आगो उठ्न सक्छ

- नारायण अधिकारी

फरवरी १७, २००८, उडबिज, भर्जिनिया ।


सलाईको काँटी
तेलको बत्ति
चुरोटको ठूटो
भिन्नै रुपका एउटै वस्तु- आगो ।

मट्टितेल-पेट्रोल
डिजेल-ग्यास
ज्वलनशील पदार्थ
भिन्नै रुपका एउटै वस्तु
होस रहोस मिसाउन
आगो उठ्न सक्छ ।

जातिभेद क्षेत्रीयभेद
अन्याय अत्याचार
रंगभेद समाजिक विभेद
भिन्नै रुपका एउटै वस्तु
होस रहोस् चलाउन
आगो उठ्न सक्छ ।

द्वन्द्व तानातान
घर्षण-आकर्षण
जोताइ-दलाइ
ज्वलनशील पदार्थ
भिन्नै रुपका एउटै वस्तु
होस रहोस् मिसाउन
आगो उठ्न सक्छ ।

सुखा मौसम सुकेका पात
छरिएको पराल पाकेको बाली
ठोसिएका अगुल्टा हेपिएका मन
भिन्नै रुपका एउटै वस्तु
होस रहोस् चलाउन
आगो उठ्न सक्छ ।

बगेका आँशु
पुछिएको सिउँदो
रित्तिएको काख
फुटेका चुरा
भिन्नै रुपका एउटै वस्तु
होस रहोस् चलाउन
आगो उठ्न सक्छ ।

चोरिएको धन
लुटिएको इज्जत
कुटिएको मन
खेदिएको वास
भिन्नै रुपका एउटै वस्तु
होस रहोस् चलाउन
आगो उठ्न सक्छ ।
००