यात्रा संस्मरण:

विना भिषाको यात्रा



बिनोद खड्का
दुवाकोट, भक्तपुर
हाल:  दोहा, कतार

कुरा सन १९८८ को हो अर्थात २० बर्ष पुरानो कुरा । म काम गर्ने अफिस नेपाल वायुसेवाले मलाई एक दिनको लागी दुवईको यात्रा गर्ने आदेश दिएको थियो । अर्थात अफिसियल कामको लागी एक दिनको विदेशको यात्रा गर्नु पर्ने भएको थियो अझ भन्दा विदेश यात्रा गर्ने अवसर मिलेको थियो । काम पनि धेरै गाह्ो थिएन सिर्फ केही बाकस हवाई टिकट दुवईको अफिससम्म पुयाउनु थियो । यात्राको अनौठो र हाँस उठ्दो पक्षचाँही के थियो भने मसंग यो यात्राको लागी भिषा थिएन । दुवईको अफिसको लागी टिकट यति जरुरी भयो कि भिषा माग गर्ने समय पनि रहेन । यता भनिएको थियो कि मिले शहर छिर्नु नमिले एयरपोर्टमा नै टिकट बुझाएर एयरपोर्टबाट नै फर्किनु । त्यतिखेर हाम्रो कम्पनीको जहाज काठमाँडौबाट दुबई हुदै जर्मनीको फ्रान्कफर्ट र बेलायतको लण्डनसम्म पुगथ्यो । मेरो कार्यक्रम अनुसार म बिहानको ११ बजेतिर दुबई उत्रने र भोलिपल्ट बिहान पश्चिमतिरबाट फर्कने सोही जहाजमा नेपाल फर्कन्े थियो । यस अर्थमा मलाई शहर छिर्न नपाए पनि घाटा चाही केही परिहाल्नेवाला थिएन । त्यसो त त्याहाँको मेनेजर घोटानेले भनेका थिए कि उनले एयरपोर्टमा नै भिषा व्यवस्था गर्नेछन । यदि भनेको जस्तै भई हालेमा दुबई शहर देख्न पाउने सम्भावना पनि केही हदसम्म थियो ।

अघिल्लो दिन नै टिकटको बाकस एयरपोर्ट पुराएर साँझमा घर फर्के । भोलिपल्ट बिहानै उडान थियो । मन बहुत प्रफुल्लित थियो दूई कुराले । पहिलो कुरा थियो त्यतिखेर सुने अनुसार डलर भत्ता भएको ठाँउमा डयूटी ट्राभल गर्ने मेरो तहमा म नै पहिलो थिए । दोश्रॊ कुरा थियो म झण्डै साँढे चार घण्टाको उडानमा अरब राष्ट्र् जाँदै थिए त्यो पनि जागिर खाएको दूई बर्षमा नै त्यती लामो उडान । मान्छेले खुसी हुँदा पनि खाना खान सक्दो रहेनछ । त्यही भयो मलाई पनि । कहिले भोली होला भन्नेमात्र भई रह्यो ।

भोलिपल्ट बिहानै टिकाटाला गरेर एयरपोटको लागि रवाना भईयो । जहाज पश्चिमतिर हानियो । झयालको सिट परेकोले बाहिर केही न केही त देखिनथ्यो । त्यसो त ३५ हजार फिटको उँचाईमा उडिरहेको जहाजबाट के चाही प्रष्ट देखिदो हो र । जहाज डाँडा पाखा खोलानाला र मरुभूमी हुदै मरुभूमी नै हुदै दुबईको एयरपोर्टमा उत्रिदा बिहानको करिब ११ जति बजेको हुँदो हो ।

