मे २६

यहाँ पुगेपछि क्यासल रक अवश्य पुग्नु भन्ने ल्फोरिडा निवासी कथाकार मित्र सुन्दर जोशीको आग्रह भने पुरा गर्न सकिएन । क्यासल रकलाई केन्द्र विन्दु बनाएर वहाँले लेख्नुभएको कथा खसखस डट कममा प्रकाशोन्मुख भएकोले पनि वहाँले विशेष आग्रह गर्नुभएको थियो । तर…सोचेको र खोजेको सबै कहाँ हुने रहेछ र ? क्यासल रक के हो र कस्तो छ भन्ने कुरा देख्न नपाए पनि कथाबाटै जानकारी लिने धोको राखेको छुँ । यति थाहा भयो कि यो स्थान पहाडको टुप्पोमा छ र यो किल्ला जस्तो भएको र चट्टानबाट बनेकोले यसलाई क्यासल रक भनिएको हो । बाँकि कुरा सुन्दरजीको कथाले नै उद्घोष गर्ने छ ।

रेड रक्स
भाई (दाईको कान्छो छोरा गौरव) सँग रेड रक्स भन्ने ठाउँमा घुम्न गईयो । घरबाट साठी माईलको दूरीमा रहेको यो विशाल रातो ढुँगालाई रेड रक्स भनिँदो रहेछ । दुई विशाल रातो चट्टानको विचमा खुल्ला प्रेक्षालय (एम्पि थिएटर) रहेछ जहाँ बेला बेलामा कन्सर्ट सांगितिक  भेला हुँदो रहेछ । यस प्रेक्षालयको विशेषता भने मंचबाट टाढा या पछाडि बस्ने व्यक्तिलेपनि विना माईक या स्पिकर नै कलाकारको आवाज सुन्न सक्दो रहेछ । मंचमा बोलेको आवाज दुई चटटानको भित्तैभित्ता प्रतिध्वनित भएर पछाडिको श्रोताले सुन्ने रहेछ । हरियो डाँडाको फेदैमा रहेको यो रातो चट्टान किन र कसरी आयो भन्ने प्रश्न सजिलै उब्जन सक्छ रेड रक्सको प्रेक्षालयमा उभिएर हेर्दा । सन् १९५१ देखि यहाँ कन्सर्ट शुरु भए यता थुप्रै ख्यातिप्राप्त गायकहरुले आफ्नो गायन कला प्रस्तुत गरिसकेका रहेछन् । यहाँ गायन कला प्रस्तुत गरेर प्रख्यात हुन चाहने कलाकारहरुलाई शुभकामना अनि भएकाहरुलाई बधाई भन्दै घरतर्फ लाग्यौँ ।


बाटोमा भाईले रक्सी बिक्री गर्ने पसलको सन्दर्भमा सँसारको सबैभन्दा ठुलो रक्सी पसल कोलोराडोमा नै भएको बताए । तुरुन्तै हेर्ने रहर जाग्यो र भाईले गाडीपनि तुरुन्त उतैतर्फ मोड्यो । डेवको लिकर्स नामक उक्त पसल नभन्दै विशाल रहेछ । एउटा सुपर मार्केटको आकार अर्थात १०२,००० स्क्वायर फिटमा फैलिएको यस पसलमा नौ हजार प्रकारका वाईन, चौबिस शय प्रकारका रक्सी अनि आठशय प्रकारका बियरहरु राखिएका छन् । विश्व किर्तिमानको अभिलेख राख्ने गिनेस बुक अफ वल्र्डमा दर्ता गराउन सफल भएको यो पसल जोर्डनबाट आएका आप्रवासीबाट सन् २००६ मा खोलिएको रहेछ । डेनभर नजिकको थ्रोण्टन नामक शहरमा अवस्थित यो पसलमा तपाई  डेनभर पुग्नुभयो भने एकपटक अवश्य पस्नुहोला । केहि वाईन,  रक्सी या वियर खरिद गर्नु छ भने मौका नछोड्नु होला । यहाँ अन्य पसलमा भन्दा सस्तो भएको मैले अनुभन गरेँ ।..... क्रमश: