गरिबको व्यथा

नम्रता केसी
हाल -  डेविड बिसोफ ब्राउन स्कुल, वोकिंग, लन्डन
 
संसारमा कोही धनी हुन्छन् कोही गरिब । धनी यो शब्द नै कति आकर्षक छ । धन हुनेहरु कत्ति सुखसयलमा दिन बिताइरहेका हुन्छन् । अनि गरिब यो शब्द कति मार्मिक छ । धन नहुनेहरु कत्ति दुःखमा आफ्नो जीवन काट्छन् ।

यही प्रसङ्गमा हामी पहाडी जिल्लाको एउटा नौडाँडा भन्ने गाउँमा जाऊँ जहाँ दुई आमाछोरी बस्थे । उनीहरु निकै गरिब थिए । बिहान-बेलुकाको छाक टार्न पनि धौ-धौ  पर्थ्यो । बिहान के खायो त बेलुका के खाऊँ हुन्थ्यो । उनीहरुसँग भएको सम्पत्तिको नाउँमा एउटा झुपडी र सामान्य सरसामान मात्र थियो । लुगाफाटो पनि ठाउँ-ठाउँमा च्यातिएका र टालिएका थिए ।

आमा रोगी थिइन् । एकदिन आमाले छोरीले काम गरेकी हेरिरहेकी थिइन् । काम सिद्धिएपछि छोरीले आमालाई प्रश्न गरिन्-  'आमा, हामी मात्र किन गरिब भएको ?'
एकछिन आमाले ट्वाँ परेर छोरीलाई हेरिरहिन् । अनि त उनको आँखाबाट आँसुका धारा बग्न थाले । आफूलाई सम्हाल्दै उनले भनिन्-'तं ठूली भएपछि सबै कुरा थाहा पाउँछेस् ।' तर छोरीले 'कसरी हो अहिले नै भन्नुहोसू' भनिन् । आमाले भनिन्- 'तिम्रो बुबाको मृत्युपश्चात् गाउँको मुखियाले चुक्ता गरिसकेको ऋण पनि फेरि षड्यन्त्र गरेर बाँकी छ भन्दै हाम्रा भएभरका सम्पत्ति लुटेर लग्यो । पछि बुबाको मृत्युपश्चात् मैले धन कमाउन सकिँन र उपचार समेत गर्न सकेको छैन । म काम गर्न सक्दिँन त्यसैले केही कमाइ छैन र हामी यत्ति गरीब भएको ।'

छोरीले भनिन् -'आमा म धेरै पढ्छु र तपाईलाई सुखसँग पाल्छु ।'  तर गरिबीका कारण आमाले त्यो इच्छा पूरा गर्न सकिनन् । त्यसपछि उनकी छोरी गाउँमा भएको विद्यालयमा जान लागिन् र कक्षाबाहिरबाटै भित्र सिकाएको हेर्दै बाहिर गोलले विद्यालयको आँगनमा लेख्न सिकिन् । यसरी नै तिनले अक्षर पढ्न जानिन् । त्यसपछि अरुले फालेको कापीको पानामा बाँकी भएको खाली ठाउँ छानेर ठूटो कलमले लेखेर अरु पढाई बढाउन लागिन् । उसलाई यस्तो गरेको एक शिक्षकले देखे र खुशी हुँदै तिनलाई किताब कापी कलम प्रदान गरे । पछि पढ्दा पढ्दै तिनी एकदमै ज्ञानी र विद्वान् भइन् ।
 
उनले गाउँमा सबैलाई शिक्षाको महत्वका बारेमा सल्लाह दिइन् र आफ्नै गाउँको विकासका लागि गाउँकै विद्यालय शिक्षिका भई काम गर्न लागिन् । यसले तिनको आमालाई एकदमै हर्षित तुल्यायो । पछि आफ्नो सम्पत्तिमा आँखा गाड्ने मुखियाको कालो नियतबारे गाउँलेहरुलाई तिन्ले बताइन् र सबै गाउँलेहरुको मद्दतबाट ती फिर्ता पाउन सफल भइन् ।

गाउँमा तिनले अरु धेरै काम गरिन् । तिनकै मेहनत र लगनशीलताले गाउँको विकासमा ठूलो टेवा पुग्यो । हिजोआज उनको मेहनतको गाउँलेहरु सबैले धेरै प्रशंसा गर्छन् र उनलाई पनि कदर गर्छन् । तिनी गाउँको रत्न नै बनेकी छिन् ।