यात्रुहरुको जहाजबाट ओर्लिने क्रमसँगै मैले पनि ढोकाबाट के पाईला बाहिर निकालेथे मेरी आम्मै आगोको पर्रा जस्तो तातो रापले झयाप्पै पो हान्यो त !  कति गर्मी रहेछनी हो यो देशमा ! लौ बित्यास बाहिर निक्लने हतारले टिकट भएको झोला त निकाल्नै बिर्सिए छ नि ! जहाजबाट निक्लेर भर्याङ्ग  ओर्लेर तल आईपुगि सकेको मान्छे झटृ पछाडी फर्केर के सिढी चढ्न खोज्दै थिए विमानस्थल सूरक्षाकर्मी चिच्याईहाल्यो र मलाई पछाडी जानै दिएन । म वाध्य भएर अगाडी बढ्नुपर्यो । मेरो सातोपुत्लो उड्यो किनभने जुन कामको लागी आएको थियो त्यही नै सम्बन्धित अधिकारीलाई बुझाउनु पहिले नै जहाजमा छुट्यो । त्यसपछि एउटा ठूलो बसमा राखेर सबै यात्रुहरुलाई एयरपोर्ट टर्मिनलमा पुर्यायो । अर्थात म अध्यागमनको अगाडी अरु सबैजस्तै लाईन लाग्न पुगेँ तर बिडम्बना मसँग त्यो देशमा प्रवेश गर्ने प्रवेशाज्ञा भिषा थिएन । एकातिर जुन कामको लागी आएको थिए त्यो पनि पूरा नहुने भयो सामान त जहाजमा नै छुटीहाल्यो अर्कोतिर हाम्रा घोटाने हाकिम पनि देखिएनन । मेरो हालत शुरुमा नै नाजुक भई हाल्यो ।

जे त पर्ला भनेर म अगाडी बड्दै गए अरु यात्रुहरुसँगै । अरु यात्रुहरुसँगै म पनि लाईनमा बसिदिएँ तर किन बसेँ, कहाँ जानको लागी बसेँ, म आफैलाई थाहा छैन किनभने म त त्यही जहाजमा फर्कनु पर्ने मान्छे र भिषा पनि नभएको मान्छे । लाईनमा अगाडी सर्दै गए र अध्यागमन अधिकारीको अगाडी पनि पुगीहाले । हुनु के थियो त्यही भयो अध्यागमन अधिकारीले अध्यागमन अगाडी लस्करै राखेको मेचमा बस भन्यो । म प्रतिवाद नगरीकन अगाडीको मेचमा गएर बसे । अध्यागमनको अगाडी लाईन घट्ने त सवाल नै छैन । मान्छेहरु आएका छन आएका छन । म मूक दर्शक भएर त्यो कहिल्यै नटुँगिने लाईन हेरी रहेको छु एक तमास हेरी रहेको छु । मैले सोचेको थिए कि लाईन टुंगिएला र अध्यागमन अधिकारी आएर मसंग केही पूछताछ गर्ला । तर लाईन पनि टुंगिएन र अध्यागमन अधिकारी पनि म भएतिर आएन । एक पटक घोटाने हाकिम अध्यागमनको अधिकारीसँग कुरा गरिरहेको देखिए म भित्र केही आशाका किरणहरु पलाए । तर उनी क्षणभरमा नै बिलाए । न उनी म सम्म आए न त त्यही उभिएको देखिए । मलाई आशा पलाएको कारण चाँही खाली एक पटक दुबई शहर हेर्ने रहर जागेको थियो । यति पर आई सकेपछि दुबई शहर हेर्ने रहर जाग्नु पनि स्वाभाविक नै थियो । मैले सोचको थिए कि जहाजलाई जर्मनीतिर उडाए पछि घोटाने हाकिम मलाई लिन आउलान । तर हेर्दाहेर्दै हाम्रा यात्रुहरु फेरी अध्यागमनको अगाडी हुदै ट्र्ान्जिट लाउन्जतिर लागेका देखिए । पछि थाहा भएको थियो कि जहाजमा प्राविधिक गडबडी आएकोले जर्मनीतिर उडिसकेको जहाज उडेको केही समयमा नै दुबईमा नै फर्काइएको थियो ।

अध्यागमन अगाडी बसेर तमासा हेर्दा हेर्दै समय गएको पत्तै भएनछ । रात ढल्किसकेछ । एयरपोर्टभित्रको एसिको चिसोले मलाई ज्वरो आए जत्तिकै भईसकेको थियो । विमानस्थलमा काम गर्ने केही भारतिय मूलका मानिसहरु आपसमा मेरै कुरा गदै हिडेको सुनिनथ्यो । कोही त आएर ढाडस पनि दिन्थे । कोही भन्थे चिन्ता नगर तेरो मेनेजर आएर लग्छ । कोही भन्थे भाग्यमानी रहिछस विना भिषामा आँउदा पनि थुनि दिएन । तर जे भए पनि अहिलेसम्म मेरो अफिसको मेनेजर घोटाने मलाई भेट्न सम्म पनि आएका थिएनन । म सानोतिनो कर्मचारीलाई त्यति महत्व नदिनु खासै नौलो कुरो त होईन तर विदेशमा परिचितसंग आश लाग्दो रहेछ सहयोग मिल्छ कि भनेर । आफुलाई ठूलो हुँ भन्ने यस्तो कथित प्रवृती सामान्यतया हाम्रो देशका सबै जसो कार्यालयहरुमा सजिलै देख्न सकिन्छ । त्यसैले आश्चर्य मानी हाल्नु पर्ने कारण भने छैन ।

