देश न बाँडौं

नवराज ओक्लाहोमा

अचेल मेरो देश म सपनामा देख्न थालेको छु
म बसेको देशलाई आफ्नो भन्न सक्दिन
हावा पानी राम्रो छ
खाना वाना राम्रो छ
काम र माम पाएकै छु
तर पनि देश भन्न सक्दिन
आमा भन्न सक्दिन
म मेरो देश सपनामा देख्न थालेको छु

आधुनिक पँजामा हिप हप देख्छु
पप र रक देख्छु
फेसनमा नाङ्गो हुन लागेको देख्छु
आफै आफैमा काटाकाट गर्न लागेको देख्छु
सँस्कार शून्य विचारको युद्धमा
मारिएकाहरुको उपहास भएको देखेको छु
हिजो आज म सपनामा देश देख्छु

मधेसलाई मधेस चाहिएको छ
शेर्पालाई हिमाल चाहिएको छ
तामाङ्गलाई भित्रि पहाड चाहिएको छ
लिम्बुलाई लिम्बुवान चाहिएको छ
नेवारलाई नेवा राज्य चाहिएको छ
चार जात छत्तिस वर्णको फुलबारी खोजिरहेछु

देश विभाजनमा छ
देशको अँशबण्डा हुँदैछ
खहरेले आफ्नो अस्तित्व खोजेर
सागरलाई गिज्याई रहेछ
मेरो सागर देश
खहरेहरुले विभाजन गर्न खोजिरहेछन्

देशको मोहमा मुटु चुँडिएको छ
देशकको मोहमा छाती चर्किएको छ
चीरा चीरा भएको मनमा देश भत्किएको देख्छु
देश चर्केको देख्छु
जोड्ने शक्ति देशवासी हुन्
जोड्ने शक्ति नेपाली हुन्
देशभक्ति कहिले जागा हुनेहुन्
मातृप्रेमले कहिले आगा हुनेहुन्
म सपनामा जागा नेपाली खोजी रहेछु
म सपनामा आगा नेपाली खोजी रहेछु

मेरो अस्तित्व मेरो देशमा छ
मेरो अस्तित्व मेरो भेषमा छ
न टुक्र्याउ मेरो जाती
न टुक्र्याउ मेरो छाती
म अचेल सपनामा चिच्याई रहेछु
म अचेल सपनामा गुनगुनाई रहेछु
मेरो देश सपनाभरि ढाकिएको छ
मेरो देश सपनाभरि छाएको छ
हट्दैन आँखाबाट किन मेरो देश
हटदैन मुटुबाट किन मेरो देश