विश्वाश एउटा यात्रीको


आशा गुरुङ
इजराएल


म एउटा यात्री जिन्दगीको,
हिड्दैछु अझै पनि समायन्तर संगै निरन्तर-निरन्तर
कुनै दिन त्यो पर क्षितिजमा पर्खिरहेको
उदेश्यको देउरालीमा बिसाउने आशाहरुमा
हो सुरुवात त निकै अगाडि भइसकेको थियो
तर बिडम्बना ! कतै आँफै होस् गुमाउन पुगेछु
पाइलाहरु त रोकिएको थिएन
केबल मडाँरिदै थिए समयको आबेगमा
गन्तब्य नभएको पनि होइन
तर लाग्छ दासी हुन पुगेछु ती असहाय हालतहरुमा
म आँफैमा कमजोरी पनि त कहाँ थियो र
समर्पण गरेछु आँफैलाई त्यो विवसताको हुरीमा
अझै हिड्दै थिए बेहोशी झै
तर बलबान समयले ल्याइ पुर्यायो जिन्दगीको अर्कै मोड्मा
अनि बिउँझाइदियो र  छाडिदियो उही सपनाको संसारमा
उस्तै सपनाहरु छचल्किएकै छन
आज पनि मेरो मानसपटलमा
सपना देखनु गलति होइन न त अधर्म नै
फेरि आज एउटा पाइला अघि सारे जिबनको गोरेटोमा
जति हावा हुरी आए पनि
जे-जस्तोले तगारो हालेपनि
अब हल्लाउन अनि दबाउन सक्दैन
मेरो अटुट विश्वाश अनि अपूर्ण सपनाहरुमा
म हिँद्छु र हिँडिरहनेछु
त्यो मेरो सपनाको चौतारी नभेटेसम्म
मेरो आत्माले तब सम्म शान्ति पाउँदैन
जब सम्म मेरा यी पाइलाहरुले अनि सपनाहरुले
गन्तब्यको छात्तीमा सास नफेरेसम्म ।