गीत


गीता त्रिपाठी
बालुवाटार,  काठमाण्डौ


जिन्दगी यो यहीँनेर रोकिएझैँ लाग्छ
पर्खाइमै सारा आकाश पोखिएझैँ लाग्छ

बतासमा तिमीलाई छोएर पो हो कि
बिर्सिएको गीत सम्झी रोएर पो हो कि
गोधूलीको संघारमा ठोकिएझैँ लाग्छ
पर्खाइमै सारा आकाश पोखिएझैँ  लाग्छ

धूवाँजस्तो खेल्छ मनमा तस्वीर छेकिदिन्छ
छातीभरि वियोगको कथा लेखिदिन्छ
अल्झिएझैँ लाग्छ सीमा तोकिएझैँ लाग्छ
पर्खाइमै सारा आकाश पोखिएझैँ लाग्छ