दाग
शुषमा मानन्धर
ललितपुर
धमिलो आकाशबाट सांमु विस्तारै ओर्लंदै थियो । दिउंसो देखि परेको पानी केही वेर अघि
मात्रै थामिएको हो । काला बादल सवै फाटिसकेका नभए पनि कतै कतै निलो आकाश र सेता
बादल भने देखिन थालेको थियो । सडकका खाल्डा खाल्डीमा जमेका पानी सुकिसकेका थिएनन् ।
त्यसैले गुडिरहेका गाडीले बाटो हिँड्ने बटुवाहरुलाई मजैले पानी छ्यापी रहेका थिए ।
अफिसबाट छुटेर घर जांदै थिएं । बाटोमा सानो चिया पसल थियो । हेर्दा साधारण लाग्ने
पसल तर चिया मीठो पाइन्थ्यो । चिसोले चियाको तलतल बढेर म त्यहां अडें । भित्र अलि
भीडै थियो । पसल अगाडि केही खाली कुर्सीहरु थिए म चैं कुनाको कुर्सी रोजेर बसें ।
सडकमा हिँडिरहेकी एउटी युवती आफूलाई फोहर पानीका छिटाहरुबाट बचाउन खोज्दै थिई सफल
भइन । बाइकले छ्यापेका हिलो उनको सफा पहिरनमा लाग्यो । रोउं कि हांसु भै ती युवती ।
'हरे ! विचरीलाई पर्नु पर्यो' चिया पसलेले सहानुभूति व्यक्त गर्यो । 'लुगाको
दाग त धोए गैहाल्छ तर… ' मैले वाक्य पूरा गरिनं । पसलेले मलाई हेर्यो अनि कत्ति नै
कुरा बुझेँ झैँ गरी टाउको हल्लायो । मैलॆ भन्न खोजेको कुरा उसले सांच्चीकै बुझ्यो कि बुझेन ठम्याउन भने सकिनं ।
शशीधर मेरो सानैदेखिको साथी । म भन्दा ऊ दुइ चार वर्ष जेठै थियो र स्कूलमा सिनियर
पनि । उमेर र कक्षाको भिन्नताको बावजुद शशीधरसंग मेरो दांतकाटी मित्रता थियो ।
गाउंमा हामी छिमेकी थियौं र एउटै स्कूलमा पढ्थ्यौं । पछि गाउंको घर जग्गा बेचेर हामी
भने काठमाण्डौं बस्न थाल्यौं । शशीधरको परिवार गाउंमै थियो । उसले गाउंमै विहे गर्यो
र पछि यता आएर स्कूलमा मास्टरी गर्न थाल्यो । गाउंमै बसी घर खेत हेर्न परिवारले
गरेको अनेकौं अनुरोधलाई उसले मानेन । ऊ काठमाण्डौं आएर केही नयां कुरा गरी परिवारमा
देखाउन चाहन्थ्यो । त्यसैले परिवार नै नलिई ऊ एक्लै भए पनि शहर आयो । उसको डेरा
हाम्रो घरभन्दा त्यति टाढा थिएन जसले गर्दा हामी सजिलै एक अर्का कहां आवत जावत
गरिरहन्थ्यौं ।
पढाई सकेर मैले जागिर खाँए र जागिरमा यत्ति रमाएं कि वितेका वर्षहरुमा मलाई विहे
गर्नु पर्ने होशै भएन । होश त तब आयो जब साथीहरु प्राय सवै दुइचार जना छोराछोरीका
बाउ बनिसकेका थिए । भेट भए पिच्छै उनीहरु मलाई विह गर्न दवाब दिन्थे । यो उमेरसम्म
मैले विहे नगर्नुको सांच्चीकै कारण केलाउने हो भने आजसम्म कसैले मलाई आकर्षित गर्नै
सकेका थिएनन् र यो पनि हुन सक्छ शायद म पनि कसैको आकर्षणको केन्द्र बन्न सिकंन हुंला
।
शशीधर पनि मलाई विहे गर्न बराबर कर गरिरहन्थ्यो । मैले विहे गरे ऊ गाँउबाट आफ्नो
परिवार ल्याउँछु भन्थ्यो । दुवैकी श्रीमतीलाई एक अर्काको साथ हुन्छ र उसकी
श्रीमतीलाई गांउ छाडिएको भान हुंदैन भन्ने उसको तर्क हुन्थ्यो । विहे बारे मेरो
