प्रख्यात उपन्यासकार धुस्वाँ सायमी (गोविन्दबहादुर मानन्धर)को ७७ वर्षो उमेरमा सोमबार बिहान निधन भएको छ । उपन्यासकार सायमीलाई हृदयाघात भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बिहान ९ बजे उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँ लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँको ७७ वर्ष७ महिना ७ दिनमा गरिने 'जङ्कु' ११ दिनअघि गरिएको थियो ।

विक्रम संवत् १९८७ साल जेठ १० गते झोँछे काठमाडौँमा जन्मिनुभएका सायमीले लेखनको सुरुआत भने एकाङ्कीबाट गर्नुभएको थियो । नेपालकै पहिलो पीएचडी डाक्टर नारायणबाबु मानन्धर र दानमाया मानन्धरका छोरा धुस्वाँले २००८ सालमा 'हिमाली क्रन्दन' एकाङ्की प्रकाशित गर्नुभएको थियो । लामो समयसम्म प्राध्यापन पेसामा संलग्न सायमीले साहित्य लेखनमा उपन्यासलाई आफ्नो विधा बनाउनुभयो । उहाँ भारतका लागि नेपालको सांस्कृतिक सहचारीका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो । भारतीय लेखिका अम्रिता प्रितमले उहाँलाई नै नायकका रूपमा प्रस्तुत गरेर चर्चित उपन्यास 'अदालत' लेख्नुभएको थियो ।

२००९ सालमा नेपाल भाषामा पहिलो उपन्यास 'मिसा' प्रकाशित गर्नुभएका सायमीका नेपाल भाषामा १३ वटाभन्दा बढी उपन्यास, तीनवटा कवितासङ्ग्रह र दर्ुइ वटा नाटक प्रकाशित छन् । उहाँको गङ्की उपन्यास निकै चर्चित रहृयो । गङ्की उपन्यास नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा अनुवाद भएको छ । कुनै पनि वादमा बाँधिएर साहित्य लेख्न नरुचाउने उहाँका त्रिवेणी र हृयाउँ मिखा नाटक पनि प्रकाशित छन् । आफूलाई यथास्थितिवादको विरोधी भन्न रुचाउने सायमीका खिलँ, मतिना, हृयाउँ स्वाँ, मैजु, गङ्की, पासा, दीपा, पल्पसा, फिसवा लिस, माखा, अगति, निभा, दिशा, त्याना चँगु ल खुशी जी, न्याफो स्वाँ, मुँ स्वाँ, ब्वालालगायत नेपाल भाषामा कृति प्रकाशित छन् ।

कुनै पनि सीमा अथवा बन्धनले साहित्यलाई पर्ूण्ा रूपमा अभिव्यक्त दिँदैन भन्ने विश्वास उहाँमा थियो । साहित्यकार प्रकाश सायमीका अनुसार धुस्वाँका नेपाल भाषा, नेपाली, अङ्ग्रेजी, हिन्दी र अनुवाद गरी ३२/३३ वटा कृति प्रकाशित छन् ।

यसैगरी नेपाली भाषामा सातवटा उपन्यास र तीनवटा कवितासङ्ग्रह प्रकाशित छन् । खरानीको बस्ती, मंगा, दीपालगायत प्रकाशित छन् भने हिन्दी अनुवादमा मै दासी मै सराय, अग्नीर्गर्भ, रेपकी दरार, जलजला, कविताओंका जङ्गल, शब्दोंका आकासलगायत प्रकाशित छन् । यसैगरी अङ्ग्रेजीमा पनि द इक्लिप्सलगायत दर्ुइ कृति प्रकाशित छन् ।

