म्याद सकियो महाराज !

- उमेश उपाध्याय

यसपाली पनि मसाल बिसाउन पाईएन   
जितिएको युध्द कति कतिपल्ट बल्झिएर फेरी आईलाग्छ   
निको हुनै नसक्ने ज्यानमारा घाउजस्तो बल्झन्छ   
चर्कन्छ दुख्छ मरणान्त पीडा   
निचोरेर असह्य दुखाईमा    
चिरेर पीप रगत फ्याँकेर   
मलहम लेपेर निको भएको भ्रममा अस्थायी राहत गुजारेर   
फेरी अनि फेरी अनि फेरी बल्झने पीडामा   
पीडाको थामीनसक्नु सहिनसक्नु खपीनसक्नु असह्य लहर   
निको हुनै नसक्ने ज्यानमारा घाउजस्तो बल्झन्छ   
जितिएको युध्द कति कतिपल्ट बल्झिएर फेरी आईलाग्छ   
यसपाली पनि मसाल बिसाउन पाईएन   
   
महाराज ! नयाँ बर्ष लाग्यो   
अब त उज्यालो भैसक्यो खोल तिम्रा आँखाहरु   
चिम्लेर आँखाहरु अझै कति रम्छौ अँध्यारोको भ्रममा   
उज्यालोलाई स्वीकार गर अब त उज्यालो भैसक्यो   
आफुले आँखा चिम्लेर मुलुकलाई सुतेको नठान   
मुक्त होउ भ्रमबाट महाराज १ नयाँ बर्ष लाग्यो   
अब त उज्यालो भैसकेको स्वीकार गर १   
   
सधैं छेलेर उज्याला बिहानहरु शासनले   
मध्यान्हका ताता रापहरुमा पनि खोसेर बिसाउनीहरु    
खोसेर चौतारीहरु   
कति बेदखल गरेर कति भत्काएर   
पसिना र रगतले सिर्जेका बिसाउनीहरु चौतारीहरु   
पसिनाका धाराहरु पनि एकैछिन    
एकैछिन सुस्ताउन सुकाउन पनि हामीले नपाउनु   
दासताको अँध्यारो चौबिसै घण्टा बारै मास    
आयुका भएजत्ति सप्पै पत्र छिचोलेर    
तिमीले दासताको अँध्यारो हामीमाथी बर्षाईरहनु   
हाम्रै परिश्रमको दाना खाने तिम्रो तबेलाका बुढा घोडाहरु पिन   
हाम्रो स्वतन्त्रताविरुध्द हिन्हिनाईरहनु   
हाम्रा हकहरु विरुध्द हिन्हिनाईरहनु   
   
अझै कत्ति सहिरहनु   
खपीरहनुको म्याद सकियो महाराज १   
सहिरहनुको म्याद सकियो   
राजधानीका सबै चोकहरुबाट घोषणा हुन्छ   
धरहराबाट घोषणा हुन्छ   
जिल्ला जिल्लाका सदरमुकामहरुबाट   
सबै सदरमुकामहरुबाट घोषणा हुन्छ   
सहिरहनुको म्याद सकियो महाराज १   
चुचुराहरुबाट देउरालीहरुबाट   
हरेक ढिस्काहरुबाट कान्लाहरुबाट घोषणा हुन्छ   
गोरेटा गोरेटाबाट डॊरंेटा डोरंेटाबाट घोषणा हुन्छ   
सहिरहनुको म्याद सकियो महाराज १   
हरेक धूरीहरुबाट आँगनहरुबाट   
सडकहरुबाट खेतहरुबाट घोषणा हुन्छ   
घण्टाघरबाट अन्तमा घोषणा हुन्छ   
म्याद सकिएको आधिकारिक घोषणा घण्टाघरबाट हुन्छ   
   
कत्ति सहिरहनु   
खपीरहनुको सहिरहनुको म्याद सकियो महाराज १   
म्याद सकियो