डोल्माहरु बाँच्न पाउनुपर्छ



रमेश पल्लव
हालः क्यालिफोर्निया

मीठा-मीठा सपनाहरु बोकेर
परदेश लाग्नु
र एउटा रमाइलो संसारको कल्पना
आम नेपालीहरुको चाहना हो
झूठा आश्वासनहरु बाँडेर
ठूल्ठूला रकमहरु असुलेर
निरीह नेपालीहरुलाई विदेश पठाउने
र जिन्दगीका साह्रै तीता र पट्यारलाग्दा
क्षणहरुमा जिउन बाध्य बनाउने
दलालहरु भनौ वा आफ्नै नातेदाहरु
पैसामा चुर्लम्म डुब्दा
स्वर्गको अनुभूति हुन सक्ला
संसारै जितेको भ्रम हुन सक्ला
तर डोल्माहरुजस्ता -
अनभिज्ञ र अन्जान चेलीहरुका लागि
यो त नर्क सिवाय अरु केही हुन सक्दैन
आफ्नो प्यारो परिवार
आफ्नो प्यारो देश
चटक्कै छोडेर
सुन्दर संसार बसाल्ने
डोल्माहरुका सपनाहरु
जेलहरुमा बलात्कृत हुँदा
सिंगो परिवार र देशनै शोकमग्न हुँदा
खुसियाली मनाउने दलालहरु
गोहीका आँशु झार्ने कथित नातेदारहरु
एक पटक सोच त -
तिम्रो परिवार डोल्माहरु जस्तै
आँशुहरुमा डुबेर दिनरात तड्पिंदा
तिम्रो मुटु दुख्छ कि दुख्दैन
तिम्रो छाती पोल्छ कि पोल्दैन
त्यसैले विन्ती छ
डोल्माहरु पवित्र छन्
डोल्माहरु निर्दोष छन्
तिमीहरुले उनीहरुलाई बचाउनुपर्छ
नेपाली भएर नेपालीलाई मास्ने
यो तिम्रो कस्तो नेपालीत्व हो
कति चेलीहरु तिम्रा कूटील चालहरुमा
फसेर रोइरहेका होलान्
त्यसैले विन्ती छ
डोल्माहरुका सुन्दर सपनाहरु
मृत्युदण्डमा परिणत हुनुहुँदैन
डोल्माहरु-
नेपाली दलालहरुले फालेको जालबाट
विदेशको कानुनमा फस्नु हुँदैन
किनभने-
डोल्माहरु स्वच्छ अनि पवित्र छन्
डोल्माहरु अन्जान अनि निरीह छन्
त्यसैले म भन्छु-
डोल्माहरु अगाडि बढ्न पाउनुपर्छ
डोल्माहरु बाँच्न पाउनुपर्छ ।