रातको करीब दश एघार बजेतिर एउटा अरेबियन प्रहरी र एक भारतिय जस्तो देखिने मान्छे मेरो नगिच आएर भने "के खान्छस?"  मलाई यतिखेर तिनीहरुदेखि ज्यादै रीस उठेको थियो । मलाई लागेको थियो कि मलाई उनीहरुले अन्याय गरेका छन । वास्तवमा यस्तो सोच्नु मेरो गल्ती थियो किनभने यसमा मेरो र मेरो अफिस दूबैको गल्ती थियो किनभने बिना भिषामा यात्रा गर्ने त म नै थिए ।

मैले रिसाउँदै भनिदिए म केही पनि खान्न । सायद म रीसाएको देखेर होला उनीहरुले मलाई सोधे ँतैले के गल्ती गरेको छस र तलाई के सम्म कारवाही हुनसक्छ तलाई थाहा छ तँ विना भिषामा यहा आएको छस र तलाई सिधै कारवाही पनि हुन सक्छ” । खोई किन हो सायद यूवा उमेरको कारणले हॊला मैले झटै जवाफ फर्काईहाले "किन कारवाही गर्दैनस त?"  म सारै रुखो पल्टेको थिए ।


तिनीहरुले अरबी भाषामा के के कूरा गरे त्यो त मैले बुझिन तर त्यसपछि तिनीहरु त्यहाबाट गए । एकछिन पछि तिनीहरुका साथमा एउटा हाकिम जस्तो देखिने मोटे अधिकारी म भएतिर आयो । त्यो मोटेले आउने बित्तिकै सोधिहाल्यो के खान्छस भनेर । मैले पनि झटै जवाफ दिई हाले केही खान्न भनेर । त्यसपछि त्यो मोटेले भन्यो तैलै खानाको पैसा तिर्नु पर्दैन । मैले फेरी पनि खान्न भनिदिए । किन नखाने भनेर सोध्यो । मैले भने मलाई तिमिहरुले लेराउने खानामा विश्वाश छैन त्यसैले म कुनै जोखिम उठाउन चाहन्न । मोटे हाँस्यो । मरिमरि हाँस्यो । मोटेले फेरी सोध्यो किन विश्वाश छैन । मैले भने म एक कर्मचारी कम्पनीले पठाएर आएको तर तिमिहरुले मलाई मेरो गल्ती विना नै पछिल्लो १२ घण्टादेखि यसरी राख्यौ । मलाई ज्वरो पनि आँउदैछ । अब तिमिहरुले खाना लेराउदा के गर्छौ गर्छौ के आधारमा म विश्वाश गरौ बरु म भोकै केही दिनसम्म त बाँच्न सकौला नि । मैले घुर्की लगाए ।

फेरी तिनीहरुले आपसमा के के कूरा गरे त्यसपछि मोटे हिड्यो । अर्को चाँहीले मलाई उ सँगै हिड भन्यो । म उसको पछि पछि लागे । केही बेरमा मलाई उसले ट्रांजिट  लाउन्जमा लगेर छोडि दियो । ट्रांजिट  लाउन्जमा यात्रुहरुको पुरा चहलपहल थियो । रेष्टुरेण्ट पसल एक्सचेन्ज काउण्टर सबै देखिन्थ्यो । यस्तो लाग्थ्यो कि म निर्जन वाटो हुदै वस्तिको चहलपहलमा प्रवेश गरेको छु । बिहान करिब ११ बजे यहा आएको मान्छे करीब १४ घण्टापछि ट्रांजिट  लाउन्जको चहलपहलमा पुगेको थिए । यतिखेर मेरो शरीर लखतरान परेको थियो जस्तो कि दिनभर जोतेर साँझमा घर फर्कदै गरेको गोरु हुन्छ । शरीर शक्तिहीन भएको थियो । यधपी ट्रांजिट  लाउन्जको चहल पहल रमाईलो थियो । एक्सचेन्ज काउन्टरमा डलर साट्दा काउन्टरमा काम गर्नेले मेरो हालतको सही अनुमान लगायो कि क्या हो मलाई डलर साटेर अरबी धिराम दिई सकेपछि उसले रेष्टुरा बताईदियो । मलाई ट्रांजिट लाउन्जमा छिरिसकेपछिमात्र भोक लागेको याद आएको थियो । रेष्टुरामा पुगेपछि बेयराले सोध्यो के लेराउ भनेर । मेनु त पढे मैले तर खानेकुराको नाम भने मेरो समझमा आउन सकेन र म हरुवा खेलाडी जस्तै सहयोगहीन बन्न पुगे । बेयराले सोध्यो कहाबाट आएका हौ मैले भने नेपालबाट । त्यसपछि कुखुराको मासु र के के लेरायो मलाई याद छैन तर जे जे लेरायो त्यो सबै खाने काम मैले गरे । खाईसकेपछि मात्र मैले मलाई थकाई र निन्द्राले ग्रस्त बनाएको महशुस गरे । म सरासर ट्रांजिट  लाउन्जको होटेल काउण्टरमा पुगे र रुमको बारेमा सोधनी गर्दा त्यो काउण्टरमा बसेको कर्मचारीले पहिले मेरो अगिल्लो उडानको समय जानकारी लियो र त्यसपछि मलाई दूई चार घण्टा सुत्नको लागी होटलमा खर्च नगर्ने सल्लाह दियो । साच्चै म यतिसम्म भएको थिए कि मलाई मेरो फिर्ती उडानको समयसम्म अब कति समयको फरक छ भन्ने पनि भुलेको रहेछु । उसले ट्रांजिट  लाउन्जको सोफाहरुमा सुतिरहेका अरु यात्रुहरु पनि देखाईदियो । साच्चै यात्रामा यस्ता राम्रा मान्छेहरु थुप्रै भेटिन्छन । तिनीहरुको एउटा सानो सल्लाह पनि कति महत्वपूर्ण सावित हुनसक्छ । मलाई उसको सल्लाह उपयुक्त लाग्यो र म उसलाई धन्यबाद दिएर उसले देखाएतिरै लागे । झोलालाई गर्धनमा बेरेर त्यसैको सिरानी हालेर सोफामा पल्टेको भुसुक्कै निदाएछु । निन्द्रालाई ओछयान चाहिदैन भनेको यही रहेछ । ओहो निन्द्रामा पनि सपना के देखिएछ जहाज आएछ र काठमाँडौतिर उड्न पो तयार भईसकेछ त । झल्याँस ब्युझिएर घडीतिर हेर्दा बिहानीको ६ बजिसकेको रहेछ । सम्भवत मसँग धेरै समय बाँकी थिएन । हत्तपत्त उठेर म टव्याईलेटतिर लागे । त्यता मुख धुँदै थिए कसैले मेरो नाम लिएर पछाडीबाट बोलाए जस्तो लाग्यो । फर्केर हेरेको हिजो जहाजमा सँगै आएका एक नेपाली साथी रहेछन जो अरबको अर्को शहरमा जानको लागि कनेक्टिँग उडानका लागी त्यो एयरपोर्टमा रोकिएका थिए । उनलाई मेरो यात्राको पूरा कथा थाहा थियो । उनले मलाई सोधे कि म हिजो कता हराए र उनले बताए कि उनले मलाई ट्रांजिट  लाउन्जभरी खोजेका थिए रे । तर उनलाई के थाहा कि मैले १४ घण्टा कसरी अध्यागमनको अगाडीको चिसोमा कष्टकर रुपमा बिताए । उनै नेपाली साथीले मेरो उडान ढिला भएको जानकारी गराएपछि मलाई अलिकति सजिलो महशुस भएको थियो । त्यसपछिको चार पाँच घण्टा असाध्यै सजिलोसँग बितेको थियो । एयरपोर्टका कर्मचारीहरु रिपोर्ट गर्न नआएका यात्रुहरुलाई खोज्दै आएको देखिन्थयो । किनभने यो एरियामा यात्रुहरु धेरै त मुख नै छोपेर सुतिरहेका पनि हुन्थे । जब नेपालीहरुको नाम पनि बताउथ्यो तब त्यो नेपाली साथी चिन्तित हुन्थयो र आफै नेपाली यात्रुहरु खोज्न निक्लनथ्यो । तौलियाले मुख ढाकेर सुतिरहेकाहरुको तौलिया खोल्दै नाम सोधथ्यो । यसरी उसले धेरै नेपालीहरुलाई सहयोग गरेको थियो । यही मैले एउटा कुरा जाने कि सहयोगी मान्छेहरुले सहयोग गर्ने ठाँउको कुनै सीमितता हुँदो रहेनछ । सबभन्दा ठूलो रहेछ सहयोगी भावना जो अर्काको भलोको लागी जहाँ पनि तयार हुन्छ । यीनै साथीलाई भेटेपछि मेरो मन खुकुलो भएको थियो । अर्थात अत्यास हराएको थियो ।

