अकर्मण्यता वा अस्तित्वहीनता

शरद निरोला, मेरील्यान्ड


कति नै कोशिस गर्दा पनि
यस हृदयभित्र रहेको निराशाको
कहालीलाग्दो अंध्यारो
चूकभन्दा पनि कालो भइदिएर
मेरो अस्तित्व कालाम्य हुन पुगेको छ ।

मेरो चारैतिर मेरा अकर्मण्यताका
मेरा अतिरंजित निष्कृयताका
मेरा मूल्यविहीन मान्यताका
मापदण्डहरु बनाइएका छन्
मेरा असमर्थताका एकएक रेशाहरु संगालेर
इतिहासका पाना बनाइएका छन्।

म त एक सुखद उद्देश्य प्राप्तिको पछाडि दगुरेको मान्छे
आफ्नो गच्छेले भ्याएसम्म कर्म गर्ने मान्छे
मेरा शक्ति तन्तुहरु निष्कृयतम स्थितिमा पुगिसक्दा पनि
आशाको बिगुल फुक्ने मान्छे
आज मेरो चारैतिर लक्ष्मण रेखा कोरिएको छ
मेरो स्वतन्त्रता अवरुद्ध छ
मेरो आत्मसम्मान अभिशप्त छ ।

भनिन्छ भाग्यमाथि भर पर्नाले
मानिसको कर्मठता ओरालो लाग्दछ
तर यो भनाई मेरा हकमा लागु नहोला किन कि
मेरो त भाग्य नै सदा खोटो रहिआएको छ
कर्मठताको त कुरै नगरौं
अकर्मण्यताले नै सधैं रुवाइरहेको छ ।