बोटबिरुवाको महत्व



अनुप कार्की
कक्षा १०
न्यु लिरा उ.मा.वि. गैह्रीधारा काठमाडौँ ।

वसन्त ऋतुको समय थियो । वरिपरि थरिथरिका फूलहरु फुलिरहेका थिए । रुखहरुमा हरिया पातहरु लहराइरहेका थिए । तर सविता भने निराश थिइन् । उनको आँगनमा एउटा पनि बोटबिरुवा थिएन । अनेकौँ करकाप पछि उनको बुबाले उनलाई नीमको बोट ल्याइदिन्छु भनेका थिए । तर बेलुकीको छ बजेसम्म पनि सविताको बुबा आएका थिएनन् । तर सविताले धेरै कुर्नुपरेन । उनको बुबा आए हातमा नीमको बोट लिएर । बोट सानो थियो सानी सविताको खुट्टा जत्रै । तर पातहरु भने हरिया थिए ।

सविताको बुबाले त्यो बोट कहाँ रोप्ने भनेर सोधे । सविताले यसो हेरिन् । उनले आँगनको एउटा कुना रोजिन् । बुबाले एउटा खाडल खन्नुभयो । अनि त्यो बोटलाई त्यहीं रोपे । सवितालाई खुब रमाइलो लागिरहेको थियो । उनले बुबालाई माटो हाल्न सहयोग गरिरहेकी थिइन् । माटोले गर्दा उनको जामा मैलो भयो । तर चिन्ता थिएन । आफ्नो आँगनमा हरियो बोट रोप्न पाउँदा उनलाई हर्ष थियो ।

सवितालाई त्यो बोट असाध्यै मन परेको थियो । हरिया सिलिक्क परेका पात खैरो डाँठ । सविताले त्यो बोटको खुब राम्रोसँग ख्याल गर्न थालिन् । वरिपरि हरियो वातावरण भएर होला यति सानै उमेरमा बोटबिरुवाप्रति चासो बढेको । साँच्चै नै सवितामा प्रकृतिप्रति उत्सुकता थियो । कक्षामा बोटबिरुवा रोप्नुपर्छ भनेर गुरुले भनेको कुरा याद थियो । विद्यालयमा ठूला दाइदिदीले बोटबिरुवा रोपेको पनि खुब चाख दिएर हेर्थिन् । यिनै कुराहरुले उनमा प्रकृति र बोटबिरुवाप्रति चासो बढेको थियो ।

सधैंजसो सविता बोटमा पानी हाल्थिन् । त्यसको राम्रो हेरविचार गर्थिन् । तर बोटबिरुवा किन रोप्नुपर्छ भनेर उनलाई थाहा थिएन । उनलाई यसप्रति चासो बढेको थिएन । उनलाई बोट छ भन्ने मात्र थियो । उनमा तब चासो बढ्यो जब गुरुले उनलाई बोटबिरुवाको महत्वका बारेमा लेखेर ल्याउनू भन्नुभयो । सविताको आँगनमा बोट थियो तर उपयोगिता के भनेर उनलाई थाहा थिएन । घरमा आएपछि उनले नीमको बोटमा पानी हालिन् र फेरि एकपटक हेरिन् र सोचिन्- यसको उपयोगिता के ?

साँझ बुबा आउनुभयो । आमाले खाना पस्केपछि सबैले खाए । राति सुत्ने बेला भयो । मौका यही थियो सविता आफ्नो बुबा नजिक गइन् र लाडे स्वरमा सोधिन्- "बा त्यो बोटको उपयोगिता के ?"
 
एकछिन त बुबा जिल्ल परे र मुसुक्क हाँसेर भने- "ए मेरी सानी रानीलाई बोटको उपयोगिताका बारेमा जान्न मन लाग्यो ? ल सुन बोटबिरुवा हाम्रा लागि धेरै उपयोगी छ । अहिले त सानो छ तर त्यो पछि गएर रुख बन्छ ।"

"रुख बनेपछि के हुन्छ ?" सविताले बीचमा कुरा काटिन् ।
"पख न, म भन्दै छु नि !" बुबाले मायालु स्वरमा भन्नुभयो- "रुख भएपछि यसबाट घाँसदाउरा मिल्छ । यसले हामीलाई शीतल छहारी प्रदान गर्छ । गर्मी महिनामा तातो घाम छल्न मद्दत गर्छ । यसैगरी कुनै रुखमा फल लाग्यो भने खान पाइन्छ ।"
"हाम्रो रुखमा पनि फल लाग्छ ?" सविताले सोधिन् ।
"अहँ लाग्दैन । यो नीम हो । यसको पातको ठूलो उपयोगिता छ । यसको पात औषधि हो । रोग लागेको बेला खायो भने निको हुन्छ" बुबाले भने । सविताले टाउको हल्लाइन् ।
"सुन, रुखको अरु पनि उपयोगिता छ । रुखबिरुवा रोपेको ठाउँमा बाढीपहिरो जाँदैन । यसको बलियो जराले बाटोलाई दह्रोसँग समात्छ र पहिरो जाँदैन । त्यसैगरी यो खोलानालाको वरिपरि रोप्यो भने पानीको बहावलाई नियन्त्रण गर्छ जसले गर्दा बाढी जान पाउँदैन । अँ अर्को कुरा पनि सुन रुखबिरुवा बढी भएको ठाउँमा पानी पनि राम्ररी पर्छ ।" बुबाले भने ।
"रुखबिरुवाले गर्दा कसरी पानी पर्छ ?" सविताले जिज्ञासु स्वरमा भनिन् ।
"अचम्म लाग्यो होला होइन रुखले गर्दा पानी पर्छ भन्दा । रुखले जमिनमा भएको पानी आफ्नो खाना बनाउन प्रयोग गर्छ । तिमीले त्यो पानी हाल्छौ नि त्यो पानी बोटले सोस्छ । सबै पानी त रुखलाई चाहिँदैन । त्यसैले बाँकी रहेको पानी वाष्पीकरण प्रकृयाबाट वाफ बनेर आकाशमा पुग्छ र बादल बन्छ अनि पानी पर्छ बुझ्यौ अब ?" बुबाले सोधे ।
"अँ बुझें । तर वाष्पीकरण भनेको चाहिँ बुझिनँ ।" सविताले भनिन् ।
"ए वाष्पीकरण भनेको पानी तातेर वाफ बन्ने प्रकृया हो" बुबाले भने ।

बल्ल सविताले बुझिन् । उनले अझ राम्ररी बोटको स्याहार गर्ने सोचिन् । झ्यालबाट बोटलाई हेरिन् । अँध्यारो भएकाले बोट राम्ररी देखिएन । तर चन्द्रमाको प्रकाशमा बोट अस्पष्टरुपमा देखियो । त्यसपछि सविता ओछ्यानमा पल्टिन् । पछि त्यो बोट रुख बनेर त्यसको शीतल छहारीमा थकाइ मारेको मीठो कल्पना गर्दै उनी निदाइन् ।