दुर्गा दिदी, गुलाफ र साहित्य
रजनी ढकाल
धापाखेल
छुट्टिने बेलामा दुर्गा दिदीले भन्नुभयो,
“आउनुस् न कविज्यू, म
तपाईँलाई गुलाफको फूल देखाउँछु । यति राम्रो फुलेको गुलाफ तपाईँहरूलाई त देखाउनै
पर्छ ।”
पृष्ठभूमिमा रातो रङको घर मुसुक्क मुस्कुराइरहेको थियो, डुब्नै लागेको घामको किरण
अनुहारभरि पोतेर । हाम्रा अगाडि थियो रङ्गीचङ्गी बगैंचा, अनि त्यो भन्दा अगाडि, अलि
तल थियो चुपचापसँग थुपुक्क बसेको त्रिभुवन विश्विद्यालय र अझ त्यो भन्दा अगाडि,
टाढा थियो काठमाडौं शहरको भीडभाड र कोलाहलमय, तर अमूक उपस्थिति !
ओहो ! कति धेरै थुङ्गाहरू एउटै हाँगामा,
हामीलाई पनि यसको कटिङ् राखिदिनुस् है !”
मञ्जुल दाइ र सरोज दाइ अनुरोधमा त्यही फूलझैं लाग्दै हुनुहुन्थ्यो । सुलोचना दिदी र
सु्स्मिताले पनि भनिहाले, “यो
गुलाफ त लानै पर्ने रहेछ ।”
पहिलेदेखिनै त्यसैगरी फक्रिरहेको मेरो बगैंचाको
गुलाफलाई सम्झिएँ मैले ।
“यस्तो गुलाफ मेरो बगैंचामा पनि छ । हो यो
यसैगरी फुल्छ दिल खोलेर ।”
मैले भनें तर गुलाफ अचम्मैसँग फुलिरहेको थियो मेरो विश्वासलाई पनि उछिनेर । नीलो
आकाश र छ्याङ्ग लागिरहेको साँझको घाम पनि फूल जस्तै सुन्दर लागिरहेका थिए मलाई
त्यतिबेला ।
एउटै हाँगामा पच्चीस तीसवटा जति थुङ्गाहरू एकै ठाउँ
गुजुमुजु परिरहेका थिए । फुल्नुको पराकाष्ठा थियो गुलाफमा । त्यसै समयमा भने मेरो
मनमा अर्को गुलाफ मुस्कुराउन थालेको थियो, आजको भेटघाटको साहित्यिक गुलाफ ।
हामीले झण्डै छ घण्टाको रमाइलो समय बिताएका थियौं
त्यहाँ । जगदीश दाइ र दुर्गा दिदीको घरमा यो मेरो दोस्रो भेट थियो ।
भगवान्को प्रसाद खाने संयोगमा मेरै घरमा पहिलोपल्ट
भेटिनुभएकी दुर्गा दिदी आज भोजन र भजनमा भगवान्कै प्रसाद लागिरहनुभएको थियो ।
भगवान्प्रतिको उहाँको भक्तिले निकै छोयो हामी सबैलाई । कार्यक्रमको अन्त्यमा भजन
गाउँदाको उहाँको आवाज अहिले पनि उसैगरी कानभरि गुञ्जिएको छ । भोजनको मीठास जिब्रोमा
उसैगरी झुण्डिएको छ अनि उहाँको स्नेहले यो मन उसैगरी लफ्रक्क भिजिरहेकै छ । उहाँले
हामीलाई देखाएको आत्मीयता र मित्रता लेख्नुको छ तर म शब्दमा पोख्नै सक्दिनँ जस्तो
लाग्छ ।
समाजसेवामा आफ्नो जीवन समर्पण गरेकी, साहित्यमा पनि
कलम चलाएकी तर एक कुशल गृहिणी भएर आजको हाम्रो भेटलाई फूलजस्तै सुन्दर बनाएकी
दुर्गा दिदीको आतिथ्यलाई वर्णन गर्न अहिले मसँग मेरो मन मात्रै छ । त्यो स्नेहले
चुल्याएको अनुभूति मात्रै छ ।
ठिक्कको उचाइ भएको खाइलाग्दो जीऊमा लपक्क बेरिएको
साडी, गहुँगोरो गोलो अनुहार, घुम्रिएको कपाल र चम्किला आँखाले मेरो नजरमा एउटी
नेपाली महिलाको सही रूप उतारेको थियो, दुर्गा दिदीको । तर एउटी ममतामयी र स्नेही
आमाको रूपले दिदी झन् मजाले छोपिनु भएको रहेछ ।
“यो मेरी बुहारी पूजा, कान्छी छोरी जस्तै छे”
उहाँको बोली मात्रै हैन व्यवहार पनि उस्तै लागेको थियो मलाई ।
“जाऊ तिमी परीक्षाको लागि
तैयारी गर, यहाँ मै गरिहाल्छु नि”
दुर्गा दिदीको आमा आवाजले बोलिरहको थियो हँसिली पूजालाई । पूजा झन् छोरीझैं लटुपुटु
गरिरहेकी थिइन् । घरि भान्सा र घरि हाम्रो आतिथ्यमा ।
त्यसैगरी उहाँहरूकी छोरी जूनले हामीलाई जूनले जस्तै
शीतल र उज्यालो नमस्कार टर्क्याएर ओझेल परेकी थिइन् छिट्टै ।
कविहरू आफ्नो रचनाप्रति कति आग्रही हुन्छन् । आफ्नो रचनालाई कसैले केरमेट गरिदिंदा
के भन्दा होलान् ? के एउटा कविले अर्को कविको आग्रह सहजै स्वीकार्छ, त्यो पनि आफ्नो
सिर्जनामा ? मेरो मनमा प्रश्नहरू थिए । आजको भेटघाटमा यस्तै छलफलको योजना थियो ।
आजको भेटघाटको उद्देश्य एक अर्काको विचार र अनुभूतिको साटासाट थियो ।
“हैन जगदीश तिमीले यो वाक्य नराख । हेरन यो
शब्द यो कवितालाई सुहाउँदैन । यसलाई फेरि तिमी लेखन है ।”
मञ्जुल दाइ मित्रवत् गुरु बनिरहनुभएको थियो । कति मायालु सम्बन्ध । कति आत्मीय
मित्रता ! अनि जगदीश दाइले उहाँका कुरालाई एक एक स्वीकारी रहनु भएको थियो । कति
विनम्रता ! मित्रतामा यति धेरै विश्वास र विनम्रता आजै देखें मैले । जगदीश दाइले
आफ्ना काट्न लगाइएका शब्द र वाक्यहरूप्रति कुनै बचाउ गर्न चाहनुभएन । मानौं ती
उहाँको अनिक्षामै जन्मिएका थिए ।
एउटा कविले अर्को कविलाई सिंगारिरहेको, अझ बढी
लयात्मक बनाइरहेको । साँच्चै जगदीश दाइको अग्नि सूत्रको आफूले लेखेको भूमिका पनि
सुनाउनुभयो मञ्जुल दाइले । जगदीश दाइसँगै उहाँले पनि कविताहरू गाउँदै हुनुहुन्थ्यो,
भूमिकामा ।
सुलोचना दिदी र सरोज दाइको प्रवेशले कार्यक्रमलाई
अझ बढी सुगन्धित बनाउन थालेको थियो । कोठाको टेबुमाथि राखिएका फूलदानी अनि
साइबाबाको पूर्णकदको फोटो अघिल्तिर सजिएका ससाना फूलहरूले कार्यक्रममा अझ बढी मिठास
थपिरहेको थियो । पार्केटिङ् गरिएको फराकिलो कोठा, आकर्षक चित्रहरू र परिवारका
सुन्दर फोटाहरूमा अल्झिंदै थियो मेरो मन ।
बैठक कोठाबाटै देखिने डाइनिङ रूममा सजाएर राखिएका
भाँडाकुँडा र फलफूलहरूको आकर्षण छुट्टै थियो । साहित्यको बारेमा कही छलफल र बहसपछि
दुर्गा दिदीले हामीलाई डाइनिङ टेवलतिर जाने आग्रह गर्नुभयो । जगदीश दाइले दिदीलाई
मीठो व्यङ्ग्यले जिस्क्याउनुभयो, “के
गर्ने यहाँ आइमाईकै शासन चल्छ।”
“यस्तो मलाई मनपर्छ पनि भन्नुस् न”,
मेरो मुखमा छिट्टै झुण्डिन आइपुगेको थियो जवाफ । सबै जनामा हाँसोको लहर फैलियो ।
सरोज दाइले मतिर आँखा तान्दै सहमति जनाउनुभयो, “मैले
पनि यही कुरा भन्नै लागेको थिएँ ।”
ओहो ! डाइनिङ टेबुलमाथि के थियो ? हैन के थिएन ?
