यात्रा सँस्मरण:

फ्लोरिडाको यात्रा र स्मरणयोग्य क्षणहरु



मुकेश घिमिरे,
आर्लिङ्टन,  भर्जिनिया

फ्लोरिडा अमेरिकाको एउटा सुन्दर राज्य हो । त्यहाँका सुन्दर समुद्री तट र पार्कहरु हेर्न संसारका कुना-कुनाबाट धेरै मान्छेहरु आउँछन् । म पनि मेरो परिवार र साथीहरुसँग त्यहाँ पाँच दिनको भ्रमणमा गएको थिएँ । त्यहाँका समुद्रका तट र पार्कहरु निकै आकर्षक र रमाइला थिए । हामी गएकै वखत भानुजयन्ती परेकोले त्यहाँको नेपाली समुदायले आयोजना गरेको भानुजयन्तीमा हामीले पनि भाग लिने अवसर पायौं जुन अति रमाइलो र सम्झन योग्य क्षण रह्यो मेरो लागि ।

फ्लोरिडा जाने एक-दुई हप्ता अघि देखि म यो भ्रमणमा जान बहुत उत्सुक थिएँ । मलाई त्यहाँका आकर्षणहरु बारे थाहा थियो पत्रपत्रिका र इन्टरनेटमा हेरेको थिएँ । त्यसैले त्यहाँ जाने सोच लिएर म धेरै खुशी थिएँ । बिस्तारै हाम्रो जाने दिन नजिक आयो र हामी दुई परिवरका नौं जना भई जुलाइ ११ को बिहान ८ बजे घरबाट एयरपोर्टको लागि निस्क्यौं । म, निकेश भाइ, मामु, बाबा, मिलन अन्टी, हजुर आमा, सारा बहिनी, सुब्रत भाइ र सानी बहिनी सक्षम गरी नौ जना थियौं । त्यो दिन देखि पाँच दिन सम्म हामी दुई परिवार सँगसँगै घुम्ने भयौं । उडानको समय भएपछि हामी प्लेनमा चढ्नका लागि तयार भएर बस्यौं । उडान जम्मा एक घन्टा लामो हुने थियो सुब्रत र म सँगै बस्यौं । प्लेन जब उड्यो झ्याल बाहिरको दृष्य अति नै सुन्दर देखियो तर धेरै माथि पुगे पछि त बादल सिवाय केहि देखिएन । सायद उचाइ बडि भएर हो कि केहि समय पछि त मेरा कान बन्द हुन थाले र कम-कम सुन्न थालें । मामूले पछाडीबाट बोलाउँदा मैले त सुन्न पनि सकिनँ । प्लेनमा हामीलाई खानाको नाममा एक-एक वटा सोडा र आलु चिप्सको प्याकेट दिए । हामी त घरैबाट टन्न खाना खाएर गएका थियौं त्यसैले हामीलाई त्यस खानाको त्यति वास्ता पनि भएन । हरेक सिट पछाडि टिभी जडान गरिएको थियो त्यसैले उडान भरि मलाई त्यति झ्याउ पनि लागेन । पैतालिस मिनेटपछि जहाज न्यूयोर्कमा अवतरण गर्यो । हामी सबै झयौ । अर्को उडानको लागि करिब एक घण्टाको ट्रान्जीट थियो र केहि समय पछि हामी प्लेन चढ्यौं ।

यसपटकको उडान दुई घन्टा लामो थियो । यो प्लेनमा चाहिँ तीन वटा सिट सँगै जोडिएका रहेछन् त्यसैले निकेश पनि हामी सँगै बस्यो । हामी दुई घन्टाको लागि टिभि हेर्दै र बात मार्दै बस्यौं । करिव चार बजे तिर प्लेन फ्लोरिडामा अवतरण गर्यो । यहाँ चाहीँ हामी प्लेनबाट खुल्ला ठाउँमा ओर्लनु पर्यो र बाहिर निकै गर्मी थियो । हजुरआमा चाँडै हिँड्न नसक्नु भएकोले हामी बिस्तारै हिँड्यौं र भित्र पुगेपछि हामीले वेस्ट पाम बिचको एरपोर्ट कति फराकिलो रहेछ भन्ने थाहा पायौं । भित्तामा त्यहाँका आकर्षणका तस्वीरहरु प्रसस्त टाँसिएका थिए । मलाई त ती तस्वीरहरु हेरेर खुब मजा आइरहेको थियो । त्यहाँ गए पछि त कस्तो मजा आउने होला भन्दै म मनमा सोच्न थालेँ । त्यहाँ पुगेपछि हामी खुशी त भयौं तर हाम्रो सामानहरु नभेटिँदा हामी त अलमल्लमा पर्यौं । धेरै बेर सम्म यताउता खोजे पछि बल्ल फेला पर्यो । हाम्रो समान त त्यहीँकी एउटी महिला कर्मचारीले बटुलेर राखिदिएकी रहिछन् । त्यहाँबाट सामान बोकेर बाहिर जान चाहीँ केहि झन्झट भएन ।

