त्यो पुरस्कार मैले नै पाउनुपर्छ

 

किथ शर्मा, मेरिल्याण्ड

मलाई पुरस्कार र सम्मानपत्र चाहिएको छ ।
त्यो पुरस्कार र सम्मानपत्र मैले पाउनुपर्छ ।
नत्र म कार्यक्रम नै बहिस्कार गर्छु
यसैले अहिल्यै नै भनेको छु त्यो सम्मान मलाई चाहिन्छ ।

मैले यतिका समयसम्म नेपाली भाषा साहित्यको सेवा गरेको छु
त्यसैले मेरो आफ्नो संस्थाले पनि मलाई पुरस्कृति गरेन भने
म कसलाई भन्न जाउँ मलाई सम्मान गर भन्दै
तपाईं नै भन्नुहोस् न मित्र मैले गरेजति साहित्य र संस्कृतिको
जगेर्ना प्रवासमा बसेर कसले गरेको छ
त्यसैले मलाई नै त्यो सम्मान चाहिन्छ ।

म यो देशको नागरिक पनि हुँ
म प्रवासी नेपाली पनि हुँ
यसैले प्रवासमा बस्नेको योगदानको कदर
प्रवासमै खोलिएको आफ्नै संस्थाले मलाई
कदर नगरे म संस्था नै खारेज गर्न तयार छु
यसैले साथी त्यो संम्मान अरुका लागि हैन
मेरै लागि तयार पार्नु भनेको छु हैन भने
म फेरी भएको संस्था नै चकानाचुर पारिदिनेछु
यसैले जसले जे भने पनि आफ्नो संस्थाले दिने
सम्मान र पुरस्कार म संस्थापकले नपाएर
अरुले पाउने कुरै नगरौं मैले त्यो पाइन भने
संस्था नै भताभुंग भयो भन्ने ठानेहुन्छ
यसैले त साथीहरु यो ५० डलर देिख
५ सय डलरसम्मका पुरस्कार
मैले र मेरै वरपरकाले पाउनुपर्छ

तपाईंलाई थाहा छैन मेरो एउटा ठूलो हौवा
फिजाएको छु
अन्तर्राष्ट्रिय जगतमा दर्जनौ संस्था बनाइसकेको छु
यदि मलाई र मेरो परिवारमा त्यसको कदर गरिएन भने
म त्यो सबै संघसंस्थाहरु भत्काइदिन्छु यसैले
साथी त्यो पुरस्कार मलाई नै चाहिएको छ ।

म नेपालमा जस्तो दशौं हज्जार दिएर आफूलाई
पुरस्कार र सम्मान पत्र दिलाउन लाउंदिन
किनकी मैले आफैंले खोलेको संस्था नै छ
जसको पुरस्कार हिजो मेरी छोरीले पनि पाइ
हिजो मेरो सम्धीले पनि पाए
आज मैले पाउनु कुन अचम्म हुन्छ
त्यसैले साथी त्यो सम्मान र पुरस्कार मैले नै पाउनुपर्छ ॥