अनुत्तरित प्रश्नहरु…
कुमारी लामा,
काठमाण्डौ
म एउटै कुरामा घोत्लिरहन्छु बारम्बार । मनिसले मानिसजस्तो भएर बाँच्न धन-सम्पत्ति,
प्रसिद्धि, प्रतिष्ठा आवश्यक कि उसको सोचाइको फराकिलो दायरा ? सधैँ मानिस नै मानिसको
भीडमा हुन्छु उनीहरुसँगै संगत गर्छु धनि-गरीव पढेलेखेका अनपढ प्रसिद्ध सामान्य सबै
खाले मानिसद्वारा म घेरिइन्छु तर किन किन म मानिसबाट टाढा एक्लै छु जस्तो लाग्छ । म
मानिसभित्र किन मानिस भेटाउँदिन ?
फेरि पनि त्यही कुरामा घोरिन्छु बारम्बार । मानिस मानिस जस्तो हुन के त्यही
सांसारिक मोह, लोभ, लालच त्यही ढाँट-छल, दुष्ट्याई र त्यही धुर्त्याँइबाट पाएको
सफलता मात्रै काफि छ त ? सबै जना भागदौडमै व्यस्त छन् । कसैलाई पैसाको मोह छ,
कसैलाई प्रतिष्ठाको अनि कसैलाई सच्चा मनको । के हामीमा त्यो सच्चा हृदय छ जसले
घृणालाई द्वेष र इर्ष्यालाई पगाल्न सकोस् ? हामी जीवन त बाँच्दै छौँ तर नाममात्रको
जीवन बाँच्नुको केही सार्थकता छ ? म दिनप्रतिदिन मानिसबाट ती कोमल भावना र हृदयको
स्पन्दन हराउँदै गउको भेट्छु । हामीले पाएका त छौँ एउटा सुन्दर जीवन तर किन यो
अनावश्यक लालसा र खुट्टा तानातानमा नै अल्मलि रहेका छौँ । हामी किन यति क्रूर र
वास्तविक जीवनबाट टाढिदै छौँ ? किन सिर्फ नाशवान सांसारिक मोह कै पछि लाग्छौँ ?
के किसमस र नयाँ बर्षको निउँमा नसाले चुर भएर लड्दै हिड्नु जीवन हो ? के प्रसिद्धिका
लागि आफ्नै साथीको पिढ्युँमा छुरा हान्नु जीवन हो ? के सम्पत्ति आर्जन कै लागि
दुई नम्बरी धन्दामा आफूलाई होम्नु जीवन हो ? म यस्तै प्रश्नहरुबाट जकडिएकी छु ।
ढाँटछल र धुर्त्याँइ बिनाको जीवनले किन हामीलाई पोल्छ ? हामी किन इमान्दारिताको
कमाइको रोटीले पेट भरेको महसुस गर्दैनौ ? हामीलाई किन परिश्रमले आर्जेको पैसाले
किनेको सुकुलमा निन्द्रा लाग्दैन ? किन हामी सधैँ आफूबाट भाग्दै हिड्छौँ ?
हामीलाई भीडमा आनन्द लाग्छ र सुरक्षित महसुस गर्छौ कारण त्यहाँ हामी आफैसँग हुदैनौँ
। हामी आफ्नो वास्तविक पहिचानबाट आफूलाई लुकाउन सक्छौँ त्यहाँ । हामीलाई कोलाहलमा
हराउन रमाइलो लाग्छ किन कि त्यहाँ हाम्रो मनले बोलेको सच्चा भावनालाई हामी सुन्न
सक्दैनौ । हामीलाई वास्तविकतासँग भय छ । हामी दिनानुदिन दुविधा र भ्रमको संसारमा
डुब्दैछौँ । उज्यालोसँग हामीलाई डर लाग्छ त्यसैले हामी अँध्यारो कोठाको मधुरो
बत्तीमा आफूलाई सहज महसुस गर्छौ । आफ्ना अस्तित्वका लागि हामी अरुको अस्तित्वलाई
कुल्चिन्छौँ । चन्द्रमाको शितलतामा हामीलाई जलन हुन्छ बरु घामको प्रचण्ड ताप हामी
सहर्ष स्विकार गर्छौ । यो हाम्रो विक्षिप्त मानिसकता होइन त ? कारणहरु धेरै छन्
हामीलाई रोगी बनाउने तर के त्यस्तै परिस्थितिको सामुमा पनि हामी मानिस हुनुको धर्म
पालना गर्न सक्दैनौँ । लामो शितलहर पछि पनि त प्रकृतिमा फूलहरु फुल्छन् नै । कहिल्यै
पनि ती कलिला कोपिलाहरु आफूलाई नफक्राई रहदैनन् जति नै मुरि बादल र हिउँमा पनि । तर
हामी मानिस नै चाहि किन यति गिर्छौँ आफ्नै धरातलबाट ? प्रकृतिमा हर क्षण
भइरहने परिवर्तन हामी सामु उदाहरण छदै नै छन् । तर हामीमा त्यसलाई आत्मासात गर्ने
धैर्यता र साहस खोइ ?