त्यहाँ हामीलाई लिन सुन्दर जोशी अंकल आउनु भएको रहेछ । वहाँ एकदमै मजाको मान्छे हुनुहुँदो रहेछ । मलाई वहाँसँग कुरा गर्न पाएर निकै खुशी लाग्यो । वहाँले खसखस डटकममा प्रकाशित भएका मेरा कविताहरुको प्रसंसा पनि गर्नु भयो । वहाँ आफैं पनि साहित्यकार हुनुहुन्छ । वहाँका ससक्त कथाहरु पढ्दा साँच्चै नै हो कि झैं गरि चित्र आँखा वरिपरि खेल्न थाल्छन् । हामी त्यहाँबाट वहाँको घर भएको वेस्ट पाम बिचतिर लाग्यौं । बाटो लामो रहेछ त्यसैले म त गाडिमा एकछिन निदाएछु पनि । हिँडेर घरभित्र जाँदा म अर्ध निद्रामै थिएँ । सुन्दर अंकलको घर पनि बडो सुन्दर रहेछ । त्यहाँ अंटीले हाम्रो लागि खाजाको बन्दोवस्त गर्नु भएको रहेछ । खाजामा बनाइएको चिकेन सलाद ज्यादै मिठो थियो । मिठो खाजा टन्न खाइयो । ठूला मान्छेहरु गफगाफ गर्न थाल्नु भयो र हामी केटाकेटीहरुलाई भने के गरौं कसो गरौं जस्तो भयो ।


त्यहाँ हामीले चंगा उडाउने प्रयास गर्यौं तर जति हावा चले पनि हामीलाई उडाउनै आएन । केहि पार नलागे पछि हामीले बल्ल तल्ल हामीलाई खेल्न आउने भकुन्डो फेला पार्यौं र खेल्न थाल्यौं । एक-दुई चोटि भकुन्डो अर्को घरको आगनमा पनि पुग्यो तर त्यो घरका मान्छे बाहिर गएकाले हामीलाई केहि समस्या परेन । मामु बाबा र अन्टी सुन्दर अंकलसँग बजार जानुभयो तर हामी घरमै बस्यौं । त्यसपछि हामी अगाडिको रोडमा गएर फेरी भकुन्डो खेल्न थाल्यौं । कति चाँडो रात परेछ खेल्ने शुरमा थाहै भएन । केहीबेर पछि बजारबाट मामूहरु फर्किनु भयो । हामी सबैले रातको खाना सँगै खायौं । खानामा दाल र मासु ज्यादै मिठो थियो । पहिले नै हामी दुई परिवार भिन्ना-भिन्नै घरमा बस्न जाने कुरा भएको थियो तर पछि साथी साथी एकै तिर बस्ने भनेर सारा र सुब्रत हामी सित आउन मिल्ने कुरा भयो । आफ्नो बाटो लाग्ने बेला भएपछि सानी बहिनी रोएर जात्रा गरीन् । किन रोएको भन्दा त सारा हामीसँग आउने कुरोमा पो रोएकी रहिछन् । अन्तमा हामी दुई परिवार आ-आफ्नै बाटो लाग्यौं र हामी संजय बज्रचार्य अंकलसँग वहाँकै घरमा जाने भयौं । वहाँको घर वोका भन्ने ठाउँमा रहेछ र त्यहाँबाट अलि टाढा रहेछ । घर पुग्न झन्डै एक घण्टा लाग्यो । निकेश र म त गाडीमै गहिरो र मिठो निद्रामा डुबेछौं । मामू र बाबाले समातेर भित्र लानु भयो । हामी सबै मिठो निद्रामा सुत्यौं ।

