भेट
 

सुबोध कोइराला
महेन्द्र आदर्श बिद्याश्रम कलेज
सातदोबाटो, ललितपुर
 
 
मन बोझिलो र एकभारी भएको थियो । धेरै दिनदेखि उनलाई भेट्ने चाहना तिव्रत्तर हुदैथियो । तर म निरुपाय मौन थिएँ । कसरी भेटौँ उनलाई प्रश्न यहि थियो मनमा र पीडा पनि । सम्झना… बिर्सना.... तिर्सना....यस्तै यस्तै केके... केके... । चाहेर पनि भेट्न र देख्न पाएको थिइनँ मैले उनलाई । 

आखिर दिनचर्या चलिरहेकै थियो । कसरी ? त्यो त मलाईमात्रै थाहा थियो । तैपनि कसलाई भनौ मनको कुरा, अब्यक्तै राखेँ मनभित्र । चिप्लँदो सामयिक दिनचर्यासँगै मन भने झन चिन्तित हुदै थियो । मनभित्रको अब्यक्त पीडा झनझन गहिरिदै थियो । 

आज मैले उनलाई भेटेँ बसस्टपमा । सेतो रङको लङस्वीटर अनि सेतो र हरीयो रङको कुर्ता सुरुवाल लगाएकी । स्ट्रेट गरीएको लामो र कालो केश खुल्लै थियो । सायद त्यसैले उनको असल ब्यक्तित्वलाई खुलाउँथ्यो त्यो बाटुलो मोहडा चम्काउँदै । एकपटक त मलाई विश्वासै लागेन अकस्मातको त्यो भेट । यसो सोचेँ आज फेरि मनमा उनको कुनै सम्झना र झल्को पनि थिएन । म खै अरुनै के कामको ध्यानधुनमा थिएँ बसस्टपबाट कतै जान लाग्दै गरेको । 

सायद उनी गाडी कुर्दै थिइन घरजान । त्यसैले गाडीकै प्रतिक्षामा नयन मन डुलाइरहेकी । उनले मलाई देखेकी थिइनन् म पनि एकछिन टाढै बसेर उनलाई हेरीरहेँ । लोभ लालसा र वासनाले होइन । प्रसन्नताले त्यो पनि आदरणीय प्रसन्नताले । अलिअलि मोटाइछिन । हेराइ उस्तै निश्छल थिए । तर अरु म भन्न सक्दिन उनको व्यक्तित्वको बारेमा । खै किन हो मलाई त्यस्सै रुन मन लागेर आउँछ । धेरै बेर हेरेँ मैले उनलाई टाढै बसेर । अनि आफ्ना पाइलाहरु त्यतै बढाएँ उनी भएतिरै । तर मुटुको धड्कन बढ्दै थियो । उनीसँग के भनेर कुराको प्रसंग झिक्ने उनको अगाडी गएर कसरी बोल्ने के भन्ने हुन मलाई न गाली गर्ने हुन कि यस्तै अन्तरद्वन्द बिच नै म उनी नजिक गएँ । 
 
आखिर कुराको प्रसंग मैले नै उठाएँ आश्चर्य सहित प्रश्नको लर्को तेस्याउँदै । "अहो ! के हो आज तिमीसँग कसरी भेट भयो हँ ? मैले त सोचेकै थिइन आज तिमीसँग भेट हुन्छ भन्ने । 
अन्तै कतै हराउँदै रहेकी उनी मेरो प्रश्नसँगै एकपटक त झस्किइन पनि अकस्मातको उनीसामु मेरो उपस्थितिले । अनि संयमित हुदै भनिन "त्यहि त मलाई पनि अचम्म लागिरहेको छ ।" उनले जवाफ फर्काइन । 
तिमी के गर्दै छौ त अहिले ?
के हुनु त्यत्तिकै बसिबसाइ । 
पढ्दैनौ र ?
पढ्छु 

अनि अरु म प्रश्नहरु थप्दै जान्छु । 

"अरु त खास्सै त्यस्तो केहि छैन । बरु भनन तिम्रो के छ ?"  प्रश्न म तिर मोडियो । 
मैले पनि आफ्ना कुराहरु राखेँ  "के हुनु त्यस्सै । अलिअलि पढ्छु । अरु त खास्सै त्यस्तो केहि छैन । 
कतै पुगेर आयौ कि कतै जान लागेका ?

