भागवण्डा


रमेश पल्लव
हाल:  क्यालिफोर्निया, अमेरिका

बैठक बस छलफल गर
ताल बेतालका क्ररा गर
कुनै निष्कर्ष ननिकाल
झगडा गर लुछाचुँडि गर
आफ्नै मात्र स्वार्थका कुरा गर
जनताका विश्वासमाथि घात गर
देशको भविष्यमाथि बलात्कार गर
आफू पनि नगर
अरुलाई पनि गर्न नदेऊ
बनाउन त परै सर
बनेको पनि भत्काऊ
सहिदका बलिदानमाथि मोजमस्ती गर
कुरा ठूला गर
काम पटक्कै नगर
नेपाल र नेपालीको भावनामाथि खेलबाड गर
सत्ता प्राप्तिको लागि
विदेशीलाई खुशी पारी
स्वदेशीलाई रुवाऊ
गर जे गर्न मन लाग्छ गर
कुर्सीको लागि होडबाजी गर
पक्र कुर्सीलाई दह्रो पक्र
नेपाली जनतालाई घोक्रेठ्याक लगाऊ
कति सत्ता र कुर्सीको मात्रै भागवण्डा लगाउछौ
अब देशलाई पनि आ-आफ्ना भागमा लगाऊ
जग्गा-जमिन बाँड
खोला-नाला बाँड
हिमाल-पहाड बाँड
किन कुर्सी मात्र बाँड्छौ
हिमाल भागवण्डा लगाऊ
पहाड भागवण्डा लगाऊ
तराई भागवण्डा लगाऊ
अरु पनि के-के छन्
सबै भाग लगाऊ
छरछिमेकीलाई पनि देऊ
आफूलाई चाहिने जति सबै लेऊ
जनतालाई पर सारी देऊ ।