विहान हामी सात बजे तिर उठ्यौं । दाँत माझेर ताजा भएपछि हामीले खाजा र चिया खायौं । संजय अंकल कहाँ अन्टी दादा र बहिनी नेपाल जानुभएको रहेछ र वहाँहरुलाई भेट्न नपाउँदा हामीलाई अलि खल्लो लाग्यो । खाजामा भएका सबै चिज निकै मिठा थिए । मलाई जे खाने कुरा पनि मिठो लाग्छ तर भाइले खान मानेनछ र मामु पिरोलिदै हुनुहुन्थ्यो । आजको कार्यक्रम चाहिँ एट्लान्टिक महासागर तिर घुम्न जाने थियो । खाजा खाइसकेर घुम्न जाने तरखर गर्यौं र मिलन आन्टीहरुलाई केहीबेर पर्खियौं । केहि छिन पछि वहाँलाई सुन्दर अंकलले लिएर आउनुभयो । त्यहाँबाट हामी सबै महासागरको किनार तिर लाग्यौं ।

गन्तब्य निकै पर रहेछ । यात्राको क्रममा मैले केहि कुरा सिकें पनि । यात्रामा पहिला घाम त्यसपछि पानी अनि सित्तल र पानी हुँदै यात्राको अन्तमा फेरि घाम लाग्यो । फ्लोरिडाको मौसम एकदमै अचम्मको हुँदो रहेछ । उष्ण जलवायु भएकोले होला अत्यन्त गर्मी थियो अनि वर्षाको त ठेगानै थिएन । आँखा झिम्क्याए जस्तो । करिव एक घण्टाको यात्रा पछि हामी आफ्नो गन्तब्यमा पुग्यौं । एटलान्टीक महासागरको किनारको बालुवा एकदमै सेतो रहेछ । खै किन हो यस पटक सागरमा छाल पनि अति सुस्त थियो । त्यहाँको पानी ज्यादै नुनिलो भएकोले आँखा-नाक पोलेर र छाला चर्यराएर खपिनसक्नु हुँदो रहेछ । त्यहाँ पानी मुनि अलि-अलि ढुङ्गा रहेछन् र मैले दश-बाह्र वटा टिपेर जम्मा पनि गरें । पानी भित्र खेल्दा ज्यादै मजा आयो तर पानीबाट बाहिर निस्कँदा खुट्टाको पैताला भरि बालुवा टाँसिएर हैरानै भयो । पौडी खेलीसके पछि नुहाउनका लागि ठाउँ ठाउँमा सफा पानीका धारा जडान गरिएका रहेछन् । हामी सबैले साबुन लगाएर पालैपालो नुहायौं । नुहाउँदा साबुन बालुवामा खस्यो र जिउमा दल्दा त काँडाले कोरेको जस्तो भयो । नुहाउन त नुहायौं तर खुल्ला ठाँउ भएकोले लुगा फेर्ने बेलामा फसाद पर्यो । बल्ल तल्ल नुहाउने र लुगा फेर्ने काम सकेर गाडीमा चढेर हामी मेक्सीको खाडी तिर घुम्न हिँड्यौं । त्यहाँ खुल्ला ठाउँमा सांगीतीक कार्यक्रम भैरहेको रहेछ । सांगितीक समुहले ठूलो आवाजमा गित गाइरहेका भिए । अचम्मका रमाइला रमाइला गितहरु सुन्दा पनि बडो मजा आयो ।

सबैलाई भोक लागेको थियो त्यसैले हामी हत्तार गरी खाना मगाउन तिर लाग्यौं । केटाकेटीहरुले पिजा र ठूलाहरुले पास्ता अनि तरकारी र सलादहरु खायौं । हामी त्यहाँबाट टन्न भई पानी जहाज चढेर मेक्सिको खाडी वरिपरि यात्रा गर्न तिर लाग्यौं । हामी सबै चढ्यौं तर सुन्दर अंकल र संजय अंकलले आफुहरु धेरै पटक गैसकेको भनेर नजाने भन्नु भयो । वहाँहरु आउनु भएको भए झनै कति रमाइलो हुन्थ्यो होला तर पनि यात्रा असाध्य रमणीय थियो । त्यहाँ पनि मौसमले आफ्नो नखरा देखाउन थाल्यो । एक छिन अघि निकै चर्को घाम थियो तर आधा घण्टा पछि ठूलो हावा र पानी आउला जस्तो देखियो । यहाँको मौसमसँग मलाई हाँस उठ्न थालेको थियो । त्यो जहाजमा हामी दुई परिवार र अन्य थुप्रै यात्रुहरु पनि थिए । खाडी वरपरका टापु र तिनमा बनाइएका गगन चुम्बी भवनहरु र ठूलाठूला क्रुज विमानहरु देख्न पाउँदा बडो आनन्दको अनुभूति भैरहेको थियो । एउटा टापुमा त विश्व प्रसिद्ध ब्यक्तिहरुका वासस्थानहरु मात्र रहेछन् । यस्तो दृश्यले मनमा निकै रमाइलो तरङ्ग फैलाई रहेको थियो तर अचानक फेरी मौसम बदलिएर हावा चल्यो र सँगसँगै पानी पनि पर्यो । खाडीको विचमा यसै चिसो हावा चलिरहेको थियो झन त्यसमाथि बेजोडको हावा र पानी परे पछि त जाडोले लुग्लुगै पार्यो । सायद पातला लुगा लगाएको भएर पनि बढि जाडो भएको थियो होला । एक घण्टा पछि हामी पानी जहाजबाट उत्रिदा त घाम लागिरहेको थियो र पसिना छुटाउने गर्मी थियो । मौसमको यस्तो नक्कलेपन देखेर मलाई त आनन्द र अचम्म एकैचोटि लाग्यो । दिन भरि असाध्यै रमाइलो भयो र रात परेको पनि पत्तै भएन ।