भर्खरै थाहा भयो कि जहाज त अबको केही समयपछि मात्र फ्राँकफर्ट जानेवाला रहेछ । यसको मतलव म अब थप एक रात दुबईमा बस्नु पर्ने भयो । प्राविधिक गडबडीले गर्दा जहाज यहा नै रोकिएको रहेछ ।

केही समयपछि हिजो एकै जहाजमा आएका डाईरेक्टर अघि अघि र उनकी पत्नी अनि घोटानेसाब पछि पछि हुँदै ट्र्ान्जिट लाउन्ज हुँदै आएका देखिए । केही समय पछि जहाजले फेरी पश्चिम आकाश पकडियो । जहाज उडेको केही समयपछि घोटानेसाब फेरी एक पटक ट्रांजिट लाउन्जमा देखा परे । उनले हिजोदेखिको घटनालाई छोटकरीमा प्रस्तुत गरे । साराँशमा भन्नु पर्दा जहाज बिग्रिएकोले घोटानेसाब व्यस्त भए, यात्रुहरुलाई होटेलको व्यवस्थादेखि लिएर जहाज मर्मतसम्म हेर्नु पर्यो । त्यसमाथि उनलाई डायरियाले समातेछ ट्वाईलेट जाँदा जाँदा हैरानै भएछन बुढा । आफनी धर्मपत्नीसहित अफिसियल यात्रामा जाँदै गरेका डाईरेक्टरसाबको हेरबिचारमा पनि त जुट्नै पर्यो किनकि एक माघले त जाडो सकिदैन क्यार । ल एउटा कुरा यहाँनेर हालौ है त । मेरो पूरानो कम्पनीमा हाकिमसाबहरु र धेरै जसो बोर्ड डाईरेक्टरसाबहरु अफिसियल काममा विदेश भ्रमणमा आफनी पत्नीका साथ निक्लनु सामान्य परम्परा नै मानिन्छ । तर मेरो नयाँ कम्पनीमा कुनै पनि कर्मचारी अफिसियल काममा विदेश भ्रमणमा निक्लदा परिवारको कुनै पनि सदस्य लिएर जान पाईदैन । यी दुबै परम्परामा आआफनै मान्यताहरु होलान । तर यो कुरा उल्लेख गर्दा कसैको भावनामा चोट पुग्न गएको भएमा म क्षमाप्रार्थी छुँ ।

