लघुकथा

अज्ञात रोग


सुषमा मानन्घर
ललितपुर
mdhsusma@yahoo.com

भर्खर साठी मात्र पुगेका चित्त बहादुर मान्छे सोझा हुन् । उनले अरुको चित्त दुखाएको कसैलाई थाहा छैन । उनी आफ्नो सूरमा लुरुलुरु हिंड्ने अनि खुरुखुरु काम गर्ने खालका व्यक्ति हुन् । केही समय अघि अज्ञात रोगको प्रकोप भएको क्षेत्रबाट निरिक्षण गरी फर्केका यी साधु प्रकृतिका व्यक्ति समेत पनि अहिले उत्पातै फरक भएका छन् । रोग लागेको भन्ने हो भने ओछ्यानमा ढलेका छैनन्, सद्दे भन्नलाई उनमा संयमित व्यवहार देखिँदैन । बेलाबेला उनी बहकिन्छन् र बाउँठिन्छन् । यस्तो बेला यिनको दिमाग सड्की हाल्छ । अगाडि जो भेटे पनि तिनको खुट्टा तान्न पनि यिनी पछि पर्दैनन् । तानिने व्यक्ति आफूभन्दा साना हुन् वा ठूला उनलाई त्यसको होसै हुँदैन । भेटिए जतिलाई औलो ठड्याई तथानाम गाली गर्न थाल्छन् । त्यस्तो बेहोसको जस्तो स्थितिमा भर्खर आफैले भनेको कुराको पनि उनलाई हेक्का रहन्न र कसैले सम्झाउन खोजे पनि भन्दै नभनेको भनी त्यही कुराको माकुरे जालोमा अल्झेर उनी सवैको हुर्मत लिन खोज्छन् । घरपरिवारले हुनसम्मको उपाय गरेर चित्त बहादुरलाई बिसेक बनाउने प्रयास गरे पनि उनको व्यवहारमा खासै ठूलो फेरबदल आएको छैन ।

उनको यस्तो अनौठो बिमारीको चर्चा सुनेर उनका एक पुराना साथी उनलाई भेट्न आए । उनको चित्त बहादुरसंग केहीबेरको भेटघाटपछि ती साथीले चित्त बहादुरका छोरालाई अर्को कोठामा बोलाई भने "बाबु यो यति छिटै निको हुने रोग त हैन । अलि समय लाग्छ । तिम्रो बुवालाई नेताहरुलाई लाग्ने असाध्य रोगले गाँजेछ ।"

राजनीतिको 'र' पनि नजान्ने बाउलाई कतिबेला यो रोगले भेटेछ छोरो चिन्तित हुँदै सोच्न थाल्यो ।