गजल



भूपेन्द्र महत,
कोलोराडो


भरियो सिउंदो तिम्रो जब, बेहोश भै म लडदै थिएँ
तिमी छल्कियौ आँखाभरी म छाती भित्रै डढ्दै थिएँ

थरथराएको हातले फुटेको मुटु निम्तामा दियौ
आँसुले रुझेका रछन थोपा थोपा म पढ्दै थिएँ

तिम्रो बाटो नदुखोस् कहिले शुभ कामना भन्नै पर्‍यो
एक्लो बाँच्नुमा दुखेको हाँसो तिमी सामु जडदै थिएँ

वरमाला तिम्रो हातमा, मेरो गलामा भार थियो
तिमी चढ्यौ डोली म जिउँदै चितामा चढ्दै थिएँ

गाँठो मुटुमा हाँसो ओठमा कस्तो समायोजन त्यो
बाहिर सग्लो देखिए पनि भित्र भित्रै सडदै थिएँ