छुटटै राय थियो । हतारमा विहे गरेर
फुर्सदमा पछुताउन म चाहन्न थिएं । उसमाथि मेरो
परिवारले मेरो विहे गर्ने निर्णय ममाथि नै छाडेकाले यसतिर म हतारिएको थिइनं । मैले
रश्मीलाई नभेटेको भए शायद अझसम्म पनि मेरो मनमा विहेको कुनै अनुराग जन्मिने थिएन ।
रश्मी निकै राम्री थिई । तर उसका सौन्दर्य सवै बगेर उसका चम्किला र मोहक
आंखाहरुभित्र मात्र सीमित रहेका थिए । आफ्नो कामसंग मतलब राख्ने अनि थोरै बोल्ने
बानी परिसकेकी रश्मीका पानीदार आंखाहरु भित्र सधैं एउटा गहिरो मौनता हुन्थ्यो । त्यो
स्थीर शान्त तलाउ जस्तो आंखा र उसको गम्भिर छविले गर्दा नै म ऊतिर तानिएको थिएं ।
रश्मी शशीधरको डेरासंगै कोठा लिएर बस्थी । उसको एउटा सानो छोरा थियो र ऊ विधवा थिई
। शशीधरबाट मैले सुने अनुसार उसको अनमेल विहे भएको थियो । गरिब माइतीको कारण अधबैंसे
धनी बुढोसंग उसको विहॆ भए पनि बुढोको मृत्युपछि भने त्यो घर उसको लागि यातनागृह
बनेको थियो । सांझैविहान दुख गरेर पनि उसले जस पाउंदिन थिई । अति भएपछि ऊ घर छाडि
माइतीमा बस्न आई । माइतीमा परिवार ठूलो थियो । मध्यम स्तरको आर्थिक अवस्था भएको
माइतीमा उसको बसाइलाई लिएर प्रायः कचपच भै रहन्थ्यो । विहे भैसकेका छोरीहरु भारका
रुपमा सम्झिने समाजभित्र रश्मीको माइती पनि कुनै अपवाद थिएन । दिनहुंको घरमा हुने
किचकिचको मानसिक यातनाबाट बच्न ऊ त्यहांबाट पनि निस्केर डेरामा बसेकी थिई । एउटी
युवतीले संघर्ष गरेर एक्लै बसेको पनि समाजले देखी नसहने रहेछ । स्वार्थलोलुप धेरै
मान्छेहरु उसले एकल महिलाको रुपमा यसरी बस्नुलाई हल्का रुपमा लिन खोज्थे
। स्वार्थका
लागि बोल्थे र लेनदेनका भाषा बुझाउन खोज्थे । उसले ती सवैबाट आफूलाई बचाउंदै आएकी
थिई । शशीधरको मुखबाट रश्मीको वारेमा यस्ता कुरा सुन्दा मलाई हुनसम्मको आश्चर्य र
दुख लागेको थियो । त्यति राम्री र सोझी भैकन पनि दुख भोग्नु पर्ने उसको नियतिमा
मलाई साह्रै अपशोच लाग्यो ।
उसको बारेमा थाहा पाएदेखि शशीधरको घरमा जाने मेरो क्रम झन् बढ्यो । साथीकहां जाने त
एउटा बहाना मात्र थियो मनले सधै रश्मीसंग जम्काभेट भैहालोस् भन्ने चाहन्थ्यो ।
शशीधरकोमा दुइचार चोटी ऊसंग भेट पनि भएकोथ्यो । मलाई देखेर ऊ संकोचपूर्वक मुस्काउंथी
। जब म त्यहां हुन्थें ऊ धेरै बेर बस्दिनथी । शशीधरसंग मैले अप्रत्यक्ष रुपमा
रश्मीको वारेमा धेरै चोटि कुरा खोतल्ने प्रयास गरिसकें । मेरो अनवरत जिज्ञासा प्रति
मैले शशीधरको आँखामा थुप्रै आश्चर्य देखेको छु र यो स्वाभाविक पनि थियो । किनभने म
आकर्षक व्यक्तित्वको कमाउ पुरुष थिएं र मैले रश्मीभन्दा उपयुक्त युवती पाउन सक्थें
। मेरो ऊप्रतिको आसक्तिमा उसले कहिल्यै मुख फोरेर आफ्नो प्रतिकि्रया जनाएन । तर
जान्दथें कि रश्मी प्रतिको मेरो उत्सुकता ऊबाट लुकेको भने थिएन ।
