प्रेममा धोका


सिर्जना भण्डारी
भर्जिनिया


हिजो सम्म "तिमी नै मेरो संसार"
भनेर नथाक्ने मुख
आज म तिर नफर्कने भएछ
आफ्ना लागि एक चिम्टी जोहो नगरी
मायाँको अमृत वर्षाएँ
पत्तै नपाइ विश्वासमा पहिरो गएछ ।

सागरमा पानी झैं किनारा नै नभएको तिम्रो हृदय
कति चाँडो पत्थरमा परिणत भएछ
तिम्रा लागि ज्यान दिन्छु भन्ने मान्छे
आज मेरै ज्यान लिन आतुर भएछ ।

आँ गर्दा अलङ्कार पहिल्याउने
आँखा जुधाएर सबै कुरा बुझ्ने
सास फेर्दा पनि सुईंको पाउने मान्छे
आज खै किन हो लाटो, अन्धो र बहिरो भएछौ
जति सम्झाउँदा पनि केही लागेन
कति सारो निस्ठूरी भएछौ ।

कसुर के थियो मेरो थाहै भएन
जति प्रश्न गरे पनि उत्तरै आएन
तन टाढा भए पनि मन टाढा भएन
जति बिर्सन खोजे पनि तिम्रो याद हृदयबाट गएन
कुनै दिन यस्तो होला भन्ने तन्मन् मै थिएन
दैबको पनि आँखा लाग्छ भन्थे अब त नपत्याइ भएन ।