बेलुकाको खानाको लागि इन्डीयन रेस्टुरन्ट जाने कुरा भयो तर खाजा अलि ढिलो खाएको हुनाले मलाई त भोकै लागेको थिएन त्यसैले जान्न भनेँ तर फेरी राती भोक लाग्यो भने के गर्ने पेटमा मुसा कुदेर सुत्न सकिएन भने भोलिको कार्यक्रम चौपट हुन्छ भनेर म पनि जान्छु भनेँ । गाडिमा म त भुसुक्क निदाएछु र मलाई यात्राको लम्बाइ थाहा नै भएन । निद्रामै हिड्दै हामी इन्डियन् रेस्टुरा भित्र पस्यौं । हामी केटाकेटीहरु एउटा कुनामा बस्यौँ र ठूलाहरु अर्कै ठाउँमा बस्नुभयो । यहाँ हामीले भारतिय खाना खान पायौँ । खनामा नान रोटी कुखुराको मासु पानी पुरी आदि चिजहरु थिए । वेटरले खाना ल्याउन निकै ढिला गरेकोले अलि अलि भोक पनि लागि सकेको थियो । मिठो खानाले भोक मात्र नभइ बोर लागेको पनि मेटियो । टन्न हुने गरि खायौं र मजाले गफगाफ पनि गर्यौं । करिव ११ बजे राति रेस्टुरेन्टबाट घरतिर लाग्यौ र १५-२० मिनेटमा घर पुग्यौं । सजिलो ओछ्यान र शान्त वातावरण भेटेपछि मलाई ज्यादै मिठो निद्रा पर्यो ।

भोलि पल्टको कार्यक्रम राजदुत अंकललाई लिन एयरपोर्ट जाने र दिउँसो तिर पर्यटनको कार्यक्रममा जाने थियो । बिहान हामी चाँडै उठ्यौं र हात-मुख धोई चिया पिएर एयरपोर्टतिर लाग्यौं । बिचबाटोमा सुन्दर अंकललाई भेट्यौं र सँगै एयरपोर्ट गयौं । राजदुत अंकललाई लिई फर्कदा घर पुग्न लग-भग आधा घण्टा जति लाग्यो । राजदुत अंकल निद्रा नपुगेर हो कि एकदम थाकेको जस्तो देखिनु भएको थियो । त्यहाँबाट हामी मिलन अन्टी, हजुर आमा र भाईबहिनीहरु बसेको ठाउँमा पुग्यौं । फ्लोरिडामा एउटा ठाउँ देखि अर्को ठाउँमा जान धेरै समय लाग्दो रहेछ । त्यहाँ पुगे पछि सुब्रतले पौडि खेल्न जाने कुरो निकाल्यो । हामीले त पौडि खेल्ने लुगा आफुसँग लगेका थिएनौं । हामी खेल्न नपाउने भयौं भनेर चिन्ता लागेको थियो तर त्यो कुरो जति चाँडो उठेको थियो त्यतिनै चाँडो टुङ्गियो । हामी सबैले सामान्य रुपमा लियौं तर सुब्रत भने अलि रिसायो । त्यहाँ हामी झन्डै एक घण्टा जति बस्यौं । हामी खाजा नखाइ विहाँनै उता गएका हुनाले खाजा उतै खायौं । खाजामा जाम, पाउरोटी, पकाएको अण्डा र सुन्तलाको जुस थियो । फ्लोरिडाको सुन्तलाको जुस निकै मीठो थियो । यस अघि मैले सुन्तलाको अमिलो जुस मात्र खाएको रहेछु त्यसैले मलाई त्यहाँको सुन्तलाको जुस निकै मन पर्यो । त्यहाँबाट सुन्दर अंकलको घरमा जाने कुरा थियो र जाने बेला सम्म हामीले कम्प्युटरमा गित बजाएर रमाइलो गर्यौं । त्यहाँबाट सुब्रत र सारालाई लिएर हामी सुन्दर अंकलको घर तिर लाग्यौं ।

