्रै सुखी भयो ? किन जीवनमा सुखभन्दा दु:खकै क्षणहरू बढी छन् ?

       जीवनको  अन्त्य कसले देखेको छ ? आज सुखले  हाँस्नेहरूको भोलिको स्थिति के हो ? आज सत्ताको मोहमा  जीवनको उन्माद मनाउनेहरू  के भोलि इडिपसझैं पीडा र ग्लानिबोधले जीवनबाट भाग्नुपर्ने हुन्छ ? समस्याका बादलले इडिपसको जीवनलाई जसरी घेरिरहेको छ, के हाम्रो जीवन त्यो अवस्थाबाट अछुतो छ ? इडिपसको जीवनपीडाका मुश्‍लाहरूसँगै आम दर्शकका मनमा उब्जिने प्रश्‍न हुन् यी ।  

         जीवनमा जानी जानी कहिल्यै  नराम्रो गरेन इडिपसले तर नजानी नजानी गरेका भूलहरूले उसको पतन भयो । उसले गरेका अपराधहरू क्षम्य थिएनन्, तर उसले नजानी गरेको भए पनि त्यो अपराधको भागिदार आफूलाई बनायो । यहींनेर सम्पूर्ण दर्शकको सहानुभूति पोखिन्छ उसमा । उसका अन्तिम अवस्थाका पीडादायी क्षणहरू सेविकाको भूमिका निर्वाह गरेकी सरिता गिरीका आवाज र अभिनयमा कति जीवन्त हुन्छन्, सायदै कुनै दर्शकको आँखा ओभाना रहलान् ।

       सँगै  बस्नुभएका मेरा पतिको चस्माभित्र टल्किरहेका आँखाहरू मौन बोलिरहन्छन् । आमाको आँखामा हेर्ने साहस गर्दिनँ म । अलिपर बस्नुभएकी दिदी अरूणा उप्रेतीका हातहरू बारम्बार आँखाका कोशमा डुलिरहन्छन् । अनुमान गर्छु, अलिपरको आसनमा साथी सुस्मिता र मञ्जुल दाइ पक्कै भावविह्वल होलान् अरू दर्शकहरू झैं । पीडाका सुस्केराहरू सुइइ... सुइइ... आइरहेका हुन्छन् सन्नाटाको स्तब्ध समयलाई चरर चिरेर ।

       डेड घन्टाको बसाइ एक क्षणमा सकिन्छ । हपहपी गर्मीले तिर्खाएको मनले झोलामा राखेको पानीको बोतल पनि सम्झिन्न । बरू इडिपसको अभिनयमा जीवन्त बाँचेका सौगात मल्ललाई खोजिरहन्छन् मेरा आँखाले ।

       बाहिरको शीतल हावामा पुगेपछि दर्शकसगै मिसिन आएका पात्रहरूमा इडिपसलाई खोजिरहन्छु । याकोष्ठा बनेकी  अरुणा कार्की मुस्कुराउँदै आइपुग्छिन् । विष्णुभक्त फुयाँल आफ्नो अभिनयको दीर्घ साधना गालाका गहिरा धर्साहरूमा लिएर दर्शकको बीचमा उभिरहेको देख्छु । क्रियोन बनेका प्रवीण खतिवडा भाइ मुस्कानका किरणमा हाम्रो अगाडि छरिन्छन् र सबैका शुभकामना बटुल्छन् । अन्य पात्रका आँखामा अझै पनि पीडाको पानी टिल्पिलाएको महसुस गर्छु । तर देख्दिन इडिपसलाई ।

       “सुनिल दाइ इडिपसलाई बोलाउनुस् न ।” मेरो आवाज खसेको केही मिनेटमा सौगात आउँछन् । मैले उनका उज्याला आँखालाई हेर्छु, हेरिरहन्छु केही बेरसम्मै । उनको घुम्रेको सुनौला कपाललाई मनको हातले सुम्सुम्याउँछु, स्नेहले । “कति राम्रो, यो तपाईँको आफ्नै कपाल हो ?”

       “हो, अलिअलि घुमारेको हुँ, यही नाटकको लागि पालेको ।” अरुणा दिदीले विश्‍वास गर्नुहुन्न क्यारे, तान्नै पो पुग्नुहुन्छ । हाँसोको फोहरा छुट्छ ।

       “कति जीवन्त अभिनय रहेछ भाइ तपाईँको...” कुरा त गर्छु तर अघिको पीडाले मलाई उति खुल्न दिंदैन । सौगात मरो प्रश्‍नअनुसारका धेरै कुरा बताउँछन् तर उनका आँखामा चम्किएको ज्योतिलाई मात्रै बुझिरहन्छु म ।

       सौगातको अभिनयको सौगात मनभरि लिएर फर्किने तरखर गर्छु तर इडिपसको अभिनयमा भोगेको यो पात्रको पीडाले मलाई केही दिन हाँस्न पनि दिनेछैन । फर्किंदै गर्दा देख्छु, इडिपसको अनुहारमा उदाएका सौगातका निश्छल र सुन्दर आँखाहरू अहिले पनि उसैगरी नाचिरहेछन् मेरो मनभरि । आफैंलाई सोध्छु, यति सुन्दर जीवनको प्रेमिल अनुभूतिमा यी क्रूर पीडाहरू किन जन्मिन्छन् हँ ?

       rajanidhakal@yahoo.com

       उपप्रध्यापक, पद्मकन्या बहुमुखी क्याम्पस