उनी अघि अघि म पछि पछि अध्यागमन गयौ । यस पटक अध्यागमन अधिकारी मलाई २४ घण्टाको प्रवेशाज्ञा दिनको लागी तयार भयो पासपोर्ट एयरपोर्टमा नै राख्ने सर्तमा । मैले दुबई एयरपोर्ट छोडेर शहर प्रवेश गरे । जाँदा जाँदै वाटोमा नै ट्याक्सीमा घोटानेसाबले भनेकी साउदी स्थित नेपाल दुतावासका पदाधिकारीहरु आएर बसेकाले उनको आवासगृहमा ठाँउ छैन रे त्यसैले उनले मलाई होटेलमा बस्नु पर्ने बताए ।
दुबईको डेरा भन्ने ठाँउमा अवस्थित होटेल रेड सी मा दिनको अरबी धिराम ६० दरमा कोठा लिइयो । घोटानेसाब आफनो आवासतिर लागे । म नुवाई धुवाई गरी होटलबाट बाहिर निक्ले घुम्ने बहानामा । आबुई होटेल बाहिर त कस्तो हप हपी आउने गर्मी । बाहिर यति गर्मी भयो कि म बीस पाईला हिड्यो कि एउटा पसलमा छिरी हाल्थे । पसलमा छिर्थे मतलब सामान किन्न चाही होईन नि खाली गर्मीबाट बच्न । किनभने पसलहरुमा एसी हुन्थे र भित्रको चिसोले गर्मीबाट बच्न मद्धत गथ्र्यो । यसो भन्दा भन्दै मैले थुप्रै पसल चाहारे र साथसाथै पीताको लागी एउटा क्यासियो फिफ्टी घडी केही कपडाहरु र अन्य केही सामानहरु पनि किन्न भ्याए । त्यतिखेर यता सुन नेपालको भन्दा अलि सस्तो पथ्र्यो । मेरो सुन किन्ने योजना सफल हुनेवाला थिएन किनभने मेरो साथमा मलाई सहयोग गर्ने कोही थिएन र मलाई पनि कच्चा सुन किन्ने काईदा थाहा थिएन । त्यतिखेर गहनाको रुपमा ३ तोलासम्म लग्न पाईने भन्सारको नियम थियो जुन १८ देखि २२ क्यारेट सम्ममा मिल्न सकथ्यो । तर मलाई जसले सुन किन्ने आईडिया दिएको थियो उसले भनेको थियो २४ क्यारेटको नै लेराउनु पर्छ । मैले सुन किन्ने आँट गर्न सकिन र म होटेलतिरै फर्के ।

भोलिपल्ट अर्थात भरे राती करीबन एक दूई बजेतिर एयरपोर्ट जानु पर्ने किनभने चार बजेतिर उडान भएको जानकारी दिएका थिए घोटानेसाबले । सोचे होटेलतिर जाँउ केही खाँउ र सुतौ ।

होटेलभित्र छिरेर भरयाँगतिर लाग्दै थिए पछाडीबाट रिसेप्सनिष्टले बोलायो र भन्यो यसै होटलमा बसिरहेको एकजना भारतिय नागरिक मलाई भेट्न चाहन्छ । नभन्दै त्यो मान्छे पनि त्यही रहेछ । हामी बिचमा सामान्य औपचारिकताका साथ परिचयको आदान प्रदान भयो । ऊ रहेछ भारतको गूजरातको महेश कुमार दाश साम्पत उमेर २८ बर्ष जो गएको १४ बर्षसम्म ओमानको मस्कटमा काम गरेर भर्खरै फलफूलको आयातको नयाँ व्यापारको थालनी गरेको मान्छे । छुटृीमा नेपाल जान मन पराउदो रहेछ तर घरमा जान मन नपराउदो रहेछ । आमा बाबुले १४ बर्षको कलिलो उमेरमा नै पढाइ टुटाएर विदेश पठाएकाले बाबुआमाको चाहना केवल पैसा नै रहेछ भनेर खर्चचाही पठाउदो रहेछ तर आफुचाही घरतिर बस्न उति रुचाउदो रहेनछ । नेपाली मिहेनती सहयोगी र सरल स्वभावका हुन सक्छन भन्ने उसको मान्यता रहेछ र सम्भव भएसम्म नेपालमा नै व्यापार गर्ने नेपाली केटी बिहे गरेर नेपालमा नै घरजम गर्ने उसको योजना रहेछ । यतिखेर म उसको कोठामा थिए र उसले आफनो सबै बेलिबिस्तार लगाएको थियो ।

केही घण्टाको भलाकुसारी पछि उसले मलाई सोध्यो कि मेरो अगाडीको योजना के छ । मैले फयाटृै भनिदिएकी मलाई २४ क्यारेटको सूनको गहना किन्नु छ । त्यसपछि उसले मलाई बाहिर लिएर गयो ।

मेरो उसंगको भेट मलाई भने त्यति सजिलो महशुस भईरहेको थिएन । एउटा अपरिचित मान्छेसँगको भेटले मलाई अनेकौ शंका आशंका भित्र जकडि दिएको थियो । मलाई म ठगिने वा लुटिने भए भन्ने चिन्ता लागिरहेको थियो भने उसका कुराहरुमा झूटको आशंका पनि लागेको थिएन । अर्थात यसो भनौं म दोधारमा थिए ।

उसले मलाई सीधै सून वजारमा लिएर गयो । उसले सायद पसलमा काम गर्नेहरु चिनेकै रहेछ क्यारे राम्रो जान पहिचानको हिसाबले नै कुरा गर्यो । सल्लाह अनुसार १ तोला सून बराबरको २४ क्यारेमा औंठी बन्ने भयो । मैले पैसा तिरे । पसलेले समय दियो २ घण्टापछिको । हामी त्याँहाबाट निकल्यौ । त्यसपछि उसले मलाई यताउता घूमायो । कतै के खाईयो कतै के खाईयो सबै ठाँउमा उसैले पैसा तिर्यो । आफूलाई भने डेढ दूई सय डलर लूटिने भयले सताईरहेको थियो । म मनमनै सोचिरहेको थिए कि यो मान्छेले मलाई कतिखेर लूट्ने हो ज्यान बाँचे त ठीकै छ । तर जब उ मसँग कुरा गरिरहेको हुनथ्यो मलाई उ राम्रो मान्छे नै हो भने जस्तो पनि लागेको थियो । उँ भित्र पीडाहरु गु_िम्सरहेको आभास हुनथ्यो र यस्तो लाग्दथ्यो कि उँ यी सबै कुरा मलाई नै किन बताई रहेको छ । र फेरी कता कता उसमा आफनोपनको आभास पनि हुनथ्यो ।

दूई घण्टापछि हामी दुबैजना सून पसलमा गयौ औंठी लेरायौ र सीधै होटेलमा गयौ । होटेलमा उसको कोठामा बसेर केही बेर कुरा गरेपछि उसले नै मलाई धेरै समय बाँकी नभएकोले सुत्न जाने सल्लाह दियो र भन्यो आरामसंग सुत्नु उ समय भएपछि आफै उठाउन आउने कुरा गर्यो । मलाई उसको कोठाबाट निक्लन पाएकोमा पैतालामा बिझेको काँढा निक्ले जत्तिकै भएको थियो ।

कोठामा पुगेपछि निदाउन खोजेको त हो तर सम्भावित भयले गर्दा पटक्कै निन्द्रा लाग्न सकेकै होईन । मलाई यो रात भयंकर रात भईरहेको थियो र म चाहँन्थे कि यो रात सपना बनेर भागोस । मनमा अनेक सोचाई आउँदा आउँदै समय गएको पत्तै भएन तर ढोकामा ढक ढक को आवाज भने आयो । मेरो मुटुको धडकन पनि बढ्यो । सम्भावित लुटिने डरले म त्राही त्राही भएको थिए । तैपनि ढोका त खोल्नै पर्यो । ढोका खोले । ढोकाको अगाडी महेश उभिरहेको थियो । उसले एयरपोर्ट जानको लागी हतार भयो भन्यो । म डरले कापी रहेको थिए । म हात मुख धोएर तयार हुँदासम्म झोला उसैले तल झारीसकेको थियो । म डराई डराई तल झरे । बाहिर पूर्ण रुपले सन्नाटा छाएको थियो । केही गाडीहरुमात्र फाटृफुटृ गुडेका देखिन्थे । सडकसम्म आईपुग्दा उसले टेक्सी पनि बोलाई सकेको रहेछ । उसले मलाई टेक्सीमा राखिदियो र ड्र्ाईभरलाई मलाई एयरपोर्टमा सहयोग गर्न पनि भन्यो । त्यसपछि त्यो आधा रातको सन्नाटालाई चिर्दै टेक्सी अगाडी बढ्यो तर मलाई भने यो अनजान ठाँउमा यो टेक्सी ड््राईभर पनि मिलेको हुन सक्ने र उसले जहासुकै पनि लग्न सक्ने सम्भावनाले चिथोर्दै गर्दा टेक्सी दुबई एयरपोर्टको डिपार्चर हल अगाडी खडा भईसकेको थियो ।

दुबई एयरपोर्टको चेक ईन काउण्टर अगाडी उभिरहदा एउटा कहिल्यै बोलचाल नगरिएको एउटै विभागमा झण्डै २ बर्ष सँगै काम गरेको तर हाल जागिर छोडेर व्यापारमा लागेको आफनै भेगको एउटा व्यापारी बोकि नसक्दो सामान अगाडी राखेर बसेको देखियो । मलाई देख्ने बित्तिकै उ यसरी मेरो अगाडी आयो कि मानौ उसले मेलामा हराएको आफनो मान्छे फेला पारेको छ । अगाडी आई पुग्ने बित्तिकै उसले भन्यो ँओहो बाबु तिमि फलानाका छोरा होईनौ ” उसले मेरो पिताको नाम लिएको थियो त्यसपछि उसले मेरो परिवारको सबै मान्छेहरुको नाम पनि उल्लेख गरेको थियो । लाग्थयो कि उँ हाम्रो परिवारको नगिचको परिचित हो । कहिले आएको कहा बसेको सबै सोध्यो । र भन्यो उसलाई पहिल्यै खबर गरेको भए होटेलमा बस्नु पर्ने नै थिएन । अन्तमा उसले मेरो सुबिधाको वजन उठाउने कुरा गर्यो । यसो गर्दा उसलाई उसको ज्यादा वजनको सामानको पैसा वायुसेवालाई तिर्नु पर्दैन्थ्यो । बल्ल मैले बुझे किन एउटा मान्छे जो २ बर्षसम्म एउटै विभागमा बसेर काम गर्दा कहिल्यै परिचय गर्न रुचाएन तर अहिले यत्रो आफनोपन देखाउदै छ भनेर । उसले रवाफ पनि झारेको थियो कि अस्तिमात्रै मेरो जिएमलाई भेटेर आएको थियो । सम्भवत उ मेरो जिएम चिनेको रहेछ काम लाग्न सक्छ भनेर म उसको पछि लाग्छ भन्ने ठानेको होला । मैले मेरो चेक ईन पुरा गरेर सरासर अगाडी बडे त्यो व्यापारीको कुरामा कुनै ध्यान नदिईकन नै ।

जहाज दुबईको आकाशवाट पूर्वतिर हाँनिदा अरब संसारमा उज्यालो हुन खोज्दै थियो ।

अवसर अप्रत्यासित संकट खूसीहरु तथा अविस्वासको भूमरीभित्र सम्पन्न भएको यो छोटो यात्रा आजसम्म पनि ज्यूका त्यू यादगारमा रहेको छ । त्यो भारतीय मित्र केही समयपछि नेपाल आयो पटक पटक आयो । उँ ज्याठाको एउँटा होटलमा बसथ्यो । उँ नेपाल आउनु भन्दा केही दिन पहिले नै मलाई खबर गथ्र्यो र भन्थ्यो के लेराउँ खुल्ला दिलले फर्मायस गर्न भनथ्यो तर मैले कहिले पनि कुनै फर्मायस गर्न चाहिन । उँ नेपाल आउँदा हामी धेरै समय संगै बिताउथ्यौ । यता उता घुम्थयौं । त्यसबिचमा हाम्राबिचमा धेरै पत्राचारहरु पनि भए । यथार्थमा भन्दा हाम्रो मित्रता ज्यादै गाडा भएको थियो । समयले कोल्टे फेर्यो । इराकले कुवेतमाथि आक्रमण गर्यो । कुवेतको रक्षाको सवाल आयो । त्यसैको कारणले गर्दा खाडी यूद्ध भयो । यो यूद्धलाई पत्रकारहरुले ज्यान जोखिममा राखेर सम्भवत पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष रुपमा उतारेका थिए । जनधनको ठूलो क्षती भयो । यूद्धको समाप्तीपछि शुरु भएको कुवेत पूनर्निमाणको सिलसिलामा मेरो साथी त्यतिखेर उसले काम गर्दै गरेको दुबईको एउटा पाँचतारे होटल छोडेर कुवेततिर लाग्यो । कुवेत लागेको केही समयसम्म त उसले पत्र लेख्दै गरेको थियो तर यो क्रम अचानक टुटन गयो । मेरो उसलाई पत्ता लगाउने सबै प्रयास विफल भए । उनी यसै संसारमा छन भने सफलताको कामना गर्छु । यदि यो संसारमा छैनन भने उनको आत्माको शान्तिको कामना गर्छु ।

घरमा आफनो कोठामा बसिरहेको बेलामा जव मेरा आँखाहरु भित्तामा रहेको तस्विरमा रहेको मेरै चित्रमा पर्छ तब मेरा आँखाहरु रसाउन थाल्छन ती मित्रको सम्झनामा र मेरो त्यो सानो दुबई यात्राको सम्झना गाढा भएर आउँछ । त्यो मेरो चित्र तीनै मित्रले तिनका आफनै हातले बनाएर मलाइ उपहार दिएका थिए ।