विदेशिँदाको पिडा

सिर्जना घिमिरे
हालः आर्लिङ्गटन भर्जिनीया


मुटुभरि मातृभूमिको याद संगालेर
आँखा चिस्याउँदै
अबेर राती बल्लतल्ल निदाउँछु म
सपनामा उकाली ओराली गर्न पुग्दा
आधारातमा निद्रामै बर्बराउँछु म ।

डाँडा-काँडा भन्ज्याङ अनि चौतारी सम्झेर
मन कँुड्याउँदै घरि ओल्लो - घरि पल्लो कोल्टो फेर्छु म
कहिले र कसरी पुगिएला प्यारो मातृभूमि मनमा गुन्दै
आकासका तारा हेर्न थाल्छु म ।

बाख्राका पाठालाई साथी मान्दै खेलेको
परेवा कै आवाजमा आ-आ भन्दै डाकेको
अनि
पिपलको फेदमुनि चौतारीमा सुस्ताएको
सबै यादहरुलाई हृदयमा
ताजा पार्दै पुनः निदाउँछु म
सपनामा पल्लाघरे मिठ्ठु र शान्तिलाई देख्दा
निद्रामै मिठा मिठा बात मार्न थाल्छु म ।

टलक्क टल्किने सेता हिमाल अनि हरिया पहाड हेर्दै
ढकमक्क फुलेका लालीगुराँससँग भुल्दै
छम्छमी नाच्ने डाँफे र मुनाल सँग नाच्दै
सपनाको नगरी छाडी खाटबाट खस्दा
आधारातमा विपनामै सुक्सुकाउँछु म ।

मुटुभरि मातृभूमिको याद संगालेर
आँशु पुछ्दै
अबेर राती बल्लतल्ल निदाउँछु म
सपनामा लेक बेसी गरेको देख्दा
निद्रामै भर्याङ्ग उक्लने-ओर्लने गर्छु म ।

यि सबै यादहरु हृदयमा ताजा भइदिँदा
बिदेशको भाग्यलाई धिक्कार्दै
बिपना मै छाती पिट्दै रुन्छु र कराउँछु म ।