अहो ! बल्ल पो मलाई सम्झना भयो म कहाँ गएर आएको भन्ने कुरा । उनीसँग भेट हुनुभन्दा पहिले म एउटा कार्यालयमा गएको आफ्नो कामले । तर कार्यालयको ढोकैमा बढेमानको ताल्चा झुण्ड्याएको रहेछ । त्यतिबेला त मलाई सारै रिस उठेको थियो । त्यसै रनाहाले बसस्टपमा पुगेँछु । धन्य संयोग पनि कस्तो बसपर्कमा उनीसँग भेट भयो । त्यस पछि त मेरो रिस पनि क्षणभरमा नै गायब भयो । कार्यालय बन्द भएकोमा फिक्रि लाग्नुभन्दा पनि कार्यालय बन्द भएकै कारण् मैले उनीसँग भेट्न पाएकोमा मन प्रफुल्ल भयो । सायद कार्यालय बन्द नभएको भए मैले कार्यालयिय काममा नै ब्यस्त भएर उनीसँग भेट्न पाउन्न थिएँ होला । सायद समयमा गाडी नआएर उनले पनि त्यस्तै सोचिन कि ? तर त्यो त उनको मनको कुरा म कसरी जानुँ ? तै पनि भन्न त त्यसै भनिन मेरो अनुभुति जस्तै "तिमीलाई भेटेर खुसी लाग्यो ।"
 
"भन न नयाँ नौलो के छ ?" फेरि उनैले थपिन । "के के गर्दैछौ, के के लेख्दै छौ ? कति के के कहाँ पुर्यायौ ?"
"के हुनु ? नयाँ त खास्सै केहि छैन । प्रयासमा छु नयाँको लागि । तर पुराना र केहि अधुरा काम भने पूरा गरेँ ।" 
"ए हो र ! तिम्ले त्यो पुरा गर्यौ ?" उनले बढो उत्सुकता साथ खुसी हुदै सोधिन ।
"अँ पूरा गरेँ नि ! तिमीहरुकै सहयोग र प्रेरणाको कारण ।" 
उनले अस्वीकार गरीन् "त्यसो नभन न । मैले के नै गनै सकेँ र तिम्रोलागि ?"
"के गर्नु 'प्रेरणा' त्यहि त हो नि तिमीले दिएको । तर सरी ल मैले तिमीलाई चोट पुर्याउन खोजेको होइन र मेरो चाहना पनि त्यो होइन । मलाई माफ गर ल ?" मैले आफ्नो मनको बोझिलो भारी बिसाईहालेँ । किन भने धेरै लामो समयदेखि म यहि 'सरी' भनेर उनीसँग माफि माग्नकै लागि प्रतिक्षारत थिएँ । तर 'सरी'  केबल मेरो ओठे बोली मात्रै थिएन । त्यो अन्तर ह्दयबाट प्रस्फूटित याचनाको स्वर थियो । अनुनय आग्रह र विनय थियो । 

तर सरी त उनले पो भन्छिन । "सरी ! ल मैले तिम्लाई चोट पुयाएँ होला । मेरो बाध्यतालाई बुझेर मलाई माफ गरिदेउ ल ?" सारै विनयशील थियो उनको अनुनय । मुटु नै छियाछिया पार्ने खालको । मैले मन बाँध्न र आँसु रोक्न सकिन अनि अर्को पट्टि फर्किएर रसाएका आँखामा हातको रुमाल ओडाएँ उनले थाहा नपाउनेगरी । "तिमी नरिसाउ न ल ?" फेरि उनले थपिन । 

"आखिर म किन रिसाउनु तिमीसँग ? मेरो कसैसँग रिसाउने बानि छैन । अनि फेरि तिमीसँग रिसाएर मात्रै मैले पाउने के नै हो र ? म अरुलाइ चोट दिएर आफू खुसी हुन सक्दिन । र हुनु पनि नपरोस । आई एम सरी ल ?"
 
उनी मौन रहिन । केहि बोलिनन् । सायद उनको मन बोझिलो हुदै थियो कि ? मैले यस्तै महसुस गरेँ । त्यसैले मैले कुरा अन्यत्रै मोडेँ "छाडीदेउ यि सब कुरालाई । उन्नती गर, प्रगति गर । हँसीखुस्सी जीवन बिताउ । सफल होउ, सवल होउ, मेरो यहि शुभकामना छ तिमीलाई "
"तिम्लाई पनि मेरो तर्फबाट सफलताको शुभकामना" उनले पनि आफ्नो शुभकामना दिइन् मेरो लागि । मैले सहर्ष स्वीकारेँ उनको शुभकामना । 
"एउटा कुरा भनुँ ?" उनले रोकिँदै भनिन 
"के कुरा भन न ! 
"तिम्रा लेखरचना अब देखि फेरि पनि मलाई पढ्न दिने गर न ल ?"
"ल ! तिम्लाइ पनि नदिने कुरा हुन्छ ?" मैले उनलाई आश्वस्त पार्दै भनेँ । "तिमी निश्चिन्त होउ दिईहाल्छु नि ।" साँच्चै हो त्यतिबेला फेरि पनि मैले सोचेँ "उनको मनमा कुनै रिस राग छैन, घृणा छैन म प्रति । साँच्चै हो मैले सोचेजस्तै कोमल निश्छल र पवित्र छ उनको मन । निस्पाप छ दयालु छ । आखिर उनको मात्रै होइन मेरो मन पनि त्यति नै चोखो छ । निस्कपटि छ उनिप्रति । कुनै रिस छैन, घृणा छैन, अपमान छैन,  बरु आदर छ उनीप्रति । उनको संबेदना प्रति । तर किन त विना गल्ति एकअर्काको मनमा पश्चाताप बोध भइरहेको छ आफ्नै गल्ति जस्तो गरेर ? हो गल्ति उनको थिएन । हुनसक्छ गल्ति मेरो थियो । तर उनी भन्छिन गल्ति मेरो पनि होइन रे । त गल्ति कस्को त ?
 
हो विना गल्ति पनि हामीहरु एकअर्कामा टाढा छौँ । टाढा भएर पनि फेरि नजिकिएका छौँ । त्यो समानान्तर नजिक्याइ त्यो अन्त्यहिन नजिक्याइ । यो नजिक्याइ कायमै रहोस । मैले मनमनै कामना गरेँ । सायद उनले पनि यस्तै सोचिन होला । तर कसरी यो सब भयो त ? कसको कारणले अनि के कारणले त ? के यो सब समयकै कारण हो त ? मनमा अनेक प्रश्न तैरिन थाल्छ । फेरि मनैले उत्तर दिन्छ 'यो समयको गल्ति होइन ।' नभए के त ? समय, परिस्थिति, परिबन्ध, बाध्यता, बिवशता, मुर्खता के ले हो त यो सब  ?
उनले त भनिन उनको बाध्यता रे । त्यसलाई मैले पनि स्वीकार गरिसकेँ । तर मेरो के त ? मेरो मूर्खता ? तर मेरो मूर्खता होइन । के कसैलाई माया गर्नु प्रेम गर्नु मुर्खता हुन्छ त ? हुदैन त्यो मुर्खता । आखिर मैले स्वीकार गर्नैपर्छ  एउटा संयोग मानेर । हो, त्यो एउटा संयोग थियो उनको र मेरो परिचयको अनि निकटताको भने, टाढिनु पनि सयोग र फेरि निकट हुनु त्यो पनि संयोगै । हो वियोग भएर पनि मैले त्यसलाई वियोग ठान्नु हुदैन । किनकी आज मलाई संयोगै मिठो लागेको छ । त्यहि संयोगले त आज फेरि मैले उनलाई भेटेँ भने म किन वियोग ठान्नु ?
 
म त मनमा के के कुरा खेलाउँदै कता कता हराइरहेको । उनी भने मलाई बोलाइरहेकि । "ए सुन त !"
"हँ" ! एकपटक त म झस्किएँ अनि आफूलाई सम्हाल्दै भने "के भन न !"
"के हो तिमी त कता हरायौ बोलाउँदा पनि सुन्दैनौ त ।" उनले मलाई जिस्काएझैँ गरी भनिन । 
म अन्तै हराए पनि उनलाई ढाँटि दिएँ । बास्तबिकता खोल्नु उचित पनि त थिएन नि । अनि मैले भने "कतै हराको छुइन ।" अनि बल्ल स्वभाविक भएपछि मैले महसुस गरे उनलाई घर जान हतारो हुदैछ । त्यसैले मैले उनलाई भनेँ "तिमीलाई घरजान हतारो होला जाउ अब । जे गर राम्रै गर । फेरि पनि मेरो शुभकामना छ तिमीलाई प्रगतिको ।" 
"ल त्यसो भए म जान्छु है त ? तिम्लाई पनि मेरो तर्फबाट शुभकामना ।" यति भन्दै उनले म तर्फ हात बढाईन । एकपटक त म आफैँ अकमकिएँ । उनीसँग हात मिलाउने तर मतिर श्रद्धाले बढेको उनको हातलाई त्यसै फर्काएर मैले उनको संबेदनामा ठेस पुर्याउन चाहिन । आखिर मैले त्यसो गर्नु उचित पनि त थिएन । कसैको भावनामा ठेस पुर्याएर मैले पाउने के नै हो र ? हो उनी साँच्चै संवेदनशील छिन । उनको मनमा पनि साच्चै भन्ने हो भने लेखकीय कोमलता छ । मानविय भावना बुझ्न सक्ने क्षमता छ । साँच्चै छ त उनीमा संवेदना ? आफ्नै मनमा प्रश्न उब्जिन्छ । छ । थिएन भने कसरी उनी त्यति सजग हुने थिईन त ? उनको मन किन त्यति कोमल हुने थियो त ? जवाफ आफ्नै मनले फर्काउँछ । हो उनी कोमल छिन संवेदनशील पनि तर खै किन हो उनी त्यति लेखाईमा रुचि मान्दिनन् । क्षमता नभएर भने होइन । फेरि मनमनै सम्झिन्छु नारी कोमल त हुने नै भयो नि । के पुरुष चाहि सम्वेदनशील हुदैनन र ? फेरि प्रश्नै तेर्सियो । हुन्छन । तर नारीको तुलनामा पुरुष अलिक कमै मात्र भन्न खोजेको । नारीको त मातृ मन पो त । त्यसैले केहि बढी र भावुक र कोमल हुने नै भयो नि । अहो ! उनी त अघिदेखि मतिर हात बढाएर  उभिइरहेकी । म भने मनमा कुरा खेलाएर कता कता हराइरहेको । मैले पनि आफ्नो हात निसङ्कोच उनीतिर बढाएँ र मिलाएँ सश्रद्धा उनको हातसँग अनि लगत्तै हल्लाएँ पनि विदाईका हातहरु । 

लौ न ! छुट्टिने बेलामा पो याद भयो हामी त बसस्टपको सडकमै उभिएर पो गफ गरीरहेका रहेछौँ । गाडीहरु आवतजावत ओहोरदोहोर गरीरहेका । मानिसहरुपनि उसै ओहोरदोहोर । गाडीको आवाज, मानिसहरुको खल्लिबल्लि । त्यो त सबै भुलेछौँ । हिँड्नेहरु पनि हामीलाई नै नियाली नियाली हेर्दै हिँडेका । हामीलाई हेरेर यिनले के सोचे होलान मैले मनमनै प्रश्न गरेँ । हुन सक्छ कतिले सकारात्मक सोचे होलान,  कतिले नकारात्मक सोचे होलान । तर जसजसले जे जे सोचेपनि मेरो मनमा उनी प्रति कुनै नकारात्मक सोच, बिचार र चिन्तन छैन । बरु आज मन हलुका भएको छ । उनीसँग भेटेर 'सरी' भन्न पाइएकोमा । तर मनमा फेरि अर्कै चिन्ता थपियो मैले त उनको सम्पर्क नम्बर नै माग्न बिर्सेछुँ । तर केहि छैन सम्झिइन् भने कुनै दिन उनैले खोज्लिन नि । आखिर जेसुकै भएपनि मेरो उनलाई शुभकामना, उनको जीवन फलोस फूलोस । यहि देखिरहन पाउँ, सुनिरहन पाउँ ।
 
 
समाप्त