यात्रा अरु बेला जस्तै लामो नै थियो र म त फेरि आधा घण्टा जति गाडिमै निदाइछु । बाटोमा घाम-पानी घाम-पानी हुँदै मौसम बद्लिरहेको थियो तर यसपल्ट चाहिँ मलाई त्यति अचम्म लागेन । सुन्दर अंकलको घरमा पुगेको आधा घन्टा नभइकन पौडि खेल्न जाने कुरो फेरी उठ्यो र त्यहिँ नजिकैको स्विमिङ्ग पुलमा पौडि खेल्न जाने कुरा पक्का भयो र अन्टीसँग हामी चारैजना केटाकेटी गयौं । पौडी खेल्ने लुगा नबोकेको भए पनि केहि उपाए गरी मैले पनि पौडी खेलें । ठूला मान्छेहरु पर्यटनको कार्यक्रममा जानु भयो र ढिलो आउनुभयो त्यसैले हामीले खेल्ने समय धेरै पायौं । म त पानीमा खेल्न पाउँदा ज्यादै रमाएँ । स्विमिङ्ग पुल अलि गहिरो रहेछ । म सुब्रत र साराले चाहिँ मजाले सबै तिर खेल्न सक्यौं तर निकेश अलि होचो भएको हुनाले उसलाई त्यति मजा आएनछ र ऊ त चाँडै निस्कीएर सफा पानीले नुहाई सकेछ । हामी पनि बिस्तारै निस्क्यौं तर हावा-पानीका साथै गड्याङगुडुङ भई मौसम खराब भएकोले चाँड्चाँडैं गरेर फर्कनु पर्ने भयो । तर हामी हिँड्ने बित्तिकै मौसम त सफा भयो । पानी हावा केहि थिएन र हामीलाई नक्कले मौसमसँग रिस पनि उठ्यो । घर पुगे पछि हामी समय काट्न टिभि हेरेर बस्यौं । म त पौडीको थकाइले टिभि हेर्दा हेर्दै सोफामै निदाएछु निद्रा बडो मिठो थियो । बाबाले उठाउँदा म त झस्कीएँ पो ।

बाबाहरु पर्यटनको कार्यक्रमबाट आइसक्नु भएको रहेछ र भानुजयन्तीको कार्यक्रममा जाने बेला पनि भैसकेको रहेछ । भानुजयन्तीको कार्यक्रममा पर्खिनु पर्ला भनेर हामीले पहिला खेलेको भकुन्डो लगेका पनि थियौं तर त्यहाँ पुगे पछि त नल्याएको भए हुन्थ्यो जस्तो लाग्यो । हामी त्यहाँ पुग्दा कविता वाचन शुरु भैसकेको रहेछ । भानुभक्तद्वारा रचित श्लोक सुन्दा निकै आनन्द लाग्यो । मैले त्यहाँ शार्दुलविक्रडित छन्दको एउटा नयाँ लय पनि सिकें । कार्यक्रममा डा. श्री हंसपुरे सुवेदीबाले बडो मजाले वर्णन गरीकन आदिकवि भानुभक्तका बारे छोटो मिठो जानकारी पस्कनु भयो । कार्यक्रममा मैले पनि दुईवटा कविता वाचन गरेँ । कार्यक्रमको स्वागत खण्डमा जनकवि केशरी श्री धर्मराज थापा ज्यूद्वारा रचित झ्याउरे छन्दको "आदिकवि भानुभक्तप्रति" कविता र प्रतियोगिता खण्डमा म आफैंले रचेको मन्दाक्रान्ता छन्दको "सुन्दर देश नेपाल" कविता वाचन गरें । निकेश भाइले चाहिँ नेपालको राष्ट्रिय गान "सयौं थुंगा फूलका हामी…" र ऊ आफैंले रचना गरेको लोक छन्दको "शान्ति" कविता वाचन गर्यो । हामी दुबैको कविता राम्रो लाग्यो भनेर धेरै जनाले प्रसंसा पनि गर्नुभयो । यसले मेरो हौसला अझ बढायो र निकै खुशी पनि लाग्यो । मैले अरु धेरै जनालाई भेटें र वहाँहरुसँग कुराकानी गर्ने मौका पाउँदा धेरै कुरा सिक्ने अवसर पनि पाएँ । कार्यक्रममा एउटा तीन वर्षको भाइले "फूलको आँखामा…" गीत अति मिठो गरी गाउँदा मलाई पनि त्यस्तै आवाजले सानो भएर गाउन मन लागेको थियो । अत्यन्त रमाइलो त्यो साँझले मेरो दिमागमा अमिट छाप बसायो । फ्लोरिडामा काटेका ति दिनहरु म भुल्नै सक्दिन । त्यो रात घर पुगेपछि म साहित्य र भाषाको बारे सोच्दै ओछ्यानमा पल्टीएँ र अर्को दिनको लागि जाँगर संचित गर्न म आरामले सुतें तर भोलिपल्टको कार्यक्रम बारे मलाई थाहा चाहीँ थिएन ।


