वसुधा
विद्या सापकोटा
कल्याणपुर ७, नुवाकोट
हालः शंकरदेव कलेज काठमाडौं ।
nirjala0008@gmail.com
सेता भित्ता सेता पर्दा र सेता वेडहरु । सेतै कपडा पहिरेका डाक्टर नर्सहरुको
आहोरदोहोर । यो सेताम्मे संसार अर्थात अस्पताल कहिलेकाही आफै भुत बनेर तर्साउँछ ।
पाकेका, दुखेका, पोलेका छटपटिका, वेचैनीका अनेक भित्रि बाहिरी रोगहरुले दर्दनाक
बनाएको हुन्छ वातावरणलाइ । यसैविच बसुधा पल्टिएकी छ । एउटा बेड भरेर अर्थात
अस्पताललाइ पुर्णता दिलाएर । यहाँको बसाइ कसैको लागि पनि सुखद हुदैन तथापी रोग
निवारणको लागि सुन्दर भविष्यको प्रतिक्षामा राम्रै मान्नुपर्छ । हुन त वसुधाको यो
अस्पताल बसाइ पहिलो पटक होइन । उसले जीवन भोगाइको एक चौथाइ समय अस्पतालभित्रै
विताएकी हो तर किन हो यसपटक उसको छटपटी बढेको छ तर किन कसैले अन्दाज लगाउनै सकेको
छैन बोलक्कड बसुधा यसपटक चुपचाप निराश र मायालु देखिएकी छ । डाक्टरहरुको अनुसार उनको
पेटमा खरावी देखिएको छ र चाडै निको हुन्छ पनि । उसको अनुहार आशाले कहिलेकाही
उज्यालिन्छ र ऊ अस्पतालका सिलिङ्गहरु गन्न थाल्छे ।
"तिमी उता जाऊ यो महिलाहरुको वार्ड हो ।" वार्डमा हल्लाखल्ला मच्चिएको छ । झुस्स
दारी, बिग्रिएको फोहर कपाल, दुब्लो शरिर सेतो पट्टी बाधिएको टाउको एउटा विचित्रको
शरिर उताउता दैडिरहेकोछ । केही हराए झै कुनै खोजिकर्ता झै । सुने अनुसार उसको दिमागी
हालत ठिक छैन त्यसैले यो विचित्रको मानव शरिर लापरवाह ढंगले कसैलाइ नटेरी
दौडिरहेकोछ । वार्डका सम्पुर्ण शक्ति नस्र कुचिकार विरामी कुरुवा लगाएर उसलाइ बाहिर
निकालिदैछ । सबै विरामी उसैलाइ हेरेर डराइरहेका छन् । अस्पतालको भित्ता थर्कने गरी
'बाहिर जा' भन्दै झम्टिरहेका छन् । बसुधा एकनाससँग हेरीरहेकी छ कुनै प्रतिक्रिया
विना ।
बसुधाको अप्रेसन भनिएको छ । आफन्त र चिनजानकाहरुको आउनेजाने क्रम बाक्लिएकोछ । वसुधा
हरेक कुरामा फिस्स हाँसेर सकेसम्म नबोल्ने यत्नमा लागेकी छ । सायद उ कुनै कुरा वा
केहीको प्रतिक्षामा छे । उसलाई जान्नेहरु अचम्ममा परेका छन् उनको परिवर्तित
व्यवहारले । डाक्टर नर्सहरुको ओहोरदोहोर बढिरहेकोछ । एकदम चुपचाप छे ऊ ।
बसुधा सर्घषशील नारी हो । जीवनका अनेक रंग भोगेकी छ देखेकी छ उसले । त्यसैले त उ सधै
हौसला साहस र प्रेरणा बन्थि सबैको । सबैसँग रमाइलो गर्ने बानी थियो उसको तर आजकल
ठिक विपरित देखिदै गएकी छ ऊ । उसले यसै अस्पतालको बेडहरुका जीवनका उर्वर समयहरु
कटाएकी थिइ । अहिले त उसको पेटमा सानो समस्या मात्र देखिएको हो पहिले गरिएका
अपं्रेसनका अगाडी । तर किन हो उ आत्तिएकी छ निन्याउरिएकी छ, कायल बनेकी छ ।
डाक्टरहरुले उसलाइ अप्रेसन थिएटरमा ल्याउन भनिसकेका छन् उ पटक्क मानिरहेकी छैन । सबै
चिन्तित देखिएका छन् । बल्लतल्ल हजार प्रश्नहरुको उत्तर फ्याकी उसले "शलिल आउछ अनी
।"
शलिल उसको भदा । उसका दाइ भाउजु भदा भदैनी सबै आइपुगिसके शलिल बाहेक । शलिललाइ
होस्टल राखिएकोछ राम्रो पढाइको लागि । ऊ आएन, एउटा बच्चा आएन भनेर अप्रेशनै
रोक्नु के काइदा हो सवैजना सम्झाइरहेका छन् । ऊ चुपचाप टारीरहेकी छ । उसकी भाउजु पनि
अजिवकी छ । दुइ ओटी छोरी र अर्को लाठे छोरालाइ आफुसँगै राखेर कान्छो छोरोलाइ कसरी
होस्टलमा राख्न सकेकी हो ? फेरी त्यति वास्ता पनि गर्दिन । त्यहाँ यदाकदा कुरा
निस्किरहेको छ आफ्नै आमालाइ त चासो छैन यो फुपु भनाउदीले किन मरिमेटेकी हो ? फेरी
अप्रेशनै नगर्ने यो कत्रो प्रतिक्षा हो ? तर बसुधालाइ यस्ता टिप्पणीप्रति कुनै चासो
नै छैन । उ यन्त्रवत सुनिरहेकी छ मात्र सुनिरहेकी छ ।
बसुधा गाँउको स्कुलमा पढ्थि । बाबु सानैमा वितेकाले आमा र दाजु सँगै दुखसुख गर्दै उ
हुर्किइ । पछि दाजुहरु शहर पसे, उतै घरजम गरे, गाउँबाट हराए उ आमासँगै थिइ ।
गाउँगाउँमा क्रान्तिको लहर उठ्दै थियो । मुक्तिका पाठ भट्ट्याइन थालेको थियो । यहि
लहरमा होमिएर ऊ छापामार बनि । कठिन कठिन घडिसँग लड्नको लागि छापामार हुनु कुनै खेल
होइन तर उ तयार भइ र भुमीगत भइ । केही समयपछि उसले ''जनतान्त्रिक विवाह' गरि भन्ने
हल्ला चलेको थियो । जनयुद्धका कथाहरु लम्बिदै गए । मुत्यु, हत्या, अपहरणका लामहरु
तन्किदै थिए । एकाएक बसुधा पार्टि नै छाडेर काठमाडौं पसि । अनेक श्रृखलित
विश्रृखलित मार र पिडामा पेलिएर आमाको पनि मृत्यु भयो । त्यसपछि त बसुधाको कुनै
अत्तोपत्तो गर्नेपनि कोही बाकि रहेन । उसले विहे गरेकी हो कि होइन भन्नेसम्म पनि
कसैसँग किटानी थिएन । उ दाजुभाउजुसंगै बस्छे रे भन्ने सम्म मात्र सुनियो ।
त्यससछि बसुधा ुबसुधाु कै रुपमा स्थापित भइ अर्थात सानेतिनो काम गरेर जीवन घिसार्दै
गइ । न उसले कहिल्यै आफ्ना यौवनका कुराहरु कसैसँग बाँडी न त जनयुद्धका क्षणहरु
सघर्ष र कठिनाइहरु कसैलाइ सुनाइ तर रमाइलो गर्थि भिन्न तरिकाले । ऊ बेलाबखत बिरामी
परिरहन्थि । एकपटक उ आफैले बोकेको राइफल पड्केर आन्द्रै सम्म प्वाल पारेको थियो ।
बुच्ने आशै थिएन तर उ बाँची भगवानले बचाए भन्नुपर्छ । आफ्नो कोही नभएर पनि उ सधैं
परिश्रम गर्थि ।
किन यसरी घोटिएकी भन्ने सवालमा "मेरो भविष्यको लागि । मेरो आफ्नै भविष्यको लागि ।"
उसको रेडिमेड उत्तर आउथ्यो ।
'लालसलाम ! कमरेड ।"
"अँ के छ हाम्रो क्षेत्रतिर अनि हाम्रो रोडम्यापको खबर नी " वार्डभरी फेरी
हल्लाखल्ला मच्चिएकोछ ।
"तँ उ ता जा भनेको । "
"कस्तालाइ अस्पतालभित्र पस्न द्या होला त्यो पालेको टाउको फुटाउनु पर्ने । "
"के भर यस्तो भा' होला ?"
"यसलाइ त मैले सडकतिर कराउदै हिडको पो देखेको थे । "
"अस्पतालमा बस्नै डर लाग्यो । " अस्पतालका हरेक बेडहरु एकाएक पोखिइरहेका थिए ।
"तालि तालि । अव हामी अर्का कमरेडको प्रतिक्षा गरौं । "
वीर हस्पिटलको फिमेल सर्जिकल वार्ड फेरी डगमगायो । कारण अघि कै अजिव विरामी लालसलाम
गर्दै हालखबर सोध्दै बेडबेड चहारीरहेको थियो । बसुधाले पनि एकपटक त्यस अनौठो
विरामीलाइ हेरी अनि आखा चिम्लदै कुना पट्टि फर्किइ । बसुधाको अप्रेशन स-यो ।
भोलिपल्ट बसुधा झन् निन्याउरीएकी थिइ । डाक्टरहरुले टाउको छामे । थर्मोमिटरले ज्वरो
नापे, स्टेथेस्कोपले ढुकढुकी सुने । विल्कुल सामान्य थिइ ऊ पेटको थोरै दर्द
बाहेक । अनायासै "मलाइ पेट होइन छाति दुखेको छ" भन्न थाली ऊ । डाक्टर अचम्म परिरहेका
थिए । उ भयभित हुदै "त्यो मान्छे कता गयो?" सोधिरहन्थि । कुनापट्टी फर्केर आशु
पुछिरहेको पनि देखियो ।
"शलिल मेरो बाबु ।" ऊ बर्बराउन थालेकी थिइ । अव भने आफन्तहरु पनि बसुधाको छातीमै
खरावी छ की भनेर डराउन थालेका थिए । भुतभुताउदै आत्तिदै उसकी भाउजु शलिललाइ लिन
होस्टलतिर दगुरी । उपस्थितहरुकावीच मौनता छायो । डाक्टरहरु पनि भिन्न परिस्थिती
सृजना हुन पुगेकोले जिल्ल परेका थिए । ऊ झन्झन् बर्बराउन लागि ।
"त्यो मान्छे खै त्यसले केही खायो शलिल आएन अनि तपाईहरु किन एकोरिहिनुभएको नी म ठिक
छु । मेरो छाती पोल्न कम हुदै गएको छ ।" ऊ यस्तै-यस्तै बर्बराइरहेकी थिइ ।
त्यो कमजोर अलौकिक मान्छे आफ्नो जीर्ण शरिर र बेमतलवी चालचलन लिएर बेलाबखत अस्पतालको
खास गरेर त्यो सर्जिकल वार्ड भित्र पसेर बखेडा मच्चाइरहन्छ । यसपटक त उसलाइ निकाल्न
झनै गाह्रो परिरहेको छ कसैको कुरा सुनिरहेको छैन ।
"मेरो मुक्ति यही हुनुपर्छ । मेरो जीवनको सार्थकता यहि भित्र हराएको छ पत्ता नलगाइ
म जान्न । " उ अडिग । केही नलागेर प्रहरी गुहारिएकोछ उसलाइ बाहि-याउन । विरामी
कुरुवा अझ भनौ अस्पताल पुरै अनौठो सन्त्रास विच गुजि्ररहेको छ । सवै अत्तालिएका छन्
। हडवडाएका छन् । उता बसुधा छाति थिचेर कराउन थालेकी छ । राधाले शलिललाइ लिएर
आइपुगिसकिछन् । शलिललाइ देखेर बसुधाका आखा धपक्क बले । अनायसै खुम्चिए पनि त्यस
मान्छेको मनोदशामा । जे होस विस्तारै ऊ आफन्तहरुसँग कुरा गर्न थालेकी थिइ ।
पर्सिपल्ट बसुधा आनन्दित मुद्रामा निदाइरहेकी थिइन् । बच्चो शलिल एउटा टुक्रो कागज
लिएर दौडिरहेको थियो । जहाँ लेखिएको थियो - "मेरो भविष्य ! छाति यति पोलिरहेको छ की
लाग्दैछ अव म बाँच्दिन । जीवनको सत्यता लुकाएर जाँदा मेरो आत्मा पनि छट्पटाउने छ ।
हुनत अहिले तिमी केही बुझ्दैनौ बुझ्ने बेलामा सायद म तिमीसंग रहन्न । त्यसैले
जादाजादै तिमिलाइ त्यो सत्यता नबताइरहन सकिन । तिमी मेरो छोरा हौं मेरो आफ्नो रगत………।
अनि अर्को भयानक सत्यता तिम्रो बाबु त्यो व्यक्ति हो जो मुक्ति खोज्दै होस गुमाएर
घुमिरहेको छ ।
मलाइ माफ गर मेरो बाबु ! म जादैछु सदासदाको लागि तिमी र तिम्रो अभागि बाबुभन्दा धेरै
टाढा ।
-तिम्ले एकपल्ट पनि नपुकारेकी "तिम्री अभागि आमा"