अमेरिका समयमै आउनु पर्छ
अमेरिका आउनु, ऐश गर्नु कमाउनु अनि मेल्टिण्ङ्ग पटमा आफै पग्लिनु यो पनि समय समयको
सोचाई हो तर साठि बसन्त पार गरेर अमेरिका आउनु भनेको 'कागलाई बेल पाक्यो हर्ष न
विस्मात' जस्तै हो। नेपालबाट यहाँ आएपछि बाबुआमालाई अमेरिका झिकाई यहाँको नौलो
सँसार देखाई दिने रहर प्रत्येक छोराछोरीले गरेका हुन्छन्। नेपालमापनि छोराछोरीले
अमेरिका घुम्न बोलाएका छन् भन्दा धाक रवाफ पनि हुने ईज्जत पनि रहने समाजमा नाक ठाडो
पार्न पाउने। आमाबाबुको भिसा मिलेपछि छिमेकि आफन्त बधाई शुभकामना दिन आउँदा बाबु
आमापनि गर्वित । यो उमेरमा हामीपनि अमेरिका जान पायौं भनि मख्ख पर्ने बाबुआमापनि
नभएका होईनन्। धुमधाम कोशेली बोकि माला टिका पहिरन गरि बिदावारी भई अमेरिकी भूमिमा
आईपुग्छन्। निद्रा र थकाईको बोझ हटिसकेपछि यहाँको जिवन पद्धतिसँग मिल्दैन अनि फर्कन
हतार गरि हाल्छन् ।
मैलेपनि सत्तरी पार गरिसकेकि मेरी आमालाई रहरले बोलाएँ। छोरीको कर्तव्य निभाएँ।
लामो समय पश्चात माताजीलाई भेट्न पाउँदा भाग्यमानी सम्झें। आफुलाई चुनावमा
जितेसरी फूलामाला पहिरी विदाई गरेर अमेरिका त आउनु भो। छोरी र म आमालाई लिन
न्यूयोर्क पुग्यौ । राम भरत मिलन सरी हर्षाश्रुले वहाँको स्वागत गर्योँ। वृद्धा
शरीर थाकेर आउनु भएकोले स्नान गराई वहाँलाई आराम गराउन लग्यौ । आमा धेरै
वृद्ध भई सक्नु भएको रहेछ । विरामी पर्ला भन्ने त्रास । चार महिनाको अवधिमा वहाँलाई
न्यूयोर्क, शिकागो, फ्लोरिडा घुमाउन लगियो। मेरिल्याण्डमा भएभरको मन्दिरमा दर्शन
गर्न लग्यौ। तर वहाँको अनुहार जहिले पनि धुम्म परेको दिन जस्तो। 'बाबा ठाकुरे यो
उमेरमा तिर्थ यात्रा जान पुट्टपर्ती जानुपर्ने बेलामा कहाँ अमेरिका ल्याईएछ' भन्ने
लाग्यो। मैले परिश्रम, समय, ईनर्जी, पैसा खर्च गरेको बेकार भएको अनुभव गरें।
शिकागोको सियर्स टावर लगेँ, मायामी शहरको समुद्रमा पुर्याएँ,
न्यूयोर्कको टाईम्स स्क्वायर लगेँ, वेष्ट पाल्म वीचको सामुद्रिक लहरमा
लगें- तात्तो न छारो जता लगेपनि बुढियाको अनुहार उज्यालो नै नहुने। जता लगेपनि
कागलाई बेल पाक्यो हर्ष न विस्मात साबित भयो। बाबाको मन्दिर लगेँ, हरेराम हरेकृष्ण
मन्दिरमा लगेँ। राजधानी, दुर्गा मन्दिरमा लगेँ। जहिले पनि डिप्रेश भई रहने।
नेपाल दिन रात फोन गरेर कति विल भरियो, क्रिसमसको झिलिमिलि देखाउन लगियो
रत्तिभर रमाईलो नमान्ने। जहिलेपनि नेपालमा कति बज्यो भन्ने प्रश्न गरिरहँदा झर्कै
लाग्ने। वहाँलाई हिरामोति पन्नाले शुसोभित गराउँदा पनि केहि नलाग्ने। दिनभर नरमाईलो
मान्दै बस्ने। अन्त्यमा नेपाल जाने साथी खोजेर एयरपोर्टमा विदा गर्न जाँदा वहाँ
एकदम प्रफल्लित र हँसी खुशीसाथ नेपाल फर्किनु भयो। यहँको व्यस्त माहौल, समाज विनाको
सँसार, भाषा न बुझ्ने समाज अनि दौंतरीको कमी र सँस्कृतिको विभिन्नताले गर्दा
वहाँ रमाउनै सक्नु भएन । वहाँको लागी यहाँको माहौल जेलमा बसे बराबर नै भयो।
केहि महिना पछि पढे लेखेका मेरा मामा माईज्यु सानीमा आउनु भयो। वहाँहरु पनि त्यत्ति
रमाउनु सक्नु भएन । 'माईज्यु, कस्तो लाग्यो त अमेरिका' भन्दा भाँजी घुमुजेल रमाईलो
घर एक्लै बस्नुपर्दा दिक्दारी लाग्छ भन्नु भयो। छोरा बुहारी बेलुकी आठ बजे आउँछन्
थाकेर बात मार्ने समय कहाँ पाउनु नाती नातीनाहरु पढ्दै ठिक्क हाम्रोलागी समय दिने
को त सबै सुविधा भए ता पनि अमेरिका हाम्रोलागी एरिष्टोक्रयाटकोलागी सुविधा सम्पन्न
जेल जस्तै भएको छ। सम्पुर्ण भौतिक सुविधा भएको खाली रित्तो घर छ। तर हामीलाई समय
दिन सक्ने कोहि छैनन्। यो उमेरमा आफ्नै देश राम्रो। आमालाई सम्झें वहाँलाई कति
गाहारो भयो होला। मामाले जे भन्नु भयो सहि थियो। आफुलाई प्रशस्त समय दिन छोरा
बुहारीसँग समय नभएको मजबुरी बुझिदिई समयमा नै वहाँहरु देश फर्किनु भयो।
यि बुढापाकाकालागी असामान्य अमेरिकी समाजको परिभाषा हो। जङ्गल बुक वृत्तचित्रमा
जङ्गलमै हुर्केका बालक मनुवा आफ्नै उमेरका दौंतरी भेटिए पछि उनकै पछि लाग्छन्।
चौपट्टै माया गर्ने भालुले उनलाई एकपल नरोकि 'लेट हिम गो' भनि विदावारी गर्छन्।
'हि विलङ्ग्स टु देम' भनि चित्त बुझाउँछन् । त्यसरी नै मैलेपनि आमा, मामा माईज्यू,
सानीमा, सासु आउनु हुँदा यहाँ बस्न कर गरिन । छिमेकि आफन्तको समाज अमेरिकामा छैन ।
विदामा बाहेक अरुदिन बाहिर घुमाउन लान नसकिने, अतःएव वहाँहरुको सोचाईलाई परिवर्तन
गर्ने कुरो पनि आएन । वास्तवमा वृद्धहरु रमाउन सकिने यो देश र्नै होईन । नेपालको
समाजको माहौल यहाँ पाउन कठिन छ । सबैजना फर्किन लाग्दा 'दे विलङ्ग्स टु नेपाल, लेट
देम गो' यहि शब्द मनमनै गुनेर हर्षाश्रु सहित वहाँहरुलाई विदाबारी गरि भारी मनले घर
फर्कें ।