हामी आफै सामु प्रत्येक बिहानीसँगै अदृश्य पर्खालहरु अग्ल्याउँदै छौँ । ती
पर्खालहरुलाई भत्काउन नभई अग्ल्याउन नै हामी दिलो ज्यानले हाजिर हुन्छौँ सबै काम
पन्साएर पनि । ती अनगिन्ति काँढाहरु सामु मुस्कुराउने गुलावले आफ्ना सुन्दरताद्वारा
केही न केही सन्देश दिएकै छ हामीलाई तर हामी त्यसलाई मनन गर्नै सक्दैनौ । हाम्रो
आँखा अगाडि त्यो गुलाव हैन काँढाले नै राज गर्छ । हामीमा एकप्रकारले बानी परिसकेको
छ खराव कुराकै पछि लाग्न । त्यसैले त हामीलाई गुलावको रङ्गीचङ्गी सुन्दरताले आनन्द
दिन भन्दा बढी ती काँढाहरुले घोच्छन् । हाम्रा सारा दृष्टिमा भ्रमका पर्दाहरु
लागिसकेका छन् । ती पर्दाहरु च्याती उज्यालोतिर दृष्टि फैल्याउन हामीलाई पटक्कै
आउँदैन । हामी आफै वरिपरिको अन्धकारमा रुमलिरहेका छौँ । हामी बारम्बार भुल्छौँ
रातपछि फेरि उज्यालोको आगमन स्वाभाविक तरिकाले हुन्छ भन्ने कुरा । हामी औँशिकै
रातलाई आँखाभरि टाँसेर हिडिरहन्छौँ अन्तहीन यात्रामा । हामीलाई पटक्कै चेतनामा
आउँदैन आँखा चिम्लिएर हिड्दा खाडलमा परिन्छ भन्ने सत्य । हामी बेपर्वाह लम्काइरहन्छौँ
हाम्रा पाइलाहरु अनिश्चित यात्रामा । न हामीलाई पर्वाह छ लड्नुसँग न त छ उठ्नुसँग
नै । लाग्छ हामी भ्रमको कहिल्यै अन्त नहुने महायात्रामा हिडिसकेका छौँ । त्यही भ्रम
नै भ्रमको संसारमा डुल्दा डुल्दै यो अमूल्य जीवन अन्त भइसक्छ तर हामी पत्तै पाउँदैनौँ
। यसरी अन्यौलको भूमरिमा बाँच्नु पनि जीवन हो त ?
सबैको मनको धुकधुकीलाई सुन्ने हो भने अझै पनि झरिपछिको खुलेको आकाश जस्तै सफा र
कंचन भई वेगमा उड्न चाहेको महसुस हुन्छ । साँचो अर्थमा हामी भित्रको निस्छल मनलाई
दुष्ट्याइँ र धुर्त्याँइ मन पर्दैन । तर हामी मनको कुरा सुन्नु भन्दा बढी संसारको
कुरा सुन्छौँ । अनि संसारले त सधैँ सांसारिक तुक्ष मोह र मायातिर नै धकेलिरहन्छ ।
हामी यति बिघ्न दुःखी आफ्नो मनको भावनालाई नसुन्नाले भएका हौँ । हामी बाहिरी आँखाले
सबैतिर निह्याल्छौँ र ती सम्पूर्ण क्षणिक झिलिमिलीतिर तानिन्छौँ । हाम्रा भित्री
आँखाहरु खुल्न सकेकै छैनन् । त्यो चेतनारुपी आँखाले संसारलाई निह्याल्न सके हामी कहाँ
यी सबै नाशवान र देखावटी संसारमा अल्मलिने थियौँ र ? तर जब म भ्रमको जालोले बेरिएर
अन्धकारतिर धकेलिदै गरेको विशाल जमातलाई देख्छु यसैले म मा निराशा पैदा गरिदिन्छ ।
संसारमा मानिस नै मानिसको भीड छ तर वास्तविक मानिसको खोजीमा भौतारिनुको विकल्प छैन
हामीलाई ।
आँखाहरु छन् हामीसँग त्यसैले सुन्दरतातिर तानिन्छौँ, कानहरु छन् त्यसैले मीठा मीठा
कुराहरु सुन्न तमतयार हुन्छौँ । तर के आफैले आफैलाई टाढा पन्छाई ती सुन्दरता, ती
कोमलता र ती मीठा धुनहरुतिर तानिनु जायज हो ? संसार परिवर्तन गर्न क्रान्ति र
हिँसा हैन सवैभन्दा पहिले आफू बद्लिनु पर्छ आफूले आफूलाई चिन्नु पर्छ । बुद्धले
आफैभित्र भेटेका थिए सम्पूर्ण ज्ञान । हामी ज्ञानी हुन नसक्नुको कारण हामीले आफैलाई
बुझ्ने प्रयत्न नगरेर नै हो । हामी त मानिस हुनुको धर्म निभाउन अरुलाई दिनरात
औँल्याई रहन्छौँ । अरुको कुरा काट्दा खुसी हुने हामी आफ्नो अवश्था निह्याल्ने
कहिल्यै प्रयत्नसम्म पनि गर्दैनौँ । त्यसैले त हाम्रै मनमा पहिरो जान्छ, डढेलो
लाग्छ र हिउँ पर्छ । हामी आफ्नै मनमा सल्किएको आगोले डढेर भष्म हुँदै दुःखद अन्ततिर
लाग्छौँ । अझै पनि मभित्र अनगिन्ती प्रश्नहरु उर्लिरहन्छन् । हामी मानिस भएको पुष्टि
गर्न यी सब रीस घृणा र लुच्छाचुडी जरुरी छ ?
१० पौष २०६५