एउटा जिन्दगीको साक्षी


सुन्दर जोशी
वेष्ट पाल्म वीच, फ्लोरिडा


आज भोलि तिमी
निकै बिचलित छौ
आज भोलि तिमी
निर्घात दुखेको मुटु
छातीमा टासेर हिँडी रहेछौ
आऊ एकछिन यो एकान्तमा
हामीसँगै सुस्ताउ र बात मारुँ

कति भाग्नु
आऊ,  बरु मनभरी खिया परेको
तीतोहरु मस्काउ
एकछिन यो एकान्तमा
सँगै सुस्ताउ र
मनको घाउहरुमा मलम लगाउ
तिमी आफ्नै परिभाषाहरु
आस्था अनि बिश्वासहरुबाट
निर्घात चुटियौ
धोखा र छलकपटको दाम्लोले
तिमीलाई बाँधेर
तिम्रै आस्था अनि बिश्वासहरुले
निर्घात चुटे
म त्यो भूल गर्ने छुइन
म बिचलित पनि हुने छुइन
जसरी तिमी टुट्यौ
तिमी साँच्चै अत्यास लाग्ने गरी टुट्यौ
र मैले टुट्नुको बदला
गम्भीर हुन सिकेँ
तिमीले गरिसकेको भूल दोहोर्याउने हदसम्म पुग्नै नपरोस भनेर
तिमी जस्तै
पृथ्वीको चारकुना खोज्दै हिँडिँन
मैले त तिमीलाई
पृथ्वी गोलो छ भनेकै थिएँ
तर तिमी त
सपना बाँड्दै हिड्यौ
भाविष्य सबै दाउमा राखी
निसंकोच सपना बाँड्दै हिड्यौ
यतिखेर तिमी
सपना सबै रित्तिएको आँखाले
टुलु टुलु मलाई नै हेरी रहेछौ
सपना सबै रित्तिएको
तिम्रो जस्तो दिन देख्न नपरोस् भनेर
आज भोली म सपनाको खेती गर्दिन
तिमी त एउटा जिउँदो
तिमी त एउटा साक्षात
उदाहरणको प्रतीमूर्ति हौ
तिमीलाई हेरेर
विश्वास भन्ने कुरा
वरिपरिका छेउछाउका त कुरै छाडौ
सितिमिती आफैलाई पनि
साच्चै नै स्वयं आफैलाई पनि
नगर्ने भएको छु

धेरै पनि भएको छैन
तिमीबाट त्यस्तो भूलहरु भएको
समयले संकेत नगरेको पनि होइन
अहिले त मसँग सहानुभूति जनाउन
रुनलाई आँशु पनि छैन
आँशु सबै रित्तिएको आँखाले
म तिमीलाई नियाल्न मात्र सक्छु
म त कठोर हुन बाध्य छु
मुस्कान, हाँसो, सपना अनि आँसु
सबै बन्धकी राखेर
अविचलित निःसंकोच
एउटा कठिन आरोहणमा मग्न छु
तिमीलाई नढाँटी भन्ने हो भने
यात्राको यत्रो अवधिमा
एउटा पनि नयाँ कुराको सुरुवात भएको छैन
यस्तो लाग्छ
अचानक म मौन भई
तिम्रो मृत्युको साक्षी बस्नु पर्ने दिन
वरावर सर्दै छ ।
मृत्यु भन्दा अघिल्ला रातहरुमा
तिम्रो सामु म मात्रै हुनेछु
एउटा खोक्रो रित्तो जिन्दगी
शुन्यमा अनुवाद भएको देख्ने
मात्र एउटा साक्षी ।