मे २५:
रकि माउण्टेन, एस्टेस पार्क पुग्दा
कोलोराडो भ्रमण पशुपतिको जात्रा सिद्राको व्यापार झै गरेको छुँ । खसखस डट कमकोलागी
मित्र ज्ञानेन्द्र गदालजीले अन्य साहित्यकार मित्रहरुसँग टेलिफोनमार्फत सम्पर्क
गराई दिनुभएपछि वहाँहरुको सहयोग निरन्तर जारी रहेको छ । त्यसैले यो भ्रमणबाट
एक त दाईको लामो समयदेखिको निम्ता पुरा गर्न पाईने अनि त्यस्तै सहयोगी साहित्यकार
मित्रहरु आचार्य प्रभा, भुपेन्द्र महत, विजयराज शर्मा, प्रमिला शर्मा अनि ज्ञानेन्द
गदाल स्वयँसँग भेट गर्ने धोकोपनि पुरा हुने । यहि कल्पना मनमा गुन्दै मख्ख पर्दै
हिजो ओछ्यानमा लडेको म कति बेला निद्राको काखमा पुगेछु पत्तै भएन ।
बिउँझिएर घडी हेर्दा नौ बजिसकेको रहेछ । 'लौ मार्यो भुसुक्कै सुतिएछ' भनेर जर्याक
जुरुक्क उठेँ, अनि फेरि घडि हेरेँ । अनि 'धत्, यो त डिसीकै समय हो नि ! यहाँ त
भर्खर सात बज्यो लाटा !' आफैलाई भनेँ । म बसेको कोठाको झयालबाट हेर्दा पर पर सम्म
केहि घरहरुका थुम्काकासाथ मैदान नै मैदान देखिने । सामुद्रिक किनारबाट समुद्र हेर्दा
क्षितिज समुद्रमा आएर अँगालो हालेको जस्तो देखिन्थ्यो भने अहिले हेर्दा जमीन र
क्षितिजको प्रेमालाप र प्रणय भईरहेको जस्तो लागी रहेको छ । यो क्षितिजले कतै
समुद्रसँग पारपाचुके गरेर जमीनसँग प्रणय गाँस्न त आएको होईन ?
बिहानको पेट पुजा गरेपछि दाई, भाउजु, दिवस
(दाईको माईलो छोरा) बुहारी स्मृति र नाति रकि
माउण्टेनको भ्रमणकोलागी निस्क्यौं । रकि माउण्टेन एक पहाडी श्रृंखलाको नाम हो । यो
मेक्सिकोदेखि अलास्कासम्म २७०० माईल लामो भएर फैलिएको रहेछ । यस श्रृँखलालाई उत्तर
अमेरिकाको मेरुदण्ड पनि भनिँदो रहेछ । कोलोराडोमा रहेको यस श्रृंखलाको सबैभन्दा
अग्लो भाग १२ हजार १८३ फिटको रहेछ । यस श्रृंखलामा पर्यटनकोलागी पहाडको उँचाईसम्म
जान सडक बनाइएको छ । घुमाउरो र तल माथि हुँदै बग्ने सडकको दाँया बाँया हिउँदमा परेको
हिउँ अझै पग्लन नसकेर जमेको देख्दा अनौठो अनुभूति भयो । जमेका हिउँ झण्डै ३५ देखि
३६ फिटसम्मको मोटो रहेछन् र पग्लिन आतुर देखिन्थे तर कमलो घाम अनि एकाएक मौसम
बदलिएर चिसो न चिसो भैदिने यस क्षेत्रमा यो हिउँको पग्लने धोको शायद कहिल्यै पुरा
नहुन सक्छ बरु चक्र घुमे झै घुमेर आउने
अर्को हिउँदमा थप हिउँ जम्ने सम्भावना
देखिन्छ ।
त्यस्तै पहाडको उँचाईमा जाँदैगर्दा कतिपय रुखहरु तालु खुईले झै एकातिर मात्र पात
भएको देखियो । डाँडाको भीरमा अकास्सिएका ति रुखहरु हावा चल्ने दिशातर्फ ताछेको या
तालु खुईल्याएको जस्तो देखिँदो रहेछ । पहाडको त्यो उँचाईमा रुखको एकापट्टि पात नै
नहुने गरि कुन वेगले हावा चल्दो होला अनुमान गर्न सकिन्छ ।
मलाई ति रुखहरुको प्रशंसा गर्न मन लाग्यो जो हावाको जति ठक्कर खाए पनि भिरमा आफ्नो
जीवन जिउन संघर्ष गरी रहेका छन । जीवन जिउनुको उदाहरण बनि रहेका छन ।
एकातिर ठाडो भीर र अर्कातिर हिउँको भित्ता छिचोल्दै हामी अल्पाईन भिजिटर सेण्टर
पुग्यौ । पार्किंग लटमा गाडि पार्क गरेपछि त्यहाँबाट टुप्पोमा पुग्ने प्रयत्न गरियो
दाई वहाँको जेठो नाति विराज अनि म । गोरेटोमा जमेका हिउँ छिचोल्दै उकालो चढ्ने
जमर्काेमा विराज तिन पटक लड्यो अनि हार खाएर गाडी भएतर्फ लाग्यो । म र दाई भने स्वाँ
स्वाँ गर्दै हिउँ छल्दै अलि अलि पग्लेर बगेको पानीले बनाएको छिपछिपे हिलोमा टेक्दै
उकालो चढ्दै थियौ । चिसो हावा अनि लगाएको चप्पलबाट खुट्टामा सजिलै चिसो पसेकोले
खुट्टा ठिहिर्याउन थालेकोले हिम्मत हारेपनि बहादुरीकासाथ माथि नगई बिचबाटै फर्कन
बाध्य भयौ । र ओर्हालो लाग्यौ ।
रकि माउण्टेन जाँदा र आउँदा देखिएका श्रृँखला देख्दा यस्तो त मेरो देशमा पनि
छ तर
पर्यटनकोलागी यहाँको जस्तो व्यवस्था किन गरिँदैन भन्ने प्रश्न मेरो मनमा खेलिरह्यो
। फेरि सबै कुरामा सरकारकोमात्र मुख ताक्नु हुन्न भन्ने उदाहरण हो रकि माउण्टेन
पार्क । रकि माउण्टेनलाई राष्ट्रिय पार्कमा परिणत गराउने स्थानिय वासिन्दाहरु नै
हुन जसले सरकार तथा सदनलाई घचघच्याई सन् १९१५ मा यस राष्ट्रिय पार्कको अवधारणा
निर्माण गरायो ।
बाटोमा एस्टेस पार्कमा नेपालीकै रेष्टुँरामा मम खाईयो । एकछिन
बसुँजेल ग्राहकको आवत
जावत देखेर र नेपालीको व्यवसाय फस्टाएको देख्दा खुशी लाग्यो । मम त्यत्ति मीठो नभएको
अनुभव भएपनि यहाँ मम खाने रहर चाहि स्मृतिको थियो । त्यहाँ दिवसले
मेरो केहि फोटो
खिचेपछि घरतर्फ रवाना भइयो । यो एसटेस पार्क अमेरिकामा अध्ययनरत नेपाली
विद्यार्थीहरुकोलागी गर्मीको विदामा काम गर्ने थलोको रुपमा रहेछ । मेरिल्याण्डको
ओसन सिटिमा विभिन्न राज्यबाट काम गर्न आउने जस्तै यहाँपनि विभिन्न राज्यबाट बिदाको
समयमा आई काम गर्दा रहेछन् । र यहाँपनि नेपाली भनेपछि विश्वासको पात्र बनेका भएर
सजिलै काम पाउँदा रहेछन् ।
आज झण्डै १६० माईलको यस यात्रामा दिवसलेमात्र गाडी चलाएका
थिए ।
घरमा आईपुग्दा झण्डै आठ बजिसकेको रहेछ ।
....क्रमशः