दहीबाडा, सेवईँको खीर, काँचो आँप र पुदिनाको गुलियो जुश, अचार, आलु र कुरिलोको
तरकारी, आँप, खरबुजा...। यी सबैभन्दा मीठो थियो दुर्गादिदीको पाहुनालाई खुवाउन
चाहने मीठासपूर्ण औडाह । महिला जातिको ममतामयी संस्कार थियो उहाँमा । हामीले खायौं
। मज्जाले खायौं । मीठो कुरालाई मीठो मानेर खायौं । त्यहाँ खानुमा मजा थियो ।
खुवाउनुमा झन् मजा थियो ।
डाइनिङ रुमको दायाँ भागतिर झुण्ड्याइएको एउटा
वस्तुमा गएर मेरा आँखा अडिए । गोलो आकारको नाङ्लो जस्तो वस्तुमा गोलै तरिकाले
लेखिएको थियो, उत्तम शान्ति पुरस्कार २०६४ । जगदीश दाइको अन्तर्मनको यात्राको लागि
थियो यो पुरस्कार । निकै मीठो गर्वले झुण्डिरहेको । त्यसको सिधा अगाडि बसिरहनु भएको
थियो जगदीश दाइ राष्ट्रिय अन्तर्राष्ट्रिय खाने तरिकाहरूको चर्चा गर्दै । सँगै
बसिरहनु भएकी दुर्गा दिदी खाना कम भएका भाँडामा खाना थप्न आतुर देखिनुहुन्थ्यो ।
“यो दहीबाडा मैले बनाएको, सेवईँको खीर
बुहारीले बनाएकी...”
कहिले खानाको त कहिले बुहारीको प्रशंसामा हुनुहुन्थ्यो दिदी । पूजा पनि छोरीझैं
सँगै बसेर मुस्कुराउँदै खाँदै थिइन् ।
“अरू पनि आँप काट न”
जगदीश दाइ शेर्पा शैलीको खाने तरीका सुनाउँदै गर्दा उस्तै बन्न लाग्नुभएको थियो ।
हाम्रा पेट टनाटन भैसकेका थिए । सहयोगी दिदी र बहिनी कति छिटा थिए । आँप त फेरि आयो
। तर सबैको सल्लाहले त्यसलाई पछिको लागि राखियो ।
हामी सबै पुन: आआफ्नै आशनमा आइपुग्यौं ।
“अब कविता पाठ गर्न सुरू गरौं है ।”
जगदीश दाइले कविता सुनाउन आग्रह गरेपछि सरोज दाइका
चश्माभित्रका ठूल्ठुला आँखाहरू बेस्सरी टल्किन थालेका थिए । उहाँको आँखाको गहिरो
पोखरीमा दर्शनको गहिराइ लिएर चुर्लुम्म डुबेका थिए कविताहरू । केही कविताहरू
सुनाएपछि उहाँले हामीलाई अर्कै रचना सुनाउन आफ्नै ल्यापटप खोल्नुभयो
।
‘वाइ इ एस’
शीर्षकको मीठो संस्मरण सुनाउनुभयो सरोज दाइले । त्यसको विषयवस्तु, कला र शैलीले
मेरो शरीर थरर काँप्यो । वाह ! यस्तो पो संस्मरण ! एउटा चिकित्सकको संवेदनशील
हृदयले लेखेको त्यो संस्मरणले वाचन गर्दै गर्दा सरोज दाइका आँखा पनि सजल भए । कति
मीठो सुरुवात, कति मीठो अन्त्य, अनि कति मीठो वाचन कला ! एउटा वरिष्ठ लेखकको रचना
उसैको मुखबाट सुन्नुको सौभाग्यले सिंगारिएका थियौं हामी । हाम्रा कानहरू यस्ता
रचनाका लागि अझ आतुर थिए ।
सरोज दाइको मीठो प्रेममा सुलोचनाबाट छोटिएर ‘सुलो’
बनेकी दिदीका छोटा कविता उत्तिकै चोटिला र मर्मस्पर्शी थिए । क्याकटस र बाटो
कविताले सबैको मन मजाले तानिएको थियो । उहाँको प्रस्तुति झन् मीठो थियो ।
जगदीश दाइले नाकमाथि अडिएको सानो चश्माको माथिल्लो
फ्रेम बाहिरबाट गहिरो नजरमा उक्साउँदै हुनुहुन्थ्यो,
“अझैं सुनूँ न । राम्रो छ ।”
सुनाउने पालो घुम्दै सुस्मितामा आएर टाँसिएको थियो
। उनी सुनाउँदै जाँदा विनम्रताको सुन्दर हृदयको तालमा आएर खसिन् । मेरो मन पनि उनको
तालमा डुबुल्की मरिरह्यो । दुर्गा दिदीले उनको कविताको तालमा मीठो प्रशंसाको छाल
फैलाइदिनुभयो । सुन्दर तालीको आवाजले सुस्मितालाई बिदाइ गर्यो अनि पालो ममा सर्यो
।
अतीतको संस्मरणको सानो अंशले छोपेको थियो मलाई ।
त्यो भन्दा बढी छोपेको थियो, अग्रज दाजु र दिदीहरूको आदरणीय उपस्थितिले । किन हो
कुन्नि मेरा हात मज्जाले काँपिरहेका थिए त्यो संस्मरण सुनाउँदा । धरै स्नेहले पनि
काँप्ने रहेछ मान्छे । निचोडमा मैले यही कुरा निकालेकी थिएँ मनमनै।
मञ्जुल दाइलाई कविता कण्ठाग्र थियो । उहाँको
कविताले घरि डेभिज फलमा नुहायो, घरि गाउँको मायामा बाँडियो त घरि विदेश घुम्दै
स्वदेशको सम्झनामा डुल्यो । उहाँको कविता वाचन कलामा झन् सुन्दरता थियो ।
जगदीश दाइले अग्नि सूत्रका विभिन्न सूत्रहरू
फुकाउनुभयो । कविता बाचन मीठो थियो । अझै मीठो बनाउन चाहनुभयो मञ्जुल दाइले ।
त्यसैले जगदीश दाइको हातबाट पुस्तकै खोसेर उहाँको एउटा कविता आफैंले वाचन गर्नुभयो
। हामी हास्यौं । हेर्दा लागिरहेको थियो, आफ्ना भन्दा अरूका कविता वाचन गर्न मजा
लाग्दोरहेछ मञ्जुल दाइलाई । त्यहाँनेर मित्रताको मिठास बढी थियो ।
“फेरि एक पटक चिया खाने कि ?”
हिमाल जस्तै उज्यालो अनुहारमा गहुँगोरो वर्णका खाइलाग्दा हिमालले सोध्नुभयो ।
मातापिताको रमाइलो जमघटलाई कत्ति पनि नबिथोलिकन टाढैबाट अलग्गै सोधिरहनुभएको थियो
हिमालले । कस्तो प्रेम ! पारिवारिक प्रेम । मैले सोचिरहें सबैजनाले पाहुनाको कति
वास्ता गरेका । मातापिताको सपनालाई कति बुझेका ।
“अब त पुग्यो, नखाने ।”
सबै पाहुनाको आवाज एउटै आयो ।
सुनाउने पालो घुम्दै दुर्गा दिदीमा आइपुग्यो । हामी
त्यहाँ पुग्ने बित्तिकैदेखि उहाँले आज म भजन सुनाउँछु है तपाईँहरूलाई भनिरहनु भएको
थियो ।
साइबाबाको अघिल्तिर राखिएको किबोर्डमा औंलाहरू
चलाउँदै मीठो भजन सुनाउनुभयो दिदीले । पहिलो भेटदेखिनै अनि अन्तर्मनको यात्रादेखिनै
मैले दिदीमा अनौठो शक्ति देखिरहेकीं थिएँ । उहाँको भगवान्प्रतिको आकर्षण अनौठो
थियो । साँच्चै उहाँ त भगवान्सँग प्रार्थाना गरेर कालको मुखमा पुगेका पतिको
पुनर्जीवन ल्याउने सावित्री नै हुनुहुन्थ्यो । दिदीको मुखबाटै सुनेका उहाँका जीवनका
घटनाले मलाई त्यही अर्थ मिलिरहेको थियो । तिनै भगवान्प्रतिको आफ्नो समर्पण फेरि
गाउनुभयो आज दिदीले । हाम्रा कान पवित्र भए । अनि हाम्रो उपस्थिति र कार्यक्रम पनि
झन् पवित्र भयो ।
दुर्गा दिदीको आग्रहमा गुलाफको फूल हेर्न पुग्दा
घडीले छ बजाइसकेको थियो । ग्रीष्मका लामा दिन भएकाले सूर्य अझै पनि पश्चिम आकाशमा
थियो । आफ्ना नरम किरणहरूले घर, बगैंचा, बन र बाटोलाई सुम्सुम्याइरहेको थियो ।
परैसम्म आउनुभयो दाइ र दिदी । आजको दिन उहाँहरूको
सत्कार र रमाइलो जमघटले टुङ्गिएको थियो । फेरि भेट्ने वाचा गर्दै हामी छुट्टियौं
। मेरो एक टुक्रा मन त्यतै घरका सुन्दर कोठा र बगैंचातिर डुलिरहेझैं लागेको थियो ।
सल्लाको सानो बनलाई दाहिने पारेर सरोज दाइको गाडीमा
हुइँकियौं हामी । सरोज दाइ र सुलोचना दिदीको सवारीले हामीलाई स्नेह र आदरले समेटेको
थियो । कस्तो संयोग थियो आज, बिहान जाँदा पनि कार्यविनायकको दर्शन गरेर फर्केका
रिता, उनका श्रीमान् रुद्र र छोरी सिजु मञ्जुल दाइको घरमै आइपुगेका थिए ।
रुद्र भाइको स्यान्ट्रोले हामीलाई आदरसाथ चुपचाप
लिएर हिंडेको थियो उसैगरी । कालो गाडीबाट हामी त्यही हरियो बनको कालोपत्रे सडकमा
खुशीसाथ छोडिएका थियौं । रिता र सिजुको सुन्दर अनुहारले हामीलाई दिनभरिको उज्यालो
मिठास दिएको थियो । अझ रिताले रुद्रसँगको प्रेमिल सम्बन्धको रहस्य खोलेर हामीलाई
चकित बनाएकी थिइन्, “लभ
गरेका ती दिनहरूमा यो बन पनि हाम्रो साथी बनेको थियो नि !”
सल्लाका सुरिला रूखहरूले मुस्कुराउँदै उनको संवाद सुनिरहेका थिए । हाम्रो हाँसोको
फोहरासँगै उडेको मायालु बतासको एक झोक्का रुखका पातपातमा काउकुती लगाउँदै उडिरहेको
थियो ।
छोराहरू सम्झिएर घर फर्किंदै गर्दा त्यो यात्राको
संयोग, साहित्यिक वातावरण, बगैंचाको गुलाफ र दुर्गा दिदीको स्नेह सबै पर्याय
लागिरहेका थिए मलाई । सबै चिजमा उस्तै सुन्दरता थियो, अनि सबैका मनमा उस्तै सुन्दर
भावना थियो ।
२०६५/२/२५