लघुकथा

अभिनय


सुषमा मानन्घर
ललितपुर
mdhsusma@yahoo.com


दुइ वर्ष अगाडि खोलिएको गजब बहादुरको 'तगडा पोल्ट्री फर्म'ले स्थापित भएर अलिकति नाफा के कमाउन थालेथ्यो यो बर्डफ्लुको हल्ला आइपुगि हाल्यो । हुन त उसको क्षेत्रमा रोगका लक्षण देखा परेका छैनन् । तैपनि त्यहाँ कुखुराको मासु किन्ने ग्राहकहरु स्वात्तै घटेका छन् । उसले आफ्नो पोल्ट्री फर्मका कुखुराको मासुको वकालतमा धेरैलाई धेरै ठाउँमा र धेरै पटक पनि भनिसक्यो तर मान्छेका मनबाट बर्डफ्लुको त्रास अझै हट्न नसकेकोले उसले देशको एकजना लोकप्रिय  अभिनेतालाई त्यही कामको लागि मोटो पारिश्रमिकमा अनुबन्ध गर्यो ।

निर्धारित दिन थुप्रै पाहुनाहरु बोलाइए । तारे होटेलमा कार्यक्रम र हेभि लन्च पनि भएको हुँदा त्यहाँ फोटो पत्रकारहरु र विभिन्न टिभि च्यानेलका क्यामेराम्यानहरुको पनि बाक्लै उपस्थिति थियो ।

कार्यक्रमको थालनीपछि कुखुराका डीपफ्राइड ड्रमस्टिकहरु एउटा प्लेटमा राखेर अगाडि ल्याइए । एउटा टुक्रो उठाएर ती अभिनेताले बोल्न थाले । "तगडा पोल्ट्री फर्मका कुखुराहरु सेफ छन् । उनीहरुलाई कुनै रोग लागेको छैन । तपाई ढुक्क भएर आफूपनि खानुस् अरुलाई पनि खुवाउनुस् । क्या मीठो कुखुराको मासु यी हेर्नुस त म पनि खाँदैछु ! " उनले डायलग बोलिसकेर मासुको चोक्टामा दाँत गाडे । क्लिक क्लिक क्लिक… … उनको त्यो पोजमा धेरै फोटोहरु खिचिए । अब त्यही मासु टोक्दै गरेको फोटो भोलि धेरै पत्रिकाका मुखपृष्ठमा छापिनेछन् ।

कार्यक्रमपछिको लन्चमा सवैको प्लेटमा कुखुराको साँप्रो र सपेटा थियो तर ती अभिनेता भने होटेलको एउटा कुनामा बसी आलु चपाउँदै थिए । "लौ हजुर, भर्खर क्यामेराको अगाडि भने चिकन खाउँ भनी अपील गर्नेअहिले आफै नलिने ?" उपस्थित एकजना आमन्त्रित प्लेटमा मासुको पहाड उठाउँदै सोध्दै थिए । उनको सोधाइमा उनले अलि अप्ठ्यारो मान्दै जवाफ फर्काए "हुन त हो । तर… … मसँग मासु खाए झैं गर्ने मात्र कुरा भएको थ्यो साँच्चीकै खाने त्यस्तो कुनै कुरै भएको थिएन ।"

अब मासु खाए झैं मात्र गर्नु पेशाप्रतिको इमान्दारिता थियो या बर्डफ्लुको डर उनीसँग सोध्ने कुरा भएन । आखिर उनी लोकप्रिय अभिनेता न परे, रिसाइहाल्ने हुन् कि !