गजल

किसान प्रेमी
किसानकुटी, भरतपुर टाउन
चित्तवन

देशको माटो उठाइ कसम खान्छु मलाई दोषी नसम्झे
शहीदलाई सँधैँ म महान् ठान्छु मलाई दोषी नसम्झे

सहन्न पीडा झुकेर कहिल्यै बरु यो शीर चढाइदिन्छु
यो जन्म धरति आमाको मुहार मान्छु मलाई दोषी नसम्झे

सिमाना खुल्ला देखेर यदि आँगनमा मेरो ओइरिन्छौ भने
उत्तरको हिमाल दक्षिणमा तानी लान्छु मलाई दोषी नसम्झे

कुर्लनसक्छ स्वार्थी पिपासु सहन्न म त अन्याय यहु
न्यायलाई खोज्न जहाँ जानुपर्छ जान्छु मलाई दोषी नसम्झे

म छुन दिन्नँ यो देशको शान नेपाली हुँ म नेपालप्रेमी
देशको झन्डा उठाउने हात छान्छु मलाई दोषी नसम्झे