ऊ शशीधरसंगै एउटै स्कूलमा शिक्षिका थिई । एउटै स्कूल र छिमेकी पनि हुंदा रश्मी
शशीधरलाई दाजु झै मान्दथी त्यसैले कुनै समस्या पर्दा ऊ शशीधर कहाँ
निसँकोच आइरहन्थी
।
सांझदेखि हल्का पानीका छिटा पर्न थालेको थियो । सात बज्दैथियो बोर लागेर म शशीधरकहां
गएं । ऊ खाना पकाउंदै थियो । आफ्नो परिवार ल्याएको भए उसले यो टन्टै गर्नु
पर्दैनथ्यो भन्ने मेरो व्यंग्यमा ऊ केवल हांस्यो मात्र । बाहिर हावा हुरी पनि चल्न
थालेको थियो । लोडसेडिङको पालो नभए पनि शायद सम्भावित आंधीको कारणले बत्ती पनि
निभ्यो । म घर फर्कुं या नफर्कुं भन्ने दोधारमा थिएं ढोका ढक्ढकाएर हठात् रश्मी
भित्र पसी । उसले कांधमा छोरा बोकेकी थिई । शशीधर आत्तिए
"के भयो बैनी ?" रश्मीले केही
बोल्न सकिन । मैनवत्तिको प्रकाशमा उसका चम्किला आंखा भिजेका देखिन्थे
। "दाइ छोराले
वान्ता पनि गरेको छ विहानसम्म त ठीकै थियो । एक दुइ घण्टा अगाडिदेखि के भयो के भयो
।" आमारुपी उसको मन आत्तियो । शशीधर र मैले बच्चाको निधार छामी हेर्यौं ऊ भुङग्रो
झै तातो थियो । बाहिर मेघ गर्जनसंगै आंधीहुरीको ताण्डव नृत्य शुरु भयो । मुसलाधार
पानी पनि पर्यो । एकैछिनमा सडक चकमन्न र निस्तब्ध भयॊ । आवाज भन्नु केवल
झरीको थियो
। साधनको अभावमा तत्कालै बच्चालाई राती डाक्टरकहाँ लाने अर्को कुनै उपाए थिएन ।
रश्मीले फर्किन चाही
। "यस्तो पानीमा…विरामी बच्चालाई कहां लानुहुन्छ
? एकैछिन
पर्खनुस् न ।" मेरो कुरा सुनेर अप्ठयारो लागे पनि ऊ छोरालाई च्यापी सोफामा बसी ।
शशीधरले आफूसंग भएको सिटामोल ख्वाउनुको अलावा हामीले पालोपालो बच्चालाई पानी पट्टी
लाइरह्यौं । अलि विसेक भएर होलाबच्चा निदायो । अंध्यारो रात, हावाहुरी र
झरी हामी
तीनै जना शशीधरको कोठामा थुनियौं । त्यो रात हामी कोही निदाएनौं । रश्मीले बच्चाबाट
आँखा हटाइन मैले रश्मीलाई हेरिरहें र शशीधरले हामी दुवैलाई हेरिरह्यो । आधी रातमा
पानी थामियो । बच्चाको ज्वरो केही घटिसकेको थियो । शशीधरले बच्चा बोकेर रश्मीलाई
उसको डेरा पुर्याउन गयो रिमरिम विहान पनि नहुंदै ।
विहान सवेरै म पनि घर
फर्कें । त्यसको केही दिनमै अफिसको कार्य विशेषले डेढ महिनाको
लागि विदेश जानुपर्यो मैले । यसपालिको फर्काइमा रश्मीसंग केही गम्भिर कुरा गर्ने
मनस्थिति बोकेर म सिधा शशीधर कहाँ पुगें । ऊ घरैमा थियो । मलिन र गम्भिर देखिएको
शशीधरसंग विना भूमिका मैले स्पष्ट रुपमा रश्मीको बारेमा आफ्नो निर्णय सुनाएँ र ऊसंग
सहयोग मागें । ऊ केही बोलेन । मेरो अनुहारमा प्रतिक्रियालाई तौलि सकेपछि उसले
सुस्केरामा भन्यो
"अचेल ऊ स्कूल पनि आइरहेकी छैन
।"
महिना दिनको मेरो अनुपस्थितिमा परिदृष्यहरु परिवर्तन भैसकेका थिए । रश्मीकी घरबेटीले
निकै छेड हानेर लान्छना लगाएकी रहिछन् उसलाई । आफ्नो एक जना विधुर आफन्तसंग विहेकॊ
लागि राखिएको उनको प्रस्ताव रश्मीले नम्रता पूर्वक अस्वीकार गरेकोको सम्भवत त्यो
साटो फेराई पनि थियो । किनकी शशीधर भन्दै थियो तिनी जतिबेला पनि त्यॊ रातको कुरालाई
मसला लगाई बढाइचढाइ रश्मीले सुन्ने गरी अरुलाई बताइरहन्थिन् रे ।
म रश्मीको पुरानो
डेरामा जांदा त्यहां ताला झुण्डिएको थियो । मैले घरबेटीसंग रश्मीको बारेमा सोधें ।
उनले मलाई तल देखि माथिसम्म शंकाको दृष्टिले हेरीन् र
'रश्मीको के साइनो पर्ने' भनी
सोधिन् । मैले
'उसको साथी हुं' भनेपछि उनले रश्मीले डेरा छाडेर गैसकेकी बताइन् । कोठा
कता सरेकी होला भन्ने मेरो प्रश्नमा उनले नाक विगार्दै भनिन्
"मलाई के चासो, सवैको
ठेक्का लिन सक्छु र
? रात रातभरि बाहिर हराउने अनि मध्यरातमा त्यही मास्टरसंग फर्किने
त्यस्तो छाडापन म त सहन सक्दिन । बच्चाको विमारी त बहाना पो हो । विरामी भएको भए
हामीलाई भन्नु पर्दैनथ्यो
? त्यति राती मास्टर कहां लुसुक्क जाने
? मैले झन विचरी भनेर
कत्रो घर बसाई दिउं भन्ने सोचेकी थिएं
। घर गरेर खाने खालकी हैन रहिछ । हेर्दा पो सोझी
जस्ती । सधैं मास्टरसंग लागि रहन्थी
। ठीकै भो बेलैमा पोल खोलियो । यस्तो कुराले हाम्रा
चेलीबेटी विग्रँदैनन् कि क्या हो
। एक रातको कुरा भनेर हुन्छ विष एक थोपा नै काफि भै
हाल्छ नि… ।" घरबेटीले मनको तीतो ओकलिन् । मैले अर्को केही बोल्न नपाउंदै उनले
ढयाम्म ढोका लगाईन् ।
किँकर्तव्यविमूढ मैले शशीधर सम्झें । मेरो सोझो साथीले अपयश कमाएछन् । विचरा, के दोष
थियो उनको ? रश्मीको के विराम थियो
? पछि थाहा पाएँ रश्मीले आफ्नो छोराको लागि भए पनि
स्थिति सम्झि दिन निकै अनुनय गरेकी थिई घरबेटीसंग । शशीधरले पनि संगै गएर उनीहरुलाई
यथास्थिति बुझाउन खोजेको थियो । तर दुधको साक्षी विरालो भनेर घरबेटीले कसैको कुरा
सुनिनन् । उल्टै अनेक कुरा सुनाएर आरोप लाउन बांकी राखिनन् । स्कूलवाट आउंदा जांदा
टोलमा हरेक दिन सुन्नु पर्ने व्यंग्यवाणहरु र विझाउने दृष्टिहरुले उसलाई
पछयाइरहन्थ्यो । ऊ आफ्नो चरित्र माथिको लान्छना सहन नसकेर मात्र हैन दाजु जस्ता
शशीधरलाई पनि शंकाको घेरामा राखिएको पीडाले पछि कसैलाई केही नभनी उसले डेरा छाडी ।
कता गई अहिले सम्म थाहा लागेको छैन न शशीधर जान्दछ ।
हेर्ने आँखाका सीमाहरु सांघुरा
भए पछि कसैको केही लाग्दैन । धेरै भनाइहरु सुनेर पनि सहन सक्ने शशीधर त आखिर पुरुष
थियॊ । कर्कलाको पात जस्तोपानी लागेर पनि ओभानो हुन सक्ने । तर रश्मी…।
"हजुर चिया चिसियो" पसलेको आवाजले झस्किन्छु । चिया छचल्केर मेरो सर्टमाथि
पोखिन्छ । सफा र सुकिलो कपडामा लागेको दाग सानै भए पनि टड्कारो देखिन्छ । केही छैन यो
दाग त धुंदा केही समयमा जाला तर रश्मीको चरीत्रमाथि लगाइएको दाग कसरी र कहिले सम्ममा
जाला म आफैलाई प्रश्न गरिरहेछु ।