हिंड बैनी घर जानुपर्छ
 

प्रमिला शर्मा
डेनभर

 

हिंड बैनी घर जानुपर्छ

रोएर मात्र अब के मिल्छ?

आमाको प्राण सर्रर उडी गो

मृत शरिरलाई डढाउनु पर्छ

हिंड बैनी घर जानुपर्छ

 

गंगा र जमुना आँखा बनी गो

चिता जल्दा आँसु खसी गो

आमा शब्दको न्यानो उडी गो बैनी

एकअर्काको अंगालो अब चाहिन्छ

हिंड बैनी घर जानु पर्छ

 

आँसु बगाई कहाँ जिउन सकिन्छ?

तिमी मलाई हेर, म तिमीलाई हेर्छु

आमाको आँखा बैनी, तिमीमा म देख्छु

आमाको आत्मा भगवानमा बस्छ

हिंड बैनी घर जानु पर्छ

 

मुटु शिशाझैं अब फुट्न थाल्यो

असारे बादलझैं नयन भै हाल्यो

मन जति सम्हाल्छु, झन विह्वल हुन्छ

विधाताले जे भन्छ, उही सहनु पर्छ

हिंड बैनी घर जानु पर्छ