लघुकथा घांटी हेरी हाड निल्नु


सुषमा मानन्धर
ललितपुर
mdhsusma@yahoo.com


"यसपालि त गज्जबले नै दशैं मनाउनु पर्छ" ऊ सवैसंग भन्दै थियो । "किन र सरकारले तलब बढाइ दिएको झोंकमा हो कि क्या हो ?"  दुइचार जनाले उसलाई व्यंग्य गर्दै सोधेका पनि थिए । "बढ्न त बढेकै हो नि चाहे जति बढोस् ।" तलब बढ्नुको यथार्थसंग संगसंगै हान्निएर चुलिने महंगी अर्को कटु यथार्थ हो । यता तलब बढ्छ उता भाउ हिसाब किताब बराबर ।

तैपनि दशैं जस्तो ठूलो चाड कसरी नमनाउने ? केटाकेटीहरु रमाउंदै घरभरी गीत गाएर हिँड्न थालिसके । उसको गज्जबको दशैं कस्तो हुने हो कसैले भेउ पाएका छैनन् ।

"लौ लौ केटाकेटी हो, खड्कुलो ठीक पार । पानी पनि तताउन बसालिहाल । पूजा गरेपछि काटकुट गरी पकाई हाल्नुपर्छ ।"  उसकी श्रीमतीले मसला पिँधेर ठीक पारिन् । केटाकेटीहरु सव हात बांधेर उत्सुकताले पर्खिरहेका छन् । "एक दुइ तीन… … "  उसले एकै मारमा छिनायो । केटाकेटीहरुले गलल हांस्दै थपडी बजाए । डमरु बज्यो । शंख फुकियो । उसले पखालपुखुल काटकुट गरिदियो । श्रीमतीले तेल मसला राखेर झोल हालेर पकाइन् । उसले देवीलाई अलिकति तर्पण गर्यो अनि भातसंग मोलेर ग्वाम ग्वाम खायो । केटाकेटीहरुले पनि रमाई रमाई यसपालि ढालेको फर्सिको मासु थपी थपी खाए । "अब सधैं यस्तै गज्जबको दशैं मनाउनु पर्छ, टेन्शनै साफ ।"