ए एन एः नेपालीको कुम्भ मेला: एक अनुभूति, एक परिचर्चा
मञ्जु निरौला, मेरील्यान्ड
अमेरिकामा बस्ने नेपालीहरुकोलागी प्रत्येक वर्ष आउने जुलाई ४ ले अमेरिकामा रहेको
नेपालीहरुको सङ्गठन द एशोसिएशन अफ नेपालीज ईन अमेरिकाको वार्षिक सम्मेलनको सम्झना
गराउँछ । सबैभन्दा ठुलो सँख्यामा भेला हुने यो नेपालीहरुको वार्षिक सम्मेलन
नेपालीहरुकोलागी कुम्भ मेला भने पनि हुन्छ । अमेरिकाका प्रत्येक राज्यहरुमा पालैपालो
गरिने यो सम्मेलन यस वर्ष आयोजना गर्दै छ मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरले ।
पोहोर साल भएको क्यालिफोर्निया सम्मेलनले यस शहरमा हुने भनि निधो गरेपछि औपचारिक
रुपमा यसको तयारी भयो र आगामी हप्ता जुलाई ३ देखि ५ सम्म नेपालीको कुम्भ मेला
लाग्दैछ । करिब सातहजारको सँख्यामा उपस्थित हुने अनुमान गरिएको यो सम्मेलन
बाल्टिमोरको हण्ट भ्याली भन्ने स्थानमा हुँदैछ । र बाल्टिमोरका आयोजकहरुकोलागी यो
कुम्भ मेलाको आयोजनामा आफ्नो दक्षता, कुशलता प्रदर्शन गर्ने राम्रो अवसर पाएका छन्
।
विभिन्न राज्यहरुबाट सहभागी हुन आउने यस सम्मेलनमा ज्ञानगुनका कुरा लिनु भन्दापनि
मनोरँजन, आपसी भेटघाट तथा चिनजान हुने र व्यवशायीहरुकोलागी भने आफ्नो व्यापार
नेपालीहरुमाझ अझ बढि फ्रैलाउन पाउने अवसरको रुपमा लिन्छन् । त्यसैले सम्मेलनमा
आयोजना गरिने कतिपय कार्यशाला या गोष्ठिमा श्रोता या दर्शकको सँख्या उल्लेखनीय भएको
पाईदैन । त्यसकारण आयोजक वर्गले श्रृजनात्मक तथा नौलो प्रस्तुती प्रस्तुत गरेर
भेलालाई अझ सफल बनाउने तर्फ ध्यान दिन आवश्यक छ ।
बाल्टिमोर सामुद्रिक क्षेत्रको व्यवशायिक केन्द्र हो । नौका विहार गर्ने,
सामुद्रिक माछा खाने अनि हार्वरको प्राकृतिक छटा हेर्न असँख्य पर्यटक आउने
गर्छन् । गर्मी मौसम त झन् आकर्षणको केन्द्र बिन्दु बन्नपुग्छ । बाल्टिमोर धेरै
सुविख्यात कलाकारहरुको कर्मभुमी बनेको छ भने केहि नेपालीहरुकालागी व्यावशायिक
केन्द्र पनि बनेको छ । नेपालबाट आउने बहुसँख्यक कलाकारहरु यहिँ आश्रय लिने भएकोले
पनि यो वर्षको भेलामा कलिउड नाईटको प्रावधान राखिएको छ जुन भेलाको आकर्षण मध्येको
प्रमुख हो । हालसम्मको भेलामा प्रस्तुत गरिएका कार्यक्रमहरुमा मौलिकता र नौलोपनको
अभावमा समय खर्चेको अनुभव भए ता पनि यस बाल्टिमोरको भेलामा यस्तो अनुभव हुन नपाओस्
भन्ने सबैले चाहना राखेका छन् ।
चार दिनसम्म चल्ने यो भेला आम नेपालीकोलागी महँगो पनि अनुभव गरिएको छ । प्रत्येक
कार्यक्रमकोलागी प्रवेश शुल्क तथा नाम दर्ता अनि चारदिनको होटेल खर्च आदिले गर्दा
कतिपय मानिसहरु सहभागी हुनबाट वन्चित पनि भएका छन् । झन् अहिले पेट्रोलको भाउ
बढेकोले कतिपय हच्केका छन् । यता आयोजक वर्गलाई 'ढेवा' नभई हुँदैन । अतएव 'सर्पपनि
नमर्ने र लठ्ठि पनि नभाँचिने' किसिमको मितव्ययिताको उपाय अपनाउँदा सबैलाई सहभागी
गराउन सकिन्छ होला कि ?
अर्को कुरा साँगितिक रमझमको साँझ २५-३० डलरको टिकट काटेर भित्र पुग्दा पहिले नै
परिवारका सदस्य आई कुर्सिमा ओढ्ने, टावेल, लुगा राखी आफन्तहरुकोलागी ठाउँ ओगटेको
देख्न पाईन्छ । कार्यक्रमकोलागी सबैले पैसा तिरेका हुन्छन् तर 'फष्र्ट कम फष्र्ट'
को नियम लागु हुन्न । कार्यक्रमको मर्यादा र मान हुन्न । त्यसकारण कार्यक्रमको
स्वाद लिएर मनोरँजन गर्न नपाएको गुनासो सुनिन्छ । अझ मदिरापान र त्यसको करामत अलग्गै
हुन्छ ।
भेलामा प्रस्तुत गरिने कार्यशाला वा गोष्ठिमा भाषणको प्रचुरता समयप्रतिको सचेतताको
अभावले गर्दा कार्यक्रमहरु बेस्वादिलो हुन पुगेको हुन्छ । कतिपय वक्ताहरु हजार शब्द
बोलेर दुई शब्द बोल्न पाएकोमा निर्लज्ज भई धन्यवाद टक्र्याउँछन् ।
भेलाको अन्तिम दिनको कार्यक्रममा मदिरापान गरेर उच्छृखलताको परिचय दिएका छन् हाम्रा
दाजुभाई दिदिबहिनीहरुले । भेला समापन हुने दिन केहि हुलदङ्गा र स्थानिय प्रहरीको
हस्तक्षेप वा आगमन भेलाको परिचायक बनि सकेको छ ।
यस कुम्भ मेलामा अमेरिकाका विभिन्न राज्य तथा क्यानाडाबाट समेत सहभागी हुन आउने
भएकोले यसको मीठो र अविस्मरणीय सम्झना लिएर जाउन् भन्ने उदेश्य आयोजक वर्गको हुँदा
हुँदैपनि आलोचना सहनु परेकै हुन्छ ।
त्यसकारण हाम्रो घरदैलोमा भएको यस बाल्टिमोर कुम्भ मेलाले विगतका गल्तीहरु
नदोहोर्याई यो मेला सबै सहभागीकोलागी अविस्मरणीय र आगामी आयोजकहरुकोलागी एक
दीर्घकालीन नमुना बन्न सकोस् भन्ने शुभकामना यस
खसखस डट कम मार्फत गर्दछु ।