बालबालिका र साहित्य सिर्जना
सिर्जना भण्डारी
भर्जिनिया
भनिन्छ साहित्य रसिलो हुन्छ । एउटा प्रचलित भनाइ पनि छ - "साहित्य सिर्जना हो र
विज्ञान विनाश हो" । यो भनाई बिभिन्न दृष्टिकोणबाट सही वा गलत होला तर यो चाहिँ
सत्य हो कि साहित्य सिर्जना हो । यसमा कसैको दुई मत छैन कि ज्ञान चेतना र जीवन
भोगाइका अनुभुतिहरुबाट साहित्यको प्रष्फुटन तथा सिर्जना हुन्छ । केहि हदसम्म
साहित्य जन्मसिद्ध प्रतिभा पनि हो र केहि जीवनको आर्जन । पुर्णरुपमा ज्ञान,
चेतना र जीवनका भोगाइहरु सम्म आइपुगिनसकेका बालबालिकाहरु पनि साहित्य सिर्जना गर्छन्
यो उनीहरुको जन्मसिद्ध प्रतिभा हो । बालबालिकाद्वारा सिर्जिएका साहित्यहरु अति
सरल र निर्दोष हुन्छन् । उनीहरुको कोमल भावनाको मुलबाट उमिएका शब्दहरु मन छुने खालका
हुन्छन् । वास्तवमा साहित्यिक प्राणी हरेक व्यक्तिमा हुन्छ चाहे बालक, बयस्क
वा बृद्ध होस । बस फरक यति हो कि उसले आफूभित्र भएको उक्त प्राणीलाई कति सम्म
बुझ्न सक्छ र कसरी त्यसलाई बाहिर ल्याउने कोशिश गर्छ । जसले प्रभावपूर्ण ढंगबाट
कोशिश र उजागर गर्छ निश्चीत रुपमा ऊ स्थापित हुँदै जान्छ र हुन्छ ।
भनिन्छ, बालबालिका काँचो माटो हुन तिनलाई जस्तो आकार दियो उस्तै बन्छन् । यो
कुरा सत्य त हो तर तिनलाई आकार दिने भन्दैमा उनीहरुको अन्तरभावनाहरुमा कुठाराघात
हुने गरि उनीहरुमाथि आफ्नो निर्णय लाद्नु अन्याय हो । यदि कोहि बालबालिका साहित्य
सिर्जना प्रति उत्सुक र सिर्जनशिल छन् भने तिनलाई प्रोत्साहन दिनु हाम्रो कार्तब्य
हो । तसर्थ आफ्ना बालबालिकाहरुको भावना र रुची बुझेर उनीहरुलाई लेख्न प्रोत्साहन
दिनुहोस्, उनीहरुका सिर्जना पढेर सकारात्मक प्रतिकि्रया दिनुहोस्, भूल सुधार तथा
नपुगमा थप्न सिकाउनुहोस्, शिक्षक नातेदार समक्ष उनीहरुको प्रसंसा गर्नुहोस् ।
अभिमावकहरुले यसरी आफ्ना बालबालिकाहरुलाई प्रोत्साहन गर्दा उनीहरुका जोस र जाँगरमा
अझ उर्जा थपिएर जगतकै अमुल्य प्रतिभा भएर निस्किएका उदाहरणहरु हाम्रा सामु
धेरै छन् र यस्ता प्रतिभाहरुले प्रेरणाको श्रोत आफ्नै अभिभावकलाई मान्दछन् ।
आज नेपाली साहित्य फाँटमा उभिएका थुप्रै ठूला-ठूला साहित्यकारहरुले समेत आफ्नो
प्रगती र उपब्धिको श्रेय आफ्ना अभिभावकलाई दिने र उनीहरुलाई नै प्रेरणाको श्रोत
मान्ने गरेका ज्वलन्त यथार्थहरु पनि हाम्रा सामु प्रशस्त छन् ।
बालबालिकाहरुको कलिलो दिमागले अभिभावकहरुले भनेका सबै कुराहरु छिट्टै र सजिलै टिप्न
सकदैन र धेरै करकाप गर्दा उनीहरुमा विषयवस्तु प्रति वितृष्णा बढ्ने खतरा पनि उत्तिकै
हुन्छ । तसर्थ उनीहरुको भावनामा गहिरो प्रभाव पार्न ब्यवहारिक ज्ञान दिनु, विषयवस्तु
माथि ब्यापक छलफल गर्नु, उनीहरुलाई जान्न र प्रश्न सोध्न प्रोत्साहित गर्नु,
उनीहरुलाई नै विषयवस्तु माथि विचार र वर्णन गर्न प्रोत्साहन गर्नु आदि माध्यमबाट
उनीहरुमा ब्यवहारीक ज्ञान र प्रभावकारिता बढाउन सकिन्छ जसले उनीहरुको साहित्य
सिर्जनामा सहजता र निखार ल्याउँन सघाउ पुर्याउँछ किनकी कुनै पनि विषयवस्तु माथि जति
धेरै जानकारी हुन्छ साहित्य सिर्जना उत्तिनै सहज र गुणस्तरीय हुन्छ ।
(यो मेरो आफ्नै पारिवरिक अनुभूति हो ।)