भेडाबाख्राको गोठाला
सुस्मिता परियार
कक्षा ७ क्षितिज सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल
विशाल नगर काठमाडौँ ।
एकादेशमा एउटा गाउँ थियो । गाउँ नजिकै एउटा सानो झुपडी थियो । त्यस झुपडीमा
बुढाबुढी र एउटा छोरा थिए । छोराको नाम रामे थियो । उनीहरु गरिब भए पनि निकै सुखी
थिए । आमाबुबा भएको भएर रामेको जीवन सुखमय थियो । तर ऊ भने एक्लो छोरा भएकोले
पुलपुलिएको थियो । उसको स्वभाव उत्ताउलो थियो । उत्ताउलोपनाले गर्दा बाल्यकालमा
उसले राम्रो शिक्षा हासिल गर्न सकेन । ऊ दिनभरि गाउँमा डुलेर हिँड्थ्यो ।
साथीभाइसँग बरालिन्थ्यो । एउटा मात्र छोरा भएको कारणले आमाबुबाले छोराले जे भन्यो
त्यही पुर्याइदिने गर्थे, गाली गर्दैनथे । त्यसैले ऊ दिनदिनै बिग्रँदै गयो ।
समय बित्दै गयो । रामेका आमाबुबा बुढाबुढी हुँदै गए । उनीहरु पहिले जसरी काम पनि
गर्न नसक्ने भए । रामेको पनि पढाइ थिएन । ऊ बालक नै थियो । दुर्भाग्यवश ! एकदिन
उसको बुबाको मृत्यु हुन गयो । आमा पनि आफ्ना श्रीमान्को मृत्युको पीर र
घरव्यवहारले गर्दा दिनदिनै दुब्लाउँदै जानुभयो र आमाले पनि रामेलाई छाडेर जानुभयो
। आमाबुबा दुवैले छाडेर गएपछि रामे टुहुरो भयो । आफ्ना आमाबुबा नभएपछि नातेदार
अथवा छिमेकीले पनि माया गर्न छाडे । त्यो अवस्थामा रामेलाई साथ दिने कोही पनि
भएनन् ।
सहरतिर गएर काम गरौँ भने उसको पढाइ पनि थिएन । सहरमा गएर पनि पढाइलेखाइ नभएपछि
अर्काको भारी बोक्ने र अर्काको घरको कामै गर्ने त हो नि भन्ने सोचेर ऊ गाउँमै
बस्यो ।
गाउँमा रामे दिनभरि अर्काको काम गर्थ्यो । तर काम लाउनेहरुले उसलाई ज्याला
दिँदैनथे । उसलाई एक छाक भातमा टार्न खोज्थे । एक छाक भात खान पाए पनि अर्को छाक
खान र एकजोर कपडा लगाउँन उसलाई समस्या गर्थ्यो । जीविका चलाउन उसलाई निकै नै कठिन
हुन पुग्यो । त्यसैले उसले एकजना मुखियाको घरमा भेडाबाख्रा चराउन थाल्यो । रामे
एकदम अल्छी थियो । ऊ भेडाबाख्रा एकातिर छाडेर दिनभरि सुत्थ्यो ।
ऊ सुतेपछि भुसुक्क निदाउँथ्यो । त्यसैले भेडाबाख्रालाई हिंस्रक जनावरले हमला गरे
पनि ऊ थाहा पाउँदैनथ्यो । एकदिन रामे निन्द्राबाट ब्युँझिदा केही भेडाबाख्रा
यताउता दगुरेर हराए भने केही बाख्राहरु मरिसकेका थिए । बाख्रा नदेखेपछि रामे
हत्तारिएर बाख्रा खोज्नतर्फ लाग्यो । उसले बीसवटा बाख्रामध्ये आधी बाख्रा गुमायो
र आधी बाख्रा साथमा लिएर फर्क्यो । बाख्रा हराएको मुखियाले थाहा पाएपछि मुखियाले
रामेलाई घरबाट सदाका लागि निकालिदिए ।
रामेले आफ्नो जिन्दगीमा सबैभन्दा ठूलो धोका आफ्नै अल्छीपनबाट पायो ।