स्वार्थको भाका

मन्जु निरौला
मेरिल्याण्ड, अमेरिका

मनमा उत्साह, उमङ्ग बोकेर
आफुले पाउने अधिकार लिएर
सम्पुर्ण कुरामा निहित स्वार्थ लिई
बोल कबोलको वाचा गर्दै
भन्ने गर्छु प्रवासी भईकन पनि
स्वदेशलाई म पुजा अर्चना गर्छु

विदेशी भूमीमा वर्षांसम्म पलायन भएर
विदेशको भौतिकपनलाई अङ्गिकार गर्दै
स्वाभिमान अस्तित्व आफ्नो बिर्सेरपनि
पराई भूमीमा लडिबुडि गर्ने गर्छु
भावावेशमा भन्न खोज्छु बहाना गर्छु
देशमा अवसर पाईने भए यहाँ पो किन बस्छु

पाएसम्म यो पाताल नगरीमा
हराई दिने प्रयास गर्छु गुप्तवास लिने गर्छु
मेचीदेखी महाकालीसम्मको भाका राखी
वाचा बन्धनको यो भुलभुलैयामा
आफुलाई स्वदेशको कर्मठ नागरिक हुँ भनी
आडम्बरी स्वार्थका निष्ठुरी भाका बोलिदिन्छु

चोट ठक्कर जति खाएपनि
मुटुमाथि ढुङ्गा राखी बोल्नु पर्या छ भनिदिन्छु
स्वदेशको माया मातृभूमीको माटो
कति प्यारो हुन्छ क्षणिक झुटो बोलिदिन्छु
कर्णाली, गण्डकी, सेतीलाई भुल्न सकिन
यो सम्वाद नेताले झै बारम्बार भनिदिन्छु

आफ्नो डम्फु आफैँ बजाई
भृकुटी सीता बुद्धको नगरी भन्ने गर्छु
मपाईको भाका राखी सगरमाथाको उँचाईमा पुग्छु
निहित स्वार्थमा धेरै झुटो बोल्दा बोल्दै
नेता र छेपारोले भेष बदलिए जस्तै
त्यस्तै कथामा आफु परिणत हुन्छु