भोलिपल्ट विहान ओरल्याण्डो जान हाम्रो लागि लिमोजिन कार आउने रहेछ । हामी विहानको नित्यकर्म गरेर आफ्नो सामान लिई गाडि भित्र हाल्न तिर लाग्यौं । संजय अंकल प्रति आभार प्रकट गर्दै अन्तिम बिदाई लिएर हामी आफ्नो गन्तब्य ओरल्याण्डो तिर लाग्यौं । त्यहाँबाट एकैचोटि राजदुत अंकलको परिवार बस्नुभएको ठाउँ तिर लाग्यौं । यात्रा पहिला जस्तै लामो थियो तर पहिलो चोटि लिमोजिन चढेको भएर हामीलाई निकै रमाइलो लागिरहेको थियो । ड्राइभर नयाँ भएर हो कि बाटोमा लामै अलमल पर्यो र हामी ढिलो पुग्यौं । वरिपरि दुई-तिन फन्का लगाए पछि बल्ल हामीले ठिक घर पत्ता लगायौं र त्यहाँबाट अलमल नगरी हामी ओरल्याण्डो तिर लाग्यौं । लन्च खाने बेलामा ओरल्याण्डो पुग्ने हाम्रो योजना थियो । गाडिमा चाहिँ हामीले चुट्किला र गाउँखाने कथा सुनाउँदै मजाले समय काट्यौं । यात्रामा केटामान्छे र केटीमान्छे बाँडिएर अन्ताक्षरी पनि खेल्यौं । मलाई त गित गाउन असाध्यै मन पर्ने हुनाले अति रमाइलो लाग्यो । मामू अन्ताक्षरीमा हामी भन्दा निकै जान्ने हुनुहुन्थ्यो तर हाम्रो पक्ष तिर राजदुत अंकल सुत्या सुत्यै, बाबालाई त्यति गितै नआउने र म पनि नेपाली गितमा अलि कमजोर भएकोले केटा पार्टीले जित्ने सम्भावना कम थियो । नभन्दै केटी समुहको जित भयो । म त धेरै रमाएको थिएँ र अरु बेला जस्तै समय हावा भन्दा चाँडो बगिसकेछ । हामी ओरल्याण्डो पुगिसकेका थियौं ।

ओरल्यान्डोमा स्वतन्त्र दाइ बस्नु भएको घर निकै रमाइलो ठाउँमा रहेछ । हामी सबै थकाइ मार्न थाल्यौं, मिलन अन्टी र मामूले खाना तयार गर्नुभयो । खाना खाएर घुम्न जाने कुरा थियो । हामीले स्वतन्त्र दाइसँग त्यहाँका घुम्ने ठाउँ बारे सोध्यौं । वहाँले बच्चा देखि बुढालाई रमाइलो हुने डिज्नीवल्र्ड निकै रमाइलो हुन्छ भन्नुभयो । हामी सबै त्यतैतिर लाग्यौं । स्वतन्त्र दाइसँग बस्ने अर्को एक जना रोशन दाइ हुनुहुन्थ्यो । हाम्रो परिवार र सुब्रत वहाँको गाडिमा गयौं । टिकट काटेर हामी सबैजना भित्र पस्यौं र त्यहाँका सबै रमाइला रमाइला चिजहरु हेर्न तिर लाग्यौं ।

सबभन्दा पहिला हामी अफ्रिकन जंगल सफारीमा गयौं । हामी चढेको ट्रक पनि अफ्रिकनकै जस्तो थियो । त्यहाँका जनावर देख्दा हामी निकै उत्सुक भएर हेरिरहेका थियौं । त्यहाँ अझ धेरै रमाइला ठाउँहरु पनि थिए । एकातिर जाँदा हामीले आफ्नै गाउँ तिर देखिने भेडा-बाख्रा देख्यौं भने अर्कोतिर जाँदा हामीले पहिला कहिल्यै नदेखेका बाँदरका एक प्रजाति देख्यौं । हामी घुम्दै हेर्दै हिड्यौं र थुप्रै हेर्न लायकका चिज र ठाउँहरु देख्यौं । घुम्दै जाँदा त्यहाँ हामीले नेपालका विशेषता समेटी बनाइएका ठाउँ पनि फेला पार्यौं । त्यहाँ हाम्रै नेपालका गाउँघरमा प्रयोग हुने चिज र नेपाल कै जस्ता मन्दिर र घण्टाहरु झुन्ड्याइएका थिए । त्यति मात्र कहाँ हो र त्यहाँ त हाम्रो सगरमाथा जस्तै अर्को सानो हिमाल पनि बनाएको रहेछ । हामी केटाकेटी, मामू, रोशन र स्वतन्त्र दाइहरु के हो भनेर हेर्न गयौं । त्यस भित्र त रोलर कोस्टर (ROLLER COASTER) पो बनाइएको रहेछ । थुप्रै मान्छे चढेको देखेर हामी पनि चढ्यौं । माथि पुर्याउन्जेल त ठिकै थियो तर ओरालो झर्दा त सात्तो पुत्लो उड्यो । रोकिए पछि बल्ल सास आयो । रोलर कोस्टरको धङधङ्गीले छाडेकै थिएन तै पनि अरु रमाइला ठाउँ हेर्नतिर लाग्यौं । अलि पर अझै दुईवटा रोलरकोस्टरमा चढ्यौं । पहिलो चाहीँ सामान्य घुम्ने खालको थियो तर दोस्रोमा चाहिँ राक्षस जस्ता डाइनोसर देखाएर तर्साएर मार्ने रहेछ । हामी चढ्नेहरु जति निस्कँदा तर्सिएकै मुद्रामा थियौं ।

घुम्दा घुम्दै रात परेको त पत्तै भएन घडिमा साँझको आठ बजि सकेछ तर बाहिर अझै उज्यालै थियो । बेलुकाको खाना विकास देवकोटा अंकलकोमा बन्दोबस्त गरिएको रहेछ । त्यहाँबाट हामी त्यतैतिर लाग्यौं । देवकोटा अंकल अन्टी दिदी र बहिनीहरु साह्रै मजाको हुनुहँदो रहेछ । वहाँहरुको पारिवारिक वातावरण मलाई अतिनै मन पर्यो । वहाँका छोरीहरु अस्मिता, बिनिता र बिजिता असाध्यै मिलनसार रहेछन् । गफगाफ गर्दै रमाइलो गर्यौं र हामीले त्यहाँपनि चुट्किला साटासाट गर्यौं । चुट्किलाका साथै केहीबेर अन्ताक्षरी खेलेर रमाइलो गर्यौं । यस पालि चाहिँ घिमिरे परिवार र देवकोटा परिवार बिच प्रतिस्पर्धा थियो । गित गाउँदा गाउँदै निकै ढिलो भैसकेकोले खाना खानतिर लाग्यौं र खेल यत्तिकै टुङ्गियो । खाना खाँदा पनि हामीले गफ गर्न चाहिँ छोडेनौं । यसरी पहिलो भेटघाटमै हामी मिल्ने साथी बन्यौं । खाना त्यहाँ खाएर सुत्न अर्को ठाउँमा जानु पर्ने थियो र झण्डै रातको १२ बज्न लागेको थियो । मन नभए पनि नचाहाँदा नचाहाँदै हामी छुट्टिनु पर्यो । त्यस रात हामीले स्वतन्त्र दाइ कहाँ बितायौं तर राजदुत अंकलको परिवार चाहिँ अर्कै ठाउँमा जानुभयो । अर्को दिन पनि यत्तिकै रमाइलो होस् भन्ने कामना गर्दै र दिनभरी घुमेका रमाइला ठाउँ सम्झँदै र कल्पना गर्दै म कतिबेर निदाएछु थाहै पाइँन ।

भोलिपल्टको कार्यक्रम सि वल्र्ड घुम्ने थियो । बिहान चाँडै उठेर नित्यकर्म गरेर र खाजा खाएर हामी राजदुत अंकलहरु बस्नु भएकै ठाउँमा गयौं । त्यहाँ पुग्न त्यति बेर लागेन तर वहाँहरुलाई लिएर सि वर्लड पुग्न चाहिँ धेरै नै समय लाग्यो । बाटो भरि निकै ठूलो पानी पर्यो । त्यहाँ सम्म पुग्दा पानी परिरहेको थियो । हामी हेर्न र खेल्न नपाउने भयौं भनेर दिक्क मानेर बसिराखेका थियौं । तर केही बेर पछि पानी रोकियो र टिकट लिई सबै सि वल्र्ड भित्र गयौं । हामी भित्र पस्दा मौसम सफा भइसकेको थियो । सबभन्दा पहिला हामीले त्यहाको 'रे' भन्ने माछा हेर्यौं र छोयौं पनि । छुँदा त हिलो जस्तो चिप्लो पो हुँदो रहेछ । त्यसको नजिकै डलफिनहरुको एउटा ठूलो पोखरी थियो । तिनीहरुले खेलेको देख्दा हामीलाई बडो मनोरंजन भयो । त्यहाँबाट अलि टाढा एउटा ठूलो स्टेडियम रहेछ । त्यहाँ चाहिँ डल्फिन र ह्वेल माछाको निकै चाखलाग्दो सोहरु देखाइँदो रहेछ । ती माछाहरु धेरै बुद्धिमानि रहेछन् र मान्छेहरुसँग खेलेको देख्दा हामीलाई निकै रमाइलो र अचम्म लाग्यो । दर्शकहरुलाई उत्साहीत पार्न डल्फिन र ह्वेलले सोको बिच-बिचमा पुच्छरले दर्शक पट्टि पानी हुत्याउँदा रहेछन् । क्यामेरा भिज्ला भनेर हामीले फोटो चाहिँ खिचेनौं तर हामीलाई हेर्दै फुर्सद थिएन नभिज्ने भए पनि खिच्ने थिएनौं होला । सो सकिएपछि पनि फेरि हेर्न मन लागेको थियो तर अरु ठाउँ पनि हेर्नु पर्ला भनेर हामी अर्को दिशा तिर लाग्यौं ।

घुम्ने क्रममा टाढाबाट हामीले एउटा ठूलो महल जस्तो पहेंलो रङ्गको घर देख्यौं । के होला भनेर नजिक जाँदा त अघिल्लो दिन चढेको जस्तै रोलर-कोस्टर पो रहेछ । यसको लाइन निकै लामो थियो । रोलर-कोस्टरमा खेलेर उत्रे पछि पो लाइनको लम्बाइको कारण थाहा भयो । शुरुमा पानी भएको अध्यारो गुफा तिर छिराएर झ्वाट्ट तल झार्दा त मुटु नै चिसो भयो । तर निकै मजा आयो । बाहिर निस्कँदा हामी निथ्रुक्क भिजेका थियौं । त्यस माथि बाहिर पनि पानी परिरहेको रहेछ । हामीसँग ओड्ने केही थिएन त्यसैले भिजेको लुगा सुक्ने कुरै भएन । पानी परिरहेकै थियो । केही हेर्ने ठाउँहरु घर भित्र भएकोले हामी त्यतातिर घुम्न थाल्यौं । ती मध्य एक ठाउँमा यति धेरै पेन्गुइन ( PENGUIN) राखिएको देखेर म त छक्कै परें । अर्को ठाउँमा सार्क माछाका थुप्रै प्रजाति पनि देख्दा हामीलाई रमाइलो लाग्यो । त्यति मात्र हेरेर हामी अघाएका थिएनौं तर सानी नानी र वृद्ध हजूर आमा साथै हुनुभएकोले पानीमा हिँड्न पनि सकेनौं । केहि बेरको लागि हामी नजिकैको एउटा घरमूनि ओत लागेर बस्यौं । पानी रोकिने छाँटकाट नै थिएन । साँझको पाँच बजिसकेको थियो । एयरपोर्टको समय सात बजे पुग्नु पर्ने थियो । पानी नरोकिए पनि टाउकोमा प्लास्टीक ओढेर पानी पर्दा पर्दै हामी हिँड्यौं । पुरै कपडा भिजेकोले ट्याक्सीमा बसुन्जेल निकै अप्ठ्यारो र जाडो भएको थियो । एयरपोर्ट पुगे पछि बाथरुममा गएर हामी सबैले लुगा फेर्यौं र प्लेन चढ्ने प्रक्रियामा लाग्यौं । फर्किदाको यात्रा पनि पहिलाको यात्रा जस्तै रमाइलो थियो तर यसपालि उत्सुक्ताको ठाउँमा मेरो मनमा खुशी र आनन्द थियो ।