वाल्य स्मृतिमा: बल्लभ दाइ

सर्लाहीको सानो गाउँ मलँगवा मेरो माईतिघर । मधेसीको बाहुल्य रहेको यो गाउँको विष्णुपुर ईलाकामा एउटा हाई स्कूल भारतको सिमाना नजिक छ । प्रायशः मधिसे सम्प्रदायका विद्यार्थीहरु विष्णुपुर हाई स्कूलमा पढथे । भारतबाट माईग्रेट भएर आएका शिक्षकहरु त्यता पढाउँथे भने पहाडे जमातका विद्यार्थीहरु दुई मिनेटको यो स्कूल छाडि पैतालिस मिनेटको बाटो हिँडि मलँगवा स्कूलमा पढ्न पुग्थे । त्यति नै बेला मधिसे र पहाडेको दूरीको विज पलाई सकेको थियो । 'पहाडे लोग ऐसा करेछै' भनि हेपाहा शब्द बोली बेला बेलामा झगडा पनि गरि टोपल्थे । काँग्रेसका वरिष्ठ नेता रामहरी जोशी प्राध्यापक भएको कारणले सबै विद्यार्थी उतै पुग्थे । हुनपनि रामहरि दाईले मलँगवा स्कूलमा भौतिक साधन जुटाउने, वि. पी. कोईरालादेखि गणेशमान सिँहलाई स्कूलको परिचय दिलाउने, स्कूलमा साँस्कृतिक साहित्यिक क्रियाकलाप  गरि स्कूलको महिमा बढाउन वहाँले अपूर्व योगदान गर्नुभएको छ ।

वाल्यपनको स्कूल मैले मलँगवा स्कूलमा नै बिताएँ । शायद म सात आठ वर्षको हुँदा नै ईश्वर बल्लभ ले मलँगवाको स्कूलमा पाइला टेकेको हुनुपर्छ । किनकि 'बल्लभ दाइ' नामले वहाँ चिर परिचित र प्रिय  पात्र बन्नुभएको थियो ।

हँसमुख, युवाशक्ति भएका, सँगीत, साहित्यमा रुचि राख्ने, अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिने, साहित्यिक हस्तिका 'बल्लभ दाइ' नाम सबैको मुखमा झुण्डिएको मलाई सम्झना छ । रामहरि जोशीको अनुरोधमा स्कूलमा शिक्षकको रुपमा पदार्पण गर्नु भएको थियो भने हिन्दी भाषा सँस्कृतिको आधिपत्य रहेको त्यो सानो गाउँमा नेपाली भाषा नेपाली गीत साहित्यको परिचय गराउने वहाँ पहिलो व्यक्ति बन्नुभएको थियो । हामी त्यसबेला "झमझम परेली, आँखैमा गाजलु सम्झने कोहि छैन
                                        पहाड बसी बनमा खेली हुर्केकि अकेली"

यि शुद्ध नेपाली हरफका गीतको बोल हिन्दी गीतको बोलबाला भएको त्यो ठाउँमा गायिदिन्थ्यौँ । 'म्यान माने आदमी' 'क्याट माने बिल्ली' 'र्याट माने चुहा' पढ्थ्यौ रट्थ्यौ भने राष्ट्रिय गीतमा 'सारे जहाँ से अच्छा' गीत गायि हिन्दीमै सोचाई राख्थ्यौँ । हिन्दीमा नै पढ्थ्यौँ अनि बाल्य मस्तिष्कमा हिन्दी नै मातॄभाषा हो भन्ने सोचाई परेको थियो ।

बल्लभ दाइको शिक्षक पदमा प्रवेश भएपछि नेपालीले नेपालीपन पायो । राष्ट्रियता पायो । राष्ट्रिय गान पायो । नेपालीको पहिचान पायो । हिन्दी राष्ट्रिय गीतको ठाँउमा  "गाउँछ गीत नेपाली ज्योतिको पँख उचाली
                                                जय जय  नेपाल सुन्दर शान्त विशाल"

राष्ट्रिय भावले ओतप्रोत भाकाको सँगीतले स्कूलको प्राङ्गणमा प्रवेश गर्यो । बाल मनोविज्ञानमा 'हिन्दी हाम्रो भाषा होईन' यो परिचय नेपाली विद्यार्थीहरुले पाए । नेपाली भाषा बोले तापनि स्कुलको पाठ्यक्रम पुरै भारतेली । शिक्षक भारतेली, नेहरु गान्धि नै हाम्रा राष्ट्र् नायक, भाषा नै हिन्दी भएपछि हामीले कहाँ पाउनु नेपालीपन ?  नेपाली भएर नेपालमा बस्दा नेपाली भाका र भाषाको पहिचान गर्न सकेका थिएनौ । यो परिचय  र अस्तित्वको बोध बल्लभ दाइले नै गराउनु भयो हामीलाई । हामीलाई वहाँले बिर्सनु भयो होला तर मलँगवाका वासिन्दाले वहाँलाई कहिल्यै बिर्सने छैनन । वहाँले लगाउनु भएको गुनलाई सम्झी नै राखे ।

वहाँ दिवँगत हुनु भयो सुविख्यात भएर । साहित्यिक नक्षत्रमा वहाँ तारा हुनुभयो । तर मलाई  मन पर्ने गुरु, हामीलाई नेपाली हौ भनि सचेत गराउने हाम्रा प्रिय बल्लभ दाइसँग फेरि परिचित हुन पाएनौ । मनमा यो आकाँक्षा अधुरो नै रह्यो । तर वाल्यपनमा वहाँले भाषाप्रतिको मोह अनुरागको वीज मलँगवाको आँगनमा छरेर जानुभयो । वहाँ हामीबाट टाढिनु भयो तर साहित्य सँगीत सँस्कृतिको मोह त्यहाँका विद्यार्थीले बिर्सेका छैनन् । नभए हिन्दीकै माहौलमा मधिसेको बगालमा हाम्रो भाषा सँस्कृति अस्तित्वहीन बन्ने थियो होला । वहाँसँग परिचित हुने मौका नपाए तापनि वहाँको आत्माको चीर शान्तिको कामना गर्नसक्ने हक हामीलाईपनि छ यहि ठान्दछु ।