उहाँ २०५१ सालदेखि ५५ सालसम्म हालको नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ पनि हुनुहुन्थ्यो । भारतमा आमन्त्रित प्राध्यापकका रूपमा समेत सेवा गर्नुभएका सायमी नेपाल भाषा र हिन्दी साहित्यमा निकै चर्चित हुनुहुन्थ्यो । उहाँले आफ्नो चर्चित उपन्यास गङ्की र श्रीमती वसुन्धराको नामबाट उपन्यास विधाका र्सजकलाई प्रदान गर्नेगरी 'गङ्की-वसुन्धरा' पुरस्कार स्थापना गर्नुभयो । यसैगरी 'जनमत-दीपा' पुरस्कारसमेत स्थापना गर्नुभएको थियो ।

उहाँले महेन्द्रविद्याभूषण, प्रबल गोरखा दक्षिणबाहु, श्रेष्ठ सिरपा (दर्ुइपटक)लगायत पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ । भारती शास्त्रमा एमए गर्नुभएका उपन्यासकार सायमीले पछिल्लोपटक गोरखापत्र संस्थानको साहित्यिक प्रकाशन मधुपर्क मासिकद्वारा प्रदान गरिने 'मधुपर्क सम्मान-०६४' प्राप्त गर्नुभएको थियो । नेपाल भाषा सेवाबापत उहाँलाई 'साहित्य सुत'को उपाधिसमेत प्रदान गरिएको छ । उहाँका चार छोराहरू डा. अरुण सायमी, डा. प्रकाश सायमी, दीपक सायमी, अनिल सायमी र एक छोरी हुनुहुन्छ । उहाँकी श्रीमती वसुन्धराको पहिल्यै निधन भइसकेको छ ।

खसखस डट कम परिवार साहित्य जगतमा भएको यस अपुरणीय क्षतिको लागी गहिरो दुःख तथा शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।
(समाचार साभार गोरखापत्र डट कम)

स्वाभिमान

मेरो
कातर भैसकेको विवशतामा
करुणालाई जोडेर
तिमीले मेरो आवाज माग्यौ,
मैले बुझेर पनि
मेरा सम्पूर्ण स्वरहरू
तिमीमा समर्पित गरिदिएँ,
फेरि
त्यसपछि
मेरा हात चाह्यौ तिमीले,
मैले विना अवरोध
यिनलाई भाँचेर तिमीलाई थमाइदिएँ,
तर
तिमीलाई यसमा पनि सन्तोष भएन,
किनकि, तिमी चाहन्थ्यौ-
मेरो नियोजित मस्तिष्क/ विस्थापित हृदय
र, नियन्त्रित विचार/ खण्डित भावना
जसलाई चाहेर पनि
तिमीलाई त के
अरु कसैलाई पनि दिन सक्तिन
मलाई
तिमी जस्ताको प्रतिनिधि बन्नु छैन

एक सम्बोधनM राजीलाई

 

सृष्टि एकदम विशाल छ

तर

यही विशालताले दिन्छ मलाई

शून्यता

तिम्रो सङ्गतको अभावमा

मेरो एक्लो जीवन

एकांकीपनमा डुब्दछ ।

००

सपना

दिनमा पनि देख्छु

तर अर्को मन अचेत हुन्छ केवल

यसैले

विरोधमा उभिएर

मेरो अस्तित्व

तिम्रो साथ पाउन चाहन्छ,

तर तिमी

मेरो यो आसक्तिलाई

एउटा सनक र आवारापन सम्झिन्छ्यौ

दुःख

यसमा छैन मलाई-

म जस्तो मानिसलाई गलत सम्झिइन्छ सदा ।

००

शब्दहरूमा

भाषा र भावनामा अल्झिएर

जीवनलाई तमाशा बनाइएको छ

आफैंलाई

मानिसहरूको खेलाँचीबाट

आफूलाई बचाउन

तिम्रो साथ पाउन चाहन्थें

तर तिमी

अरुजस्तै

भीडमा आफूलाई उभ्याउँछ्यौ

त्यसैलाई

साथ दिएर

मेरो अवस्थामाथि

महाभोज मनाउँछ्यौ ।

(धु स्वाँका दुबै कविता नेपाली रचना डट कम साभार)