दुर्भाग्यको झोंक्का

 

विजय राज शर्मा

डेनभर, कोलोराडो

 

आर्कटिक सागरबाट बगेको सिरेटोले जस्तै

जब दुर्भाग्यको झोंक्काले मेरो छाति छेड्दछ

बाक्लो हुस्सुले तलाउलाई ढपक्क ढाकेझैं

जब छटपटीले मेरो मस्तिष्कलाई ढाक्दछ

त्यसबखत बिलाउँछ मेरो अनुहारबाट आभा

मबाट हराउँछ चनाखोपना र प्रत्युत्पन्नमति

म उभिन त उभिन्छु कक्षामा पढाउन

तर मात्र भट्याउँछु कुनै भरिएको टेपसरी

निस्सासिन थाल्दछ मेरो जीवन

जिउनु बन्दछ सुल्झाउनै नसकिने पहेली

यस्ता क्षणमा म चाहन्छु भइजान निश्चल

जसरी हुने गर्दछ ब्याट्री सकिएको पुतली

साँच्चिकै साँच्चिकै चाहन्छ मेरो दिल

रोकियोस् यो पृथ्वी, थामियोस् पूर्ण प्रकृति

तर उफ्! मैले चाहेर मात्र के हुन्छ र?

घुमिरहन्छ घडीको सियो, रोकिंदैन खोलाको गति

मानिसको उदासीको के नै मूल्य छ र समयचक्रलाई?

आफैले आफुलाई ठूलो मानेर के हुन्छ नै,

जब चिन्ता छैन कसैको कसैलाई।