हामी भित्ताहरु सुन्न थालेका छौं

कृष्ण प्रसाई, काठमाण्डौ


मैले भित्तासँग सुटुक्क भनेँ-
मान्छेहरु भन्छन् तिम्रो पनि कान हुन्छ रे हो
भित्तो बोलेन मौन रह्यो
मैले पुनः भन्दै गएँ
भन्दै रहेँ बारम्बार-
भन्थे भित्ताले सुन्दैन भनेर !
भित्ताले सबै सबै सुन्दै गयो
भन्थे भित्ताको आँखाले देख्दैन भनेर !
भित्ताले सबै देख्दै र बुझ्दै गयो
भित्तो उसको आफ्नै भाषा बोल्दै थियो
तर कसले भन्छ मैले भित्ताको भाषा बुझिनँ भनेर
घन्टौंसम्म उसले भन्दै गयो ।
भित्ताको चुनौति मेरै जमात विरुद्धको थियो ।
यसर्थ कि मेरो जात मान्छे थियो
र ऊ सम्पूर्ण मान्छेको अस्मितामा धावा लगाइरहेथ्यो
भित्ताले भित्तासँग कहिल्यै मृत्यु भोगेन रे !
भित्ताले भित्ताको कुनै अंश पनि चोरेन रे ! !
र भित्ताको अदालतमा कुनै मुद्दा नै छिरेको छैन रे ! ! !
भित्ताको जिकिर थियो
मान्छेको कुरा मान्छेले सुन्न छोडेका छन् ।
मान्छेसँग मान्छेले बुझ पचाउन थालेका छन् ।
र मान्छेसँग मान्छेले ज्यादतिसमेत भोगेका छन् ।
क्रमशः भित्तो भन्दै गयो
चेतनाको विरुद्ध
सृष्टिको विरुद्ध-
मान्छेका लागि भित्ताहरु नै पर्याप्त भए पछि
आज-भोलि
हामी भित्ताहरु बोल्न थालेका छौं ।
हामी भित्ताहरु सुन्न थालेका छौ ॥