बसन्त वर्षा


कृष्ण प्रसाई
हाल: कोरिया

संयोग नै भनुँ
तिमीसंगको पहिलो भेटमै-
तिमीले मलाई  बसन्त हुनु भनेकी थियौं ।
 बसन्तको पर्याय-
मलाई काफल र कोइली मनपरे पनि
राताम्मे गुरासे पाखाले मन छोए पनि
वर्षाऋतु मन पर्नुमा-
मेरै कमजोरी हुन सक्थ्यो ।
हामी वीचको अन्तर यति नै थियो -
काफल पाक्नु र वैश फुल्नु जस्तै ।
कोइली बोल्नु र बसन्त फल्नु जस्तै ।
त्यस्तै त्यस्ता सम्झनाहरुको ताँतीमा-
मलाई मनपर्ने मनसुनहरु थाती राखेर-
मलाई मन पर्ने बादलका रातहरु छोडेर
एक दिन मैले एकाएक तिमी मै समाहित हुने गरी
बसन्तको पर्याय तिमीसंगै सम्झौता गरे
त्यति खेर मलाई -
मेरो मायाको पराजय भन्दा पनि-
तिम्रो सम्मोहनको विजयले तान्यो ।
 बसन्त त निकै मापाको हुदोरहेछ
माया गर्न मान्छेहरुलाई-
बसन्त त निकै बलशाली हुदोरहेछ
मन चोर्न मान्छेहरुलाई ।
एक दिन त उस्ले सुटुक्क भन्यो-
मेरो सृजनामा झुक्न सक्ने कवि
एक पटक आफै